परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्री सुशमा स्वराजबीच भेटवार्ता, नयाँ हवाई रुटबारे छलफल
सारांश
- काठमाडौं ।
- भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र उनका भारीय समकक्षी सुशमा स्वराजबीच बिहीबार भारतको दिल्लीमा भेटवार्ता भएको छ ।
- सो भेटवार्ताका क्रममा नेपालले नयाँ हवाई रुटका विषयमा कुरा उठाएको छ जनाइएको छ ।
काठमाडौं । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र उनका भारीय समकक्षी सुशमा स्वराजबीच बिहीबार भारतको दिल्लीमा भेटवार्ता भएको छ । सो भेटवार्ताका क्रममा नेपालले नयाँ हवाई रुटका विषयमा कुरा उठाएको छ जनाइएको छ ।
नेपाल र भारतबीच सम्झौता भई कार्यान्वयनमा नभएका सबै विषयमा छलफल भएको परराष्ट्र स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार यसअघि भारतले अनुमति दिने भनेर पनि रोकेको नयाँ हवाई रुटबारे नेपालले स्पष्ट जवाफ मागेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भारतले ४ वटा नयाँ रुटका लागि भारतीय आकाश प्रयोगका लागि अनुमति दिने सहमति भए पनि त्यसपछि भएका वार्ताहरुमा भारतीय पक्षले सो सहमति कार्यान्वयन गर्न आनाकानी गरेको थियो ।
भारतले नयाँ हवाई रुटको अनुमति नदिए नेपालगञ्जलाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास गर्न नसकिने बताइएको छ ।
यस्तै विदेशमन्त्री स्वराजसँगको भेटमा दिल्लीबाट तेस्रो मुलुका लागि उडान गर्ने नेपालीहरुलाई भारतीय सुरक्षाकर्मीले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा दुःख दिने गरेको विषयमा पनि छलफल भएको छ । इन्दिरा गान्धी अन्तर्राष्टिय विमानस्थलमा भारतीय सुरक्षाकर्मीले नेपालीलाई अनावश्यक निगरानी गर्दै आएको छ । दिल्लीस्थित दूतावासको अनुमति माग्दै नेपालीहरुलाई विमान स्थलमा निगरानी गर्ने गरिएको छ।
यस्तै वार्ता क्रममा आपसी सम्बन्ध र दुई पक्षीय हितका विषयमासमेत कुराकानी भएको छ । नेपाल र भारतबीचको सँयुक्त प्रवुद्ध व्यक्तिहरुको समूह (ईपीजी)को प्रतिवेदनका विषयमा पनि कुराकानी भएको बताइएको छ । ईपीजीको प्रतिवेदनमा भारतीय पक्षले सहमति नजाएकाले हालसम्म सो प्रतिवेदन दुबै देशका सरकार प्रमुखलाई बुझाइएको छैन ।
नेपालको जिज्ञासामा भारतीय विदेशमन्त्रीको प्रतिक्रिया कस्तो थियो भन्नेबारे केही खुलाइएको छैन । परराष्ट्रमन्त्री ज्ञवाली बिहीबारै भारततर्फ गएका हुन् ।
प्रतिक्रिया