‘नोट छाप्दाको भ्रष्टाचार लुकाउन पत्रकारलाई थाइल्याण्ड र अष्ट्रेलिया लगेको’ : अख्तियार
सारांश
- काठमाडौं ।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल राष्ट्र बैंकको नोट छाप्दाका क्रममा कमजोरी लुकाउन पत्रकारलाई थाईल्याण्ड र अष्ट्रेलिया घुमाउन लगेको भन्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
- नेपाल राष्ट्र बैंकका तत्कालीन गर्भनर तिलक रावल, नोट विभाग प्रमुख उपेन्द्रकेशरी पौड्याल, स्थानीय प्रतिनिधि हिमालयबहादुर पाँडे विरुद्ध भ्रष्टाचार गरेको भन्दै मुद्दा दर्ता गरेको हो ।
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल राष्ट्र बैंकको नोट छाप्दाका क्रममा कमजोरी लुकाउन पत्रकारलाई थाईल्याण्ड र अष्ट्रेलिया घुमाउन लगेको भन्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
नेपाल राष्ट्र बैंकका तत्कालीन गर्भनर तिलक रावल, नोट विभाग प्रमुख उपेन्द्रकेशरी पौड्याल, स्थानीय प्रतिनिधि हिमालयबहादुर पाँडे विरुद्ध भ्रष्टाचार गरेको भन्दै मुद्दा दर्ता गरेको हो । तीनजनालाई जनही ९१ लाख ९ हजार बराबरको बिगो मागदाबी सहित मुद्दा दर्ता गरेको हो ।
बैंकबाट अष्ट्रेलियामा १० रुपैयाँको ५ करोड थान पोलिमर नोट छपाई गर्दा भ्रष्टाचार गरेको भन्दै मुद्दा दर्ता गरेको छ ।
‘छापिएका नोटका कमीकमजोरी मिडियामा नल्याउनका लागि मिडियाकर्मीहरुलाई थाईल्याण्ड हुँदै अष्ट्रेलिया पठाएको’ आरोपपत्रमा उल्लेख छ । मिडियाकर्मी भनिएपनि ती पत्रकार को थिए भन्ने अख्तियारले खुलाएको छैन ।
अष्ट्रेलियाको स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाई भएको, नोट प्रिन्टिङ अष्ट्रेलियासँग गैर कानुनी मिलेमतो गरी आर्थिक लेनदेन गरेको आरोप अख्तियारले लगाएको छ ।
भ्रष्टाचार गरी गुणस्तरहीन नोट छपाई भएको भन्ने उजुरीका आधारमा अख्तियारले अनुसन्धान गरी मुद्दा दर्ता गरेको प्रवक्ता रामेश्वर दंगालले बताएका छन् ।
‘बोलपत्र हुनु अघि नै राष्ट्र बैंकले नोट प्रिन्टिङ अष्ट्रेलियासँग बोलपत्रका मस्यौदा लिने, संचालक समितिका निर्णय चुहाउने, जर्मन कम्पनीसँगको साँचो नोट प्रिन्टिङ अष्ट्रेलियालाई हस्तान्तरण गर्न लगाउने, नेपाल राष्ट्र बैंक र नोट प्रिन्टिङ अष्ट्रेलिया तथा त्यसका स्थानीय प्रतिनिधिबीच निरन्तर पत्राचार हुने, छापिएका नोटका कमिकमजोरी मिडियामा नल्याउनका लागी मिडियाकर्मीहरुलाई थाईल्याण्ड हुदै अष्ट्रेलिया पठाउने,’ अख्तियारले विशेष अदालतमा दर्ता गरेको आरोपपत्रमा भनिएको छ, ‘नोट छपाईका लागि जसलाई पछि कार्यदेश दिइएको हो उसलाई बोलपत्र पूर्व नोटको डिजाईन गर्न लगाउने, बोलपत्रका क्रममा स्थानीय प्रतिनिधिको प्रभावमा राजश्व छल्ने नियतले कमिशन उल्लेख नगर्ने, परल मूल्य बढाउन लगाई बोलपत्र र सम्झौता गरी नेपाल राष्ट्र बैंकका एवं नोट प्रिन्टिङ अष्ट्रेलियाका पदाधिकारीहरु र त्यसका स्थानीय प्रतिनिधिले नेपाल राष्ट्र बैंकलाई अस्वभाविक मूल्य तिराई नोक्सानी पुराएको’ उल्लेख छ ।
आफू समेतलाई फाइदा पुग्ने कसुर गरेको सप्रमाण पुष्टि हुन आएको भन्दै कसुरमा संलग्न पदाधिकारीलाई सजायको मागदावी सहित आरोपपत्र दर्ता गरेको छ ।

प्रतिक्रिया