नेपाली कांग्रेसका सहिद पुत्रको प्रधान मन्त्री देउवा लाई खुल्ला पत्र !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ २५, २०७४
|
|
१८ पटक हेरिएको
Shares
नेपाली कांग्रेसका सहिद पुत्रको प्रधान मन्त्री  देउवा लाई  खुल्ला पत्र  !

सारांश

  • श्रीमान सभापति शेरबहादुर देउवाज्यू !
  • नेपाली कांग्रेस, केन्द्रीय कार्यलय सानेपा काठमाडौं ।
  • सभापतिज्यू !

श्रीमान सभापति शेरबहादुर देउवाज्यू !
नेपाली कांग्रेस, केन्द्रीय कार्यलय सानेपा काठमाडौं ।

सभापतिज्यू ! म कांग्रेसको एक कार्यकर्ताका नाताले यो पत्र कोर्दैछु । नेपाली कांग्रेसमा आस्था राखेवापत तपाईंको सत्ता सहयोगी माओवादीले आततायी तरिकाले हत्या गरिएका गोरखाका भैरवराज विष्टको म छोरा हुँ । मेरो बुवा स्व. भैरवराज कांग्रेसप्रति अविचलित आस्था राख्नुहुन्थ्यो । उहाँले कांग्रेसमा आस्था राखेर सक्रिय भएको आततायी र अधिनायकवादी चरित्रको माओवादीलाई मन परेन । प्रजातन्त्रमा एउटाको विचार अर्काेलाई मन नपर्न पाउँथ्यो ।

तर अधिनायकवादी माओवादीले कांग्रेसको आस्था नत्यागेको भनेर मेरा बुवाको हत्या गरे । त्यसपछि म लगायत परिवार गाउँमा बस्न नसकेर चितवनको भरतपुरमा बसाईं सर्यौं । जन्मेको ठाउँमा वाल्यकालमा विताएका सम्झनाहरु अहिले मष्तिष्कमा आउँदा मेरो मुटु भक्कानु पर्छ । सभापतिज्यू मेरो विषयमा अहिलेलाई यति मात्रै लेखेँ ।

सभापतिज्यू,तपाईं तिनै माओवादीको समर्थनमा प्रधानमन्त्री बन्नु भयो । यसमा मलाई अनौठो लागेको छैन । प्रजातान्त्रिक ब्यवस्थामा विचार नमिल्नेसँग पनि निश्चित उद्धेश्यका लागि सहकार्य गरिन्छ । तर, तपाईंले अहिले माओवादीसँग गरेको सहकार्य के का लागि ? तपाईंले आफू सत्तामा पुग्ने मात्रै उद्धेश्यका लागि अहिले माओवादीसँग सहकार्य गर्नु भएको छ । त्यसप्रति भने मेरो आपत्ती छ ।

बन्दुकले सत्ताप्राप्त गर्ने नीति माओवादीले त्यागेको छैन । निर्वाचनको स्वच्छतामा उसले विश्वास गर्दैन । प्रजातन्त्रिक राज्यका स्वतन्त्र संवैधानिक अंगहरुलाई भत्काएर आफ्नो उद्धेश्य पूरा गर्न सकिन्छ भन्ने माओवादीको विश्वास छ र त्यसमा तपाईंले साथ दिनु भएको छ । जुन सिद्धान्तका लागि मेरो बुवाले आफ्नो ज्यान दिनु भयो त्यो सिद्धान्तसँग तपाईंले आज आफ्नो सत्ता स्वार्थ विनिमय गर्नु भयो । भरतपुर महानगरपालिकाको मतगणनामा माओवादीले देखाएको नग्नतामा आँखा चिम्लेर हामीलाई लज्जित बनाउने अवस्थामा तपाईंले पुर्याउनु भयो ।

भरतपुर कांग्रेसले सजलै चुनाव जित्ने ठाउँ थियो । हामी जित्थ्यौं । तर, तपाईंले बिचार नमिल्ने, सिद्धान्त नमिल्ने र बन्दुकको नाल बाट सत्ता कब्जा गर्ने सिद्धान्त भएकाहरुलाई समर्पित गर्नु भयो । त्यस वापत राज्यलाई, लोकतन्त्रलाई भाल मिल्ने भए चित्त बुझाउने ठाउँ हुन्थ्यो । तर, त्यस्तो होइन । भरतपुरमा माओवादी आततायीहरुसामु हामीलाई आत्मसमर्पण गराएवापत तपाईंले प्रधानमन्त्रीको गद्दा पाउनु भयो,

लोकतान्त्रिक पद्दतिलाई समाप्त पार्ने माओवादीको ईच्छा पूरा गर्न तपाईंलाई अव हतियार बनाइँदैछ । भरतपुरमा माओवादी अध्यक्षकी छोरीलाई मेयर बनाउन मतपत्र च्यातिएको र यसमा नेपाली कांग्रेसको मौन समर्थनबाट मेरो शीर लाजले झुकेको छ ।

हिजो मेरो बुबाजस्तै हजारौ बुबा आमा त्यही कांग्रे्रेसको चारतारे झन्डा र रुख छोड्न नमानेकैले मारिनु पर्यो । यदि उहाँहरुले पनि माओवादीले भनेको मानेर हंसिया हथौडाको झन्डामा समाहित भएका भए आफ्नो ज्यान त फाल्नु पर्ने थिएन । आज तपाईंले आफ्नो स्वार्थका लागि तिनै

कार्यकर्तालाई हंसिया हथौडामा भोट हाल्न उर्दी जारी गर्नु भयो । धेरैले हाले पनि । तर, रेणुले जित्न सकिनन् । नजित्ने देखेपछि माओवादी निर्वाचन अपराधमा उत्रियो । तपाईंहरुले चुनावी तालमेल मात्रै गर्नु भएको होइन रहेछ, लोकतन्त्र र निर्वाचन पद्दतिप्रतिको कांग्रेसको निष्ठा र इमान पनि माओवादीसामु समर्पण गर्नु भएको रहेछ । म आज मेरा दिवंगत बुवाको अनुहार सम्झेर नेपाली कांग्रेसको नेतृत्वप्रति खिन्नता ब्यक्त गरिरहेको छु ।

सभापतिज्यू ,ब्यक्तिगत फाइदाका लागि तपाईंको वरिपरी झुम्मिएका र बिमानस्थलमा तपाईंलाई स्बागत गर्न आएकालाई मात्र तपाईंले कांग्रेसका कार्यकर्ता ठान्नु भयो । दूरदराजका गाउँमा आफ्नो आस्था जोगाएर बसेका कार्यकर्तालाई हेर्नुस् आजको घडीमा बरु तिनीहरु कांग्रेसलाई काम लागेका छन् । तर तपाईं ती कार्यकर्ताको भावनामा चोट लगाउँदै तिनले बचाएको पार्टीलाई माओवादीको अधिनायकवादी हतियार बनाउँदै हुनुहुन्छ ।

माओवादीसँग तालमेल गरेर एउटा गल्ती भइसकेको थियो । मतपत्र च्यातिंदा फेरि झुट बोलेर हामीले अर्को गल्ती किन गर्दैछौं ? आज मतपत्र च्यातेको प्रत्यक्ष देखेका हाम्रा नेताले झुठ बोलेर माओवादीको अधिनायकवादी चरित्रलाई साथ दिए अर्काेदिन त्यही अधिनायकले हामीलाई खानेछ । त्यसबेला हाम्रो पक्षमा बोलिदिने कोही हुनेछैन । आज म केही कांग्रेसी कार्यकर्तामा एउटा डरलाग्दो विचलन देख्छु ।

तिनीहरु सत्ताको लोभमा छन् । त्यसैले तिनीहरु बीपी, गणेशमान, गिरिजाबाबु र सन्तनेता कृष्णप्रसाद भट्टराईको होइन तपाईंलाई प्रधानमन्त्री बन्न बाटो खोलिदिएकोमा माओवादी अध्यक्ष प्रचण्डको गुणगान गाउँदै छन् । यसले हामीलाई कहाँ पुर्यायो सभापतिज्यू ? हामी बीपीले भनेजस्तो देशलाई संकट परेका बेला एकमुठी माटो लिएर सोध्ने होइन, आफ्नो स्वार्थ कसले पूरा गरिदिन्छ, त्यो जस्तोसुकै अधिनायकवादी किन नहोस् त्यसको महिमामण्डन गर्ने ठाउँमा पुग्यौं । बीपीले बीऊ छरेर हुर्काएको कांग्रेस यही हो त सभापतिज्यू ?

तपाईंले भरतपुर महानगरपालिकामा हाम्रा उम्मेदवारको उम्मेदवारी जबर्जस्ती फिर्ता गराउनु भयो । तपाईंलाई हुने लाभका सामु कांग्रेस उम्मेदवार निरिह हुनु पर्यो । तपाईंको सत्तास्वार्थबाट प्राप्त हुने अंश पाएकाहरुले माओवादीलाई समर्थन पनि गरे । तर, कांग्रेसमाथि वास्तविक आस्था राख्ने नागरिकले रेणुलाई भोट दिएनन् । दिनु पर्ने पनि थिएन । त्यसैले माओवादीलाई मतपत्र च्यात्ने ठाउँसम्म पुर्यायो ।

चुनावअघि हामी कांग्रेसका अधिकांश कार्यर्ताको धारणा के थियो ? त्यो तपाईंले बुझ्नै सक्नु भएन । किनभने तपाईंले बुझ्ने कोसिस पनि गर्नु भएन । तपाईंलाई कांग्रेसले जितोस् कि हारोस् सँग त्यति मतलव पनि छैन । भरतपुर कांग्रेसले सजिलै जित्ने ठाउँमा आज तपाईंले हामीलाई लाजको भुमरीमा हालिदिनु भएको छ । म तपाईंलाई ललितपुरको उदाहरण दिन चाहन्छु । त्यहाँ एमाले र राप्रपाको तालमेलका बीच पनि कांग्रेसले जित्यो । पोखरामा माओवादीको समर्थनका बावजुद पनि कांग्रेसले भारी मतान्तरले हार्यो । यसबाट शिक्षा लिनु पर्दैन आम कांग्रेसले ?

हामी कांग्र्रेस हौं । कांग्र्रेस लोकतान्त्रिक पद्धतिमा विश्वास गर्छाैं भने मतपत्र च्यातेर जित्न खोज्नेलाई छेक्नु पर्ने हामीले नै होइन ? हिजोका चुनावमा पनि मतपत्र च्यातिएका थिए भनेर गलत कामको सपोर्ट गर्न मिल्छ ? भरतपुरमा त यसपटक बडो नराम्रो पद्दति कांग्रेस भित्र देखियो ।

आफ्ना बडाअध्यक्ष र सदस्यलाई मत हाल्न प्रेरित नगर्ने तर, पुन मतदान गरेर हारेकालाई जिताउन मेयर पदमा जसरी पनि माओवादीलाई जिताउ भनेर लाग्ने पनि देखियो । आफ्नो संगठन ध्वस्त हुनेगरी माओवादीलाई बोक्दा तपाईंलाई कतै दुख्दैन रहेछ । घर पोलेर खरानी जोहो गर्ने ध्याउन्नमा पार्टी सभापति नै लाग्नु भएको रहेछ ।

घात–अन्तर्घातले पार्टी थिलोथिलो भएको छ । पार्टी भन्दा पनि ब्यक्तिगत स्बार्थका लागि लागेका जमातले भोलि पार्टीको संगठन ध्वस्त बनाउनेछ । हिजो माओवादीले कांग्र्रेस छानी छानी हत्या गर्यो, आज त्यो गलत कामलाई तपाईंले समर्थन गर्नु भयो भन्दैमा भुल्न सकिन्छ र ? गलतलाई गलत भन्नु सच्चा कांग्र्रेसको धर्म होइन र ? कांग्र्रेस भएर जो जो मारिए, ती कांग्रेसजनका परिबारले तपाईंसँग मागेको नै न्याय होइन र ?

सभापतिज्यू, कमसेकम हिजो कांग्र्रेस जोगाउन लागेका आफ्ना नेता कार्यकर्ताको रगत पसिनाले अलिकति पनि पोल्छ भने न्याय प्रदान गर्नुस् । कांग्रेसका लागि आफ्नो परिवार गुमाएका हामी कांग्रसजनको हृदयमा तपाईंका ब्यवहारले घाउ लगाएको छ । माओवादी अधिनायकवादीहरुको स्वार्थको हतियार नबन्नुस् सभापतिज्यू ।

विजयराज बिष्ट
गोरखा, हाल भरतपुर चितबन

(https://www.leankitchenco.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?