पशुपतिबाट ४० वर्षपछि वाग्मती यात्रा शुरु

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १०, २०७५
|
|
२५ पटक हेरिएको
Shares
पशुपतिबाट ४० वर्षपछि वाग्मती यात्रा शुरु

सारांश

  • काठमाडौँ, १० वैशाख ।
  •   नेमुनिको पालादेखि शुरु भएको विश्वास गरिने वाग्मती तीर्थयात्रा ४० वर्षपछि आजदेखि पुनः शुरु भएको छ ।
  • कटुवाल दहबाट वाग्मतीको उद्गमस्थल वाग्द्वारसम्म हुने यात्रा विसं २०३४ पछि वाग्मती प्रदूषित भएका कारण हुन सकेको थिएन ।

काठमाडौँ, १० वैशाख ।  नेमुनिको पालादेखि शुरु भएको विश्वास गरिने वाग्मती तीर्थयात्रा ४० वर्षपछि आजदेखि पुनः शुरु भएको छ ।

कटुवाल दहबाट वाग्मतीको उद्गमस्थल वाग्द्वारसम्म हुने यात्रा विसं २०३४ पछि वाग्मती प्रदूषित भएका कारण हुन सकेको थिएन । आज बिहान पशुपतिनाथ मन्दिरमा पञ्चामृतसहित पूजा एवं रुद्रीपाठ र यात्राको संकल्प गरेपछि यात्रा शुरु भएको हो ।

पशुपतिनाथ दर्शन र परिक्रमापछि पश्चिम मूलढोकाबाट शुरु भएको यात्रा आज कार्यविनायक, दक्षिणकाली गोपालेश्वर दर्शन एवं पूजापछि कटुवाल दहमा ब्राह्मण वरण, ध्वजा, कलश स्थापना, १६ तीर्थस्नान आरम्भ गरिनेछ । आज पहिलो दिनको वास शिखरनारायणमा हुने पशुपति आगमघरका भट्ट एवं यात्राका पुरोहित मदन भट्टले जानकारी दिए ।

वाग्मतीको कटुवाल दहबाट वाग्द्वारसम्म हुने १७ दिने वाग्मती तीर्थयात्रा यस वर्ष सात दिनमात्र गरिने छ । यात्राको दिन घटाइए पनि विधि भने पु¥याइने उहाँले बताउनुभयो । कटुवालदहबाट वाग्द्वारसम्मका १६५ तीर्थस्थलमा पैदल हिँडेर स्नान, पूजाआजा गर्ने विधिलाई वाग्मती तीर्थ यात्रा भनिन्छ । तीर्थ यात्रा वैदिक र तान्त्रिक मिश्रित विधिमा गरिन्छ ।

वाग्मती प्रदूषित बन्दै गएपछि वाग्मती तीर्थयात्रा रोकिएको थियो । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, गायत्री परिवारलगायत सामाजिक संस्थाको सक्रियतामा विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान शुरु भएको थियो । यात्रासँगै वाग्मती सफाइका लागि पनि जनमत जुटाउने उद्देश्य राखिएको छ ।

कटुवालदहबाट शुरु भएको यात्रा सुन्दरीघाट–टेकु कालमोचनघाट– शंखमूल–पशुपति राजराजेश्वरी–गोकर्ण–सुन्दरीजल–वाग्द्वार–बूढानीलकण्ठ–साँखु बज्रयोगिनी–चाँगुनारायण–मनोहरा–गुह्येश्वरी–पशुपति विरुपाक्ष–रुद्रगाडेश्वरसम्मको यात्रा गरी वैशाख १७ गते समापन हुनेछ ।

यात्राका क्रममा प्रत्येक घाटमा स्नान गरिन्छ । साँखु बज्रयोगिनीमा हवन हुन्छ । चाँगुनारायणमा दर्शन गरी मनोहरा नदीमा स्नान गरिन्छ । गुह्येश्वरी दर्शन गरेर विरुपाक्षलाई दही च्यूरा खुवाइन्छ । रुद्रगाडेश्वरमा पूर्णाहुति गरेपछि वाग्मती यात्राले पूर्णता पाउने यात्राका मूल गुरु भट्टले बताए।

यात्रा शुभारम्भ गर्नुहुँदै पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले उपत्यकाको जीवन्त संस्कृति भावी पुस्तालाई हस्तान्तरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

यात्रामा सहभागी समूहलाई राष्ट्रिय र धार्मिक झण्डासहित पशुपति परिसरबाट ढकालले बिदाइ गरेका थिए । यात्राका सहभागीलाई आज दक्षिणकाली नगरपालिकाले स्वागत गर्ने कार्यक्रम रहेको कोषले जनाएको छ ।

 

(https://www.speedclean.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?