मोहनविक्रम, मोहन वैद्य र विप्लव एकै ठाउँमा, गरे संयुक्त संघर्षको घोषणा
सारांश
- काठमाडौं, २२ चैत ।
- नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्ने आधार तयार पार्न छलफल र बहसलाई अगाडि बढाउन चार कम्युनिष्ट पार्टीहरु सहमत भएका छन् ।
- बुधवार भएको छलफलपछि बिहीवार जारी संयुक्त विज्ञप्तिमा नेपालका प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा यसभन्दा अगाडि नेपाल–भारतबीचमा भएका राष्ट्रहित विपरीतका सबै असमान सन्धि सम्झौताहरूलाई कार्यान्वयन गर्ने कुराको घोर विरोध र भत्र्सना गरिएको छ ।
काठमाडौं, २२ चैत । नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्ने आधार तयार पार्न छलफल र बहसलाई अगाडि बढाउन चार कम्युनिष्ट पार्टीहरु सहमत भएका छन् । बुधवार भएको छलफलपछि बिहीवार जारी संयुक्त विज्ञप्तिमा नेपालका प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा यसभन्दा अगाडि नेपाल–भारतबीचमा भएका राष्ट्रहित विपरीतका सबै असमान सन्धि सम्झौताहरूलाई कार्यान्वयन गर्ने कुराको घोर विरोध र भत्र्सना गरिएको छ ।
विज्ञप्तिमा राष्ट्रियता, जनतन्त्र र जनजीविकासम्बन्धी परस्पर सहमति भएका विषयहरूमा कार्यगत एकता गरी संयुक्त सङ्घर्ष गर्न सहमत भएको भन्दै तत्कालका लागि संघर्षका कार्यक्रमहरु समेत घोषणा गरिएको छ । पहिलो चरणमा चैत्र २४ गते नेपालका प्रधानमन्त्री केपी ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अरूण तेस्रो जलविद्युत परियोजनाको भारतको दिल्लीबाट संयुक्तरूपमा शिलान्यास गर्ने कुराको विरोध गर्दै काठमाडौँमा संयुक्त विरोधसभा गर्ने निर्णय गरिएको छ ।
विज्ञप्तिमा चार पार्टीको आयोजनामा आगामी वैशाख ३ गते राष्ट्रियतासम्बन्धी अन्तरक्रियात्मक गोष्ठी गर्ने निर्णय भएको जनाइएको छ । त्यस्तै, सरकारले शान्तिपूर्णरुपमा सङ्गठन निर्माण, भेला र संघर्षमा दमन गरेकोमा त्यसको विरोध र भत्र्सना गरिएको छ । विज्ञप्तिमा नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंह, नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया