ठेकेदारको लापरबाहीका कारण माथिल्लो तामाकोसीमा सवा अर्ब घाटा
सारांश
- लामाबगर (दोलखा) – स्वदेशी लगानीको सबैभन्दा ठूलो माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माणमा ढिलाइ हुँदा आयोजनाले मासिक एक अर्ब २० करोड रुपैयाँ घाटा व्यहोरिरहेको छ।
- २०६७ सालदेखि दोलखाको बिगु गाउँपालिका १ स्थित लामाबगरमा निर्माण सुरु भएको चार सय ५६ मेगावाटको आयोजनाले २०७२ असारभित्र बिजुली उत्पादन गरिसक्ने लक्ष्य थियो।
- तर भूकम्प, नाकाबन्दीलगायत विभिन्न अवरोधले आयोजनाको समयावधि दुईपटकसम्म सरेको छ।
लामाबगर (दोलखा) – स्वदेशी लगानीको सबैभन्दा ठूलो माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माणमा ढिलाइ हुँदा आयोजनाले मासिक एक अर्ब २० करोड रुपैयाँ घाटा व्यहोरिरहेको छ।
२०६७ सालदेखि दोलखाको बिगु गाउँपालिका १ स्थित लामाबगरमा निर्माण सुरु भएको चार सय ५६ मेगावाटको आयोजनाले २०७२ असारभित्र बिजुली उत्पादन गरिसक्ने लक्ष्य थियो। तर भूकम्प, नाकाबन्दीलगायत विभिन्न अवरोधले आयोजनाको समयावधि दुईपटकसम्म सरेको छ। आजको नागरिक दैनिकमा खबर छ ।
अधिकारीहरूका अनुसार ढिलाइका कारण आयोजनाले दैनिक चार करोड रुपैयाँ नोक्सानी व्यहोरिरहेको छ। लक्ष्यभन्दा तीन वर्ष पछाडि धकेलिएको आयोजनाले ढिलाइकै कारण यति ठूलो रकम नोक्सानी व्यहोरिरहेको हो। आयोजना ७० प्रतिशत ऋण र ३० प्रतिशत सेयर मोडालिटीबाट चलेको छ। ‘अहिलेको स्थितिमा ऋणको ब्याज दैनिक १.५ करोड रुपैयाँ पर्छ,’ बुधबार आयोजनास्थलको निरीक्षणमा पुगेका प्रधनमन्त्री केपी शर्मा ओलीलाई ‘ब्रिफिङ’ गर्दै आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले भने, ‘आयोजना सम्पन्न भएको भए बिजुली बालेर दैनिक रुपमा साढे दुई करोड रुपैयाँ कमाउँथ्यो। निर्माणमा ढिलाइ हुँदा दैनिक चार करोड रुपैयाँ नोक्सानी व्यहोरिरहेको छ।’
नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको आयोजनामा नेपाल सरकारसहित कर्मचारी सञ्चय कोष, नेपाल टेलिकम, राष्ट्रिय बिमा संस्थान, नागरिक लगानी कोषलगायत देशका ठूला संस्थाको ऋण लगानी छ। यस्तै ती संस्थामा कार्यरत कर्मचारी रकम जम्मा गर्ने सञ्चयकर्ता र देशभरका सर्वसाधारण र प्रभावित जिल्लावासीले समेत लगानी गर्न पाउने सेयरका कारण आयोजनामा प्रायः नेपाली परिवारको प्रत्यक्षअप्रत्यक्ष लगानी आयोजनामा रहनेछ। आयोजनामा कर्मचारी सञ्चय कोषले १० अर्ब, टेलिकमले ६ अर्ब, नागरिक लगानी कोषले दुई अर्ब, राष्ट्रिय बिमा संस्थानले दुई अर्ब र नेपाल सरकारले ११ अर्ब लगानी गरेको छ।
लागत १४ अर्ब बढ्यो
सुरुमा ३५ अर्ब २९ करोड लागतमा सम्पन्न हुने तयारी गरिएको आयोजनाको लागत बढेर ४९ अर्ब पुगेको छ। अधिकारीहरुका अनुसार लागत ४९ अर्ब २९ करोडमा सक्ने बताइएको छ।
ठेकेदारको लापरबाही
चारवटा प्याकेजमा निर्माण भइरहेको आयोजनाको दोस्रो प्याकेज हाइड्रो मेकानिकल कामको जिम्मेवारी पाएको भारतीय कम्पनी टेक्स्म्याको रेलवे इन्जिनियरिङले काममा ढिलासुस्ती गरेका कारण अझै एक वर्ष पछि धकेलिने सम्भावना रहेको आयोजनाका वरिष्ठ अधिकारीहरुले बताएका छन्।
प्रतिक्रिया