अन्डरग्राउन्ड पार्किङमा पसल ! सडकमा पार्किङ
सारांश
- दाँया बाँया पार्किङ गरि राखिएको सवारीले सडक अस्तब्यव्त छ ।
- मुख्य ब्यापारिक क्षेत्रका व्यापारी र ग्राहकले आफ्ना सवारी पार्किङ गर्ने स्थल सडक किनारनै हो ।
- सवारी पार्किङले अस्तब्यस्त पोखराको ट्राफिक व्यवस्था सुधारको लागि पोखरा लेखनाथ महानगरपालिकाले आगामी भदौदेखि सडकमा पार्किङ निषेध गर्ने तयारी पनि गरेको छ ।
दाँया बाँया पार्किङ गरि राखिएको सवारीले सडक अस्तब्यव्त छ । मुख्य ब्यापारिक क्षेत्रका व्यापारी र ग्राहकले आफ्ना सवारी पार्किङ गर्ने स्थल सडक किनारनै हो । सवारी पार्किङले अस्तब्यस्त पोखराको ट्राफिक व्यवस्था सुधारको लागि पोखरा लेखनाथ महानगरपालिकाले आगामी भदौदेखि सडकमा पार्किङ निषेध गर्ने तयारी पनि गरेको छ ।
नीजि क्षेत्र, सम्बन्धित सरोकारवाला र महानगरपालिकाको पहलमा बैकल्पिक स्थान पहिचान गरी निश्चित पार्किङ क्षेत्रहरु निर्धारण गर्ने र हाल सडकमा भैरहेको पार्किङलाई सोहि स्थानमा सार्ने तयारी छ । पोखरा नगर क्षेत्रको व्यस्त बजारमा निर्मित कतिपय ठूला व्यापारिक प्रतिष्ठानको आफ्नै नीजि पार्किङ स्थल समेत छैन ।
सडक पार्किङले साघुरिदै गएका बेला पोखराको चिप्लेढुङ्ग, महेन्द्रपुल र न्यूरोडमा व्यवसायीक प्रयोजनको लागि बनेको भवनमा भएका भूमिगत पार्किङ अन्य प्रयोजनमा लगाउदा थप समस्या भएको छ । चिप्लेढुङ्गा स्थित सेलवेज टावरमा भएको अन्डरग्राउन्ड पार्किङ अहिले विग बजारको रुपमा पसल सञ्चालन गर्ने थलो भएको छ । २०७० साल माघ १ गते विधिवत रुपमा सञ्चालनमा आएको सो भवनमा रहेको अन्डरग्राउन्ड पार्किङ केहि समय प्रयोगमा ल्याएर हाल अन्य प्रयोजनमा लगाएको हो । सेलवेज टावरका व्यवसायी र त्यहा जाने ग्राहकले अहिले सडक किनारमा पार्किङ गर्छन् ।

त्यस्तै महेन्द्रपुल स्थित सीता भवनमा रहेको भूमिगत पार्किङ पनि अन्य प्रयोजनमा लगाएको छ । सो भवनको अन्डरग्राउन्ड पार्किङ स्थलमा हाल १० वटा पसल छन् । विभिन्न मोवाइल कम्पनीको विक्री केन्द्रको रुपमा पार्किङ स्थललाई प्रयोग गरिएको छ ।
चिप्लेढुङ्गाको मानवअधिकार चोक अगाडी रहेको आर के बिल्डिङमा पनि अन्डरग्राउन्ड पार्किङ स्थल छ तर सो स्थल पार्किङको लागि नभई अन्य व्यवसायीक प्रयोजनमा लगाइएको छ ।
यसैगरी न्यूरोड स्थित अरविन कम्प्लेक्सको भूमिगत पार्किङ पनि पसल सञ्चालन स्थलको रुपमा छ । उक्त भवनको भूमिगत पार्किङ स्थलमा हाल भाडा पसल र जुत्ताको सो रुम छ ।

तत्कालिन अबस्थामा पोखरा उपमहानगरपालिकाबाट अन्डरग्राउन्ड पार्किङ सहितको भवनको नक्सा पास गराएका र पछि सो स्थानलाई अन्य व्यवसायीक प्रयोजनमा लगाएको पाइएपछि महानगरपालिकाले त्यस्ता भवनमाथि कारवाही गर्ने भएको छ । ‘जुन प्रयोजनको लागि स्विकृति लिएको हो र बनाइएको हो सोहि प्रयोजनमा लगाउनुपर्छ, ’ पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले भने, ‘अन्डरग्राउन्ड पार्किङमा सञ्चालन गरिएको पसल हटाउनुपर्छ र पार्किङ स्थलकै रुपमा रहनुपर्छ । ’ अन्डरग्राउन्ड पार्किङलाई अन्य प्रयोजनमा लगाउने व्यवसायीक भवनलाई चिठ्ठी काट्ने तयारी महानगरपालिकाले गरेको छ ।
व्यवसायीक उद्देश्यले सञ्चालन भैरहेका र अब बन्ने भवनले अनिवार्य रुपमा आफ्नो नीजि पार्किङ स्थल खोज्नुपर्ने मेयर जिसीले बताए । आफ्नो भएको अन्डरग्राउन्ड पार्किङमा सटर बनाएर भाडामा लगाउने र सडकमा पार्किङ गर्ने प्रबृति गलत भएको उनले बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सुचना अधिकृत प्रहरी नायव निरिक्षक शिब थापाले अन्डरग्राउन्ड पार्किङ सुविधा भएका भवनले आफ्नो उद्देश्य अनुसार पार्किङ गराए सडकमा पार्किङ गर्ने सवारी चाप घट्ने बताए । सडकमा सवारी पार्किङले ट्राफिक प्रहरीलाई पनि यातायात व्यवस्थापनमा समस्या पर्ने गरेको उनको गुनासो छ ।
प्रतिक्रिया