दाहाल र देउवाले भने, ‘पहाड, मधेस विखण्डन गर्न खोज्नेको पछि नलाग्नुस्’

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २८, २०७४
|
|
११९५ पटक हेरिएको
Shares
दाहाल र देउवाले भने, ‘पहाड, मधेस विखण्डन गर्न खोज्नेको पछि नलाग्नुस्’

सारांश

  • वैशाख २८, २०७४- प्रधानमन्त्री पुष्पकमल दाहालले जनताको विकास र समृद्धिको निम्ति कांग्रेस र माओवादी केन्द्रले कठोर निर्णय गर्दै स्थानीय तहको चुनावमा तालमेल गरेको बताएका छन् ।
  • उनले कठोर निर्णय गर्न नसक्ने नेता नहुने भन्दै त्यो साहस आफूहरुले गरेको बताए ।
  • चितवनको भरतपुरमा आयोजित कांग्रेस-माओवादीको संयुक्त चुनावी सभालाई सम्बोधन गर्ने क्रममा दाहालले  सिंगै नेपाल चितवनमा भएको बताए ।

वैशाख २८, २०७४- प्रधानमन्त्री पुष्पकमल दाहालले जनताको विकास र समृद्धिको निम्ति कांग्रेस र माओवादी केन्द्रले कठोर निर्णय गर्दै स्थानीय तहको चुनावमा तालमेल गरेको बताएका छन् । उनले कठोर निर्णय गर्न नसक्ने नेता नहुने भन्दै त्यो साहस आफूहरुले गरेको बताए ।

चितवनको भरतपुरमा आयोजित कांग्रेस-माओवादीको संयुक्त चुनावी सभालाई सम्बोधन गर्ने क्रममा दाहालले  सिंगै नेपाल चितवनमा भएको बताए । ‘सिंगो राष्ट्रको ध्यान चितवनमा केन्द्रित छ,’उनले भने,‘आज हामी दुईजना मात्र चितवन आएका छैनौं, विपक्षी पार्टी एमाले अध्यक्ष केपी ओली पनि आउनुभएको खबर थाहा पाएको छु ।’उनले सम्बोधनको क्रममा कांग्रेस सभापति एवं भावी प्रधानमन्त्री भनेर सम्बोधन गर्दा कार्यक्रममा उपस्थित दर्शकले ताली बजाएर समर्थन जनाएका थिए ।

चुनावले गर्दा राष्ट्र एकताबद्ध भएको भन्दै जनतामा उत्साह थप्ने काम गरेको उनले बताए । उनले भरतपुर महानगरपालिकाको मेयरमा छोरी रेणु दाहाललाई मिडियाले प्रचण्डपुत्री भनेर प्रचार गरेको मीठो नलागेको बताए । ‘रेणु हाम्री छोरी पक्कै पनि हुन् ,’उनले भने ,‘तर मिडियाले प्रचण्डपुत्री भनेर प्रचार गर्दा मीठो लागेन, उसको आफ्नै पहिचान छ, मेरो कारणले उम्मेद्वार बनेको होइन, प्रचण्डपुत्री मात्र भनेर व्याख्या गरिरहँदा उनीमाथि अन्याय हुन सक्छ ।’

उनले रेणुको आफ्नै त्याग तपस्या र मेहनतले टिकट पाएको दाबी गरे । उनले कार्यकर्तालाई तालमेल भएपछि थोरै मतले जिताउन छुट नभएको भन्दै अत्यधिक मतले जिताउन आग्रह गरे । उनले पहाड मधेसलाई विखण्डन गर्न खोज्नेको पछि नलाग्न आग्रह गरे । उनले भाषण गरिसकेपछि अभिवादन, जय नेपाल भन्दै बिदा भएका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवाले अहिले संयुक्त सरकारले स्थानीय तहको निर्वाचन मात्र नभई संघीय र प्रान्तीय चुनाव गराउने बताए । ‘त्यसपछि पनि यही सरकार अघि जाने छ’उनले भने । उनले पहाड र मधेसलाई झगडा गराउने तत्वबाट सर्तक रहन कार्यकर्तालाई आग्रह गरे । ‘कसैले झुक्याए भने तिनीहरुको पछि नलाग्नुस,’उनले भने,‘पोखरामा माओवादीले मेयरमा हामीलाई सघाएको छ, भरतपुरमा माओवादीलाई सहयोग गर्नुस् ।’ उनले दुवै मेयर उम्मेद्वार महिला भएकाले सहयोग गर्नुपर्ने बताए । कांग्रेसबाट उपमेयरमा पार्वती शाह छिन् ।

कार्यक्रममा कार्यकर्ताको भीड लागेको थियो । दुवै पार्टीका कार्यकर्ता जम्मा भएका थिए । कार्यक्रममा रक्षामन्त्री बालकृष्ण खाँड, कांग्रेस महामन्त्री शंशाक कोइराला, माओवादी नेता अमिक शेरचनलगायतले बोलेका थिए । कार्यक्रममा भाषण गर्ने अधिकांश कांग्रेस-माओवादी नेताले अभिवादन, जय नेपाल भन्दै सम्बोधन गरेका थिए ।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?