अस्पतालमा पनि दलाल! बिरामी पठाएबापत लिन्छन् पैसा,

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन २६, २०७४
|
|
२८ पटक हेरिएको
Shares
अस्पतालमा पनि दलाल!  बिरामी पठाएबापत लिन्छन् पैसा,

सारांश

  • काठमाडौं, २६ फागुन- विराटनगरको कोसी अञ्चल अस्पतालमा उपचार गर्न आएका संखुवासभाको खाँदबारी नगरपालिका-७ का रमेश श्रेष्ठ अस्पताल पुग्नै पाएनन्।
  • शनिमन्दिरनजिकै बसबाट ओर्लिनासाथ उनी दुई-तीन युवाको चुंगुलमा फसे र निजी क्लिनिकको ‘अतिथि’ बन्न पुगे।
  •  आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

काठमाडौं, २६ फागुन- विराटनगरको कोसी अञ्चल अस्पतालमा उपचार गर्न आएका संखुवासभाको खाँदबारी नगरपालिका-७ का रमेश श्रेष्ठ अस्पताल पुग्नै पाएनन्। शनिमन्दिरनजिकै बसबाट ओर्लिनासाथ उनी दुई-तीन युवाको चुंगुलमा फसे र निजी क्लिनिकको ‘अतिथि’ बन्न पुगे। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

सरकारी अस्पतालको सहुलियत सेवा लिन आएका श्रेष्ठ ‘सस्तोमा छिटो, छरितो र राम्रो उपचार पाउने’ प्रलोभनमा फसेर क्लिनिक पुगेका हुन्। ‘१५ हजार रुपैयाँ बोकेर सरकारी अस्पतालमा उपचार गर्न आएको थिएँ तर निजीमा पुग्दा २५ हजार सकियो’, उनले भने, ‘पैसा नपुगेर घरबाट मगाउनुपर्‍यो।’

प्रदेश १ को राजधानी विराटनगरमा सरकारी अस्पतालको सेवा लिन आउने बिरामी यसरी नै प्रतिदिन दलालको प्रभावमा परी निजी अस्पताल र क्लिनिकबाट ठगिन थालेका छन्। बिरामी तान्न केही निजी अस्पताल र क्लिनिकले दलाल नै परिचालन गरेको रहस्य खुलेको छ।

गत बुधबार शनिमन्दिर नजिकै बिरामीलाई झुक्याएर निजी क्लिनिकमा लैजाँदै गर्दा प्रहरीले दुई युवालाई पक्राउ गर्‍यो। बिरामीलाई झुक्याएर नेसनल क्लिनिक लैजाँदै गर्दा सप्तरी, राजविराज-६ का ३० वर्षीय सीताराम सरदार र महोत्तरी जलेश्वर-६ का ३५ वर्षीय उमेश महतो पक्राउ परेका हुन्। विराटनगरमा डेरा गरी बस्ने सरदार र महतो निजीमा बिरामी पुर्‍याउने ‘दलाल पेसा’ मा सक्रिय रहेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ।

मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसी दुवै जना दुर्गम गाउँ र जिल्लाबाट सरकारी अस्पतालमा उपचार गर्न आउने बिरामीलाई झुक्याउँदै निजी अस्पतालमा पुर्‍याउने कार्यमा संलग्न रहेको बताउँछन्। उनले भने, ‘राम्रो उपचार र डाक्टर छन् भन्दै लैजाँदा रहेछन् तर निजीमा बिरामी ठगिन्छन्।’

पक्राउ परेका दुवै जनालाई प्रहरीले सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाउन शुक्रबार अदालतबाट म्याद थप गरेको छ। विराटनगरका विभिन्न ठाउँमा ६० जनाभन्दा बढी त्यस्ता दलाललाई निजी स्वास्थ्य संस्थाले परिचालन गरेको सूचनाका आधारमा निगरानी बढाएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सरकारी अस्पतालभित्रैै पनि यस्ता दलाल छन्, जहाँ दैनिक तीन प्रहरी परिचालन गरेर निगरानी भइरहेको छ।

एक वर्षअघि कोसी अञ्चल अस्पतालमा कार्यरत चिकित्सक नै दलालीमा संलग्न भएको पत्ता लागेको थियो। लोकलाजका कारण चिकित्सकलाई कारबाहीबाट जोगाइएको थियो। निजी अस्पतालबाट परिचालित दलालले बिरामी र उसको रोग हेरेर कमिसन पाउने गरेका छन्। पक्राउ गरिएका दलालले प्रहरीलाई दिएको बयानमा सरकारी अस्पतालको बिरामी निजीमा पठाउँदा पाँच सय, बिरामीले स्वास्थ्य परीक्षण गरे (ल्याब, भिडियो एक्सरेलगायत) एक हजार र अप्रेसन गरेर केही दिन भर्ना नै भए तीन हजार रुपैयाँसम्म कमिसन पाउने बताएका छन्। अस्पतालले बिरामीबाट गरेको असुलीका आधारमा कमिसन पनि बढ्ने बताइन्छ।

‘प्रहरीको एउटा टोली अहिले तिनै दलालको पछि लागिरहेको छ,’ बिसीले भने, ‘कमिसन दिएर आफूतिर बिरामी तान्न दलाल परिचालन गर्ने अस्पताल र क्लिनिक सञ्चालकलाई पनि पक्राउ गरेर कारबाही अघि बढाउन थप अनुसन्धान सुरु गरिएको छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?