परिवार नियोजन गर्न गएकी महिलाको आन्द्रा काटियो
सारांश
- धरान/राजविराज – सप्तरीकी एक महिलाको परिवार नियोजनको शल्यक्रिया गर्दा सानो आन्द्रा काटिएको खुलेको छ ।
- राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा परिवार नियोजन गर्दा आन्द्रा काटिएकी सप्तरी विष्णुपुर गाउँपालिका-५ की २८ वर्षीया अनुकुमारी यादव तीन सातादेखि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेकी छन्।
- अन्नपूर्ण पोष्ट दैनिक खबर छापिएको छ ।
धरान/राजविराज – सप्तरीकी एक महिलाको परिवार नियोजनको शल्यक्रिया गर्दा सानो आन्द्रा काटिएको खुलेको छ ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा परिवार नियोजन गर्दा आन्द्रा काटिएकी सप्तरी विष्णुपुर गाउँपालिका-५ की २८ वर्षीया अनुकुमारी यादव तीन सातादेखि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेकी छन्। अन्नपूर्ण पोष्ट दैनिक खबर छापिएको छ ।
परिवार नियोजनको शल्यक्रिया गरेर घर फर्केपछि अनुलाई खानेकुरा खाँदा बान्ता आउने, पेट फुल्ने समस्या भयो। सिकिस्त बिरामी भएपछि फागुन १२ गते पुनः उनलाई सगरमाथा अस्पताल भर्ना गरियो। तर, चिकित्सकले परिवार नियोजन गर्दा यस्तो समस्या आइरहने भन्दै थप उपचारका लागि प्रतिष्ठानमा रेफर गरिदिए। उनलाई फागुन १४ गते धरानस्थित प्रतिष्ठानमा भर्ना गरियो। प्रतिष्ठानमा अनुको भिडियो एक्स-रे गर्दा आन्द्रा काटिएको पत्ता लागेको हो।
राजविराजस्थित अस्पतालमा आन्द्रा काटिएकी अनुकुमारीको प्रतिष्ठानका चिकित्सक प्राडा चन्द्रशेखर अग्रवाल नेतृत्वको टोलीले फागुन २२ गते पुनः शल्यक्रिया गरेका छन्। अनुको पेटको ‘ल्याप्रोटोमी’ गरी प्वाल परेको आन्द्रा बाहिर निकालेर ‘आइलियोस्टोमी’ गरेका कारण उनी हाल खतरामुक्त रहेको चिकित्सकले जानकारी दिए।
अनुकुमारी गत फागुन ११ गते सगरमाथा अस्पतालमा परिवार नियोजन गर्न पति मोमेन्द्रका साथ भर्ना भएकी थिइन्। उनको परिवार नियोजनको शल्यक्रिया अस्पतालका डा. ब्रजेशकुमार झाले गरेका थिए। अनुको उपचारमा संलग्न प्रतिष्ठानका डा. राकेश गुप्ताले अनुको सानो आन्द्रा काटिएको र पेटभरि दिसा बगेर संक्रमण फैलिसकेको अवस्थामा पुनः शल्यक्रिया गरिएको बताए। ‘अनुको आन्द्रा फुटेर पेटभरि संक्रमण फैलिसकेको थियो। बेलैमा शल्यक्रिया गरेकाले बिरामीको ज्यान बचाउन सफल भयौं’, डा. गुप्ताले भने, ‘अरू एक-दुई दिन ढिला भएको भए ज्यान जोखिममा पर्न सक्थ्यो।’
डा. गुप्ताले हाल अनुको पेटमा अर्को प्वाल पारेर आन्द्रा बाहिर निकाली बाहिरबाटै दिसा गराइएको बताए। उनले भने, ‘अबको तीन महिना पेटबाहिरबाटै दिसा गराएपछि अर्को शल्यक्रिया गरेर मात्रै उनको अवस्था सामान्य रहनेछ।’
प्रतिष्ठानको सर्जरी वार्डमा उपचाररत अनुले चिकित्सकको लापरवाहीका कारण आन्द्रा काटिएको बताउँदै भनिन्, ‘म बिरामी भएपछि नाबालक दुई छोरी र एक छोराको लालनपालनमा समेत समस्या भएको छ। मेरो आन्द्रा काटिदिने डाक्टरलाई कडा कारवाही होस्।’
अमबहादुर रेग्मी
कुन क्षमताका मानिसहरू डाक्टर बनेका छन् र हो ! पटक पटक असमान्य गल्ती गर्छन कसैको पाठ्यघरमा नै कपडा छाड्छन्, कसैको अर्को खुट्टाको अपरेशन गर्छन् त कसैको आन्द्रा काट्छन् । डाक्टर उत्पादन गर्ने निती नै खराब छ कि? नितीको कारणले क्षमता नै नभएका हरूले अवसर पाए कि डाक्टरी पढ्ने र डाक्टर बन्ने ?