सदस्यता : २०१० सालमा मोहनविक्रमले लिए, ६० वर्षपछि कमलराजले लिए

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २९, २०७४
|
|
२५ पटक हेरिएको
Shares
सदस्यता : २०१० सालमा मोहनविक्रमले लिए, ६० वर्षपछि कमलराजले लिए

सारांश

  • मोहनबिक्रम सिंह सर्वप्रथम त कमलराज रेग्मीलाई कमरेड भनेर किन सम्वोधन गरिएको छ ?
  • त्यो कुरा स्पष्ट गर्न चाहन्छु ।
  • उहाँले करिब २ बर्ष पहिले नेकपा मसालको सदस्यताको लागि दरखास्त दिनुभएको थियो ।
मोहनबिक्रम सिंह
सर्वप्रथम त कमलराज रेग्मीलाई कमरेड भनेर किन सम्वोधन गरिएको छ ? त्यो कुरा स्पष्ट गर्न चाहन्छु । उहाँले करिब २ बर्ष पहिले नेकपा मसालको सदस्यताको लागि दरखास्त दिनुभएको थियो । जस्तो कि पार्टीको नियम हुन्छ, उहाँ जीवित छँदासम्म हामीले त्यो कुरालाई गोप्य नै राखेका थियौँ । अहिले उहाँको निधनपछि हामीले त्यो कुरालाई सार्वजनिक गरेका छौँ । उहाँले पार्टी सदस्यताका लागि दरखास्त दिनुभएको हुनाले हामीले उहाँलाई कमरेड नै भन्छौँ र उहाँको मृत्युपछि हामीले त्यो कुरालाई सार्वजनिक गरेका छौँ ।
२०१० सालमा मैले पार्टीको सदस्यताका लागि उहाँलाई दरखास्त दिएको थिएँ । त्यसको करिब ६ दशकभन्दा केही बढी समयपछि उहाँले पार्टी सदस्यताका लागि मलाई दरखास्त दिनु भो । आफुनो समयमा उहाँ अत्यन्त जुझारु, लडाकु र क्रान्तिकारी कम्युनिस्ट नेता हुनुहुन्थ्यो । उहाँ जस्तो क्रान्तिकारी नेताको क्रान्तिकारीतामा किन निरन्तरता रहन सकेन, त्यो वास्तवमा उहाँको व्यक्तिगत मात्र समस्या होइन, कम्युनिस्ट आन्दोलनको नै एउटा गम्भीर समस्या हो । नेपालको कम्युनिष्ट आन्दोलनमा कुनै बेला अत्यन्त सक्रिय र क्रान्तिकारी भूमिका खेलेको नेता वा कार्यकर्ताहरूको विचलन भएका सयौँ, करोडांै, हजारौँ उदाहरणहरू हाम्रा अगाडि छन् । ती मध्ये एउटा नाम रेग्मीको हो । तर ती सबैभन्दा बेग्लै रेग्मीको महत्व यो कुरामा छ कि उहाँले आपूmमा आएको विचलनका लागि पश्चाताप गर्नुभयो र पुनः कम्युनिष्ट पार्टीको सदस्यताका लागि दरखास्त दिनुभयो । पार्टीको सदस्यताका लागि दरखास्त दिने बेलामा उहाँले भन्नु भएको थियो ः अव मेरो वृद्ध अवस्था र स्वास्थ्यका कारणले मैले सक्रिय भएर पार्टीको काम गन सक्दिन । तैपनि मैले जीवनमा जे जति गल्ति गरे पनि कम्युनिष्ट भएर मर्न चाहन्छु । मेरो ठूलो इच्छा यही छ कि म मरेपछि मलाई कम्युनिष्ट पार्टीको झण्डा ओढाइयोस् ।
पार्टीका धेरै सदस्यहरूको विचलन र पतन हुने गरेको छ । तर त्यस प्रकारका विचलन वा पतनका प्रकृतिहरू बेग्ला–बेग्लै प्रकारका रहेका छन् । उहाहरणका लागि डा. केशरजङ्ग रायमाझी र कमलराज रेग्मीलाई हामीले एउटै श्रेणीमा राख्न सक्दैनौँ । रायमाझी स्वभावले नै अवसरवादी थिए । २०१७ साल पुस १ गतेभन्दा पहिले पनि उनले दरवारसित साँठगाँठ गरेका थिए । पूरै पार्टीलाई राजावादी लाइन र पक्षमा लैजाने प्रयत्न गरिरहेका थिए । त्यसैले उनको पतन एउटा स्वभाविक प्रक्रिया थियो । तर कमलराज रेग्मीको बारेमा यो कुरा सत्य होइन । उहाँले करिव ५ वर्षको जेल जीवन बिताउनु भो, त्यो अवधिमा उहाँको परिवारले धेरै दुःख कष्टको जीवन बिताउनु पर्‍यो । त्यो बेला म पनि जेलमा थिएँ । मैले आफ्नो पिताजीसँग उहाँको पूरै परिवारलाई प्यूठानमा लगेर संरक्षण गर्ने कुरा पनि गरेको थिएँ । उहाँले त्यो कुरा स्वीकार पनि गर्नु भएको थियो । तर, सायद विमलाजीले यसो गर्न चाहाना गर्नु हुन्नथ्यो । एकातिर उहाँको स्वाभिमान र अर्काेतिर आफ्नो पतिको सम्पर्कबाट टाढा हुने कुरा स्वीकार्य थिएन । त्यसैले कयौँ दुःख कष्ट गर्दै जेलमा भएका आफ्ना पति र आफ्ना साना केटाकेटीहरूको स्याहार सुसार गर्ने काममा उहाँ लागिरहनु भो । वास्तवमा उहाँ अत्यन्त सेवापर्याय र अत्यन्त विलक्षण महिला हुनुहुन्थ्यो । यो कमलजीको ठूलो सौभाग्य थियो कि उहाँले विमला जस्ती पत्नी पाउनु भो भने उहाँका छोराछोरीहरूले उहाँ जस्ती आमा पाए ।
आफ्ना परिवारले जुन प्रकारका दुःख पाएका थिए, त्यसको ठूलो असर कमलजीमा पर्नु स्वभाविक थियो र पर्‍यो पनि । सायद त्यो स्थितिले नै उहाँलाई कमजोर बनाउँदै लग्यो । त्यसको अर्काे पक्ष पनि छ, २०१९ सालमा सम्पन्न तेस्रो महाधिवेशनले रायभमाझी लाइनका विरुद्ध विद्रोह गर्‍यो । तर त्यसपछि बनेको केन्द्रीय समितिले पार्टीको कामलाई निरन्तरता दिन सकेन । पार्टीको केन्द्रीय समिति कयौँ टुक्राहरूमा बाँडियो । त्यो स्थितिले पनि कमलजीलाई धेरै निराश बनाउँदै लग्यो । शायद त्यो प्रकारको स्थितिले गर्दाखेरि नै उहाँले आफूलाई दृढ राख्न सक्नु भएन र उहाँमा विचलन आयो । त्यो स्थितिमा नै उहाँ जेलबाट छुट्नु भो । पार्टीमा सम्पर्क गर्नको लागि कुनै पार्टी केन्द्र थिएन । पार्टी कयौँ टुक्रामा बाँडिएको थियो । उहाँका अगाडि पार्टीका सबै ढोकाहरू बन्द थिए । त्यो स्थितिको सामना गरेर पार्टीलाई पुनः निर्माण गरेर अगाडि बढ्न उहँँले हिम्मत गर्न सक्नु भएन । त्यो अवस्थामा पञ्चायतमा प्रवेश नै उहाँले एउटा मात्र बाटो देख्नु भयो । रायमाझीले उच्च महत्वाकांक्षाद्धारा प्रेरित भएर पञ्चायतमा प्रवेश गरेका थिए भने रेग्मीजीले परिस्थितिजन्य बाध्यताका कारणले । त्यसैले दुवैका बीचमा भएको यो अन्तरमाथि हाम्रो ध्यान जान आवश्यकता छ । रेग्मी र मैले लामो समयसम्म पार्टीमा साथसाथै काम गरेका थियौँ । २०१० सालमा मैले पार्टीको सदस्यताका लागि उहाँलाई दरखास्त दिएपछि उहाँले प्यूठानमा पार्टीको स्थापनामा महत्वपूर्ण योगदान दिनुभएको थियो । मैले पार्टीमा सदस्यताका लागि दरखास्त दिएपछि प्यूठानमा सामान्य प्रकारले पार्टीको सङ्गठन गर्नेभन्दा एउटा प्रशिक्षण शिविर सञ्चालन गरेर पार्टीको सङ्गठन अगाडि बढाउने योजना बनाएँ । त्यसका लागि तीन महिने आवाशीय प्रशिक्षण शिविर सञ्चालन गर्ने प्रस्ताव त्यो बेलामा हाम्रो प्रान्तका प्रान्तीय सेक्रेटरी डा. रायमाझीसित राखें । तर उनले मेरो कुरालाई हाँसोमा उडाउँदै भने ः यो असम्भव छ । ठूलो पार्टी–सङ्गठन भएका जिल्लाहरूले त त्यो कार्य गर्न सकेका छैनन् भने प्यूठान जस्तो अहिलेसम्म पार्टी वा जनवर्गीय सङ्गठनको एक जना सदस्यसम्म नभएको जिल्लामा त्यो कार्य हुनै सक्दैन । तर कमलजीले मेरो प्रस्तावलाई उत्साहपूर्ण समर्थन गर्नु भयो र आवश्यक प्रशिक्षकहरूलाई पठाउने वचन दिनु भयो ।पछि शिविरमा उहाँ स्वयम् पनि आउनु भयो ।
प्यूठानमा पार्टीको स्थापनापछि पाल्पाको झडेवामा सम्पन्न पार्टीको प्रान्तीय सम्मेलनमा हामीले साथसाथै भाग लियौँ । जनकपुरको राष्ट्रिय किसान सम्मेलनमा हामीले साथसाथै भाग लियौँ । अरू बिभिन्न किसान सङ्घर्ष वा आन्दोलनहरूमा पनि हामीले साथसाथै भाग लियौँ । २०११ सालमा प्यूठानमा गिरफ्तार भएर पाल्पा जेलमा सरुवा भएपछि उहाँले हामीलाई मद्यत गरिरहनु भयो । प्यूठानमा हामी ६ जना गिरफ्तार भएका थियौँ, जसमध्ये तीन जनालाई पाल्पा जेल चलान गरिएको थियो । त्यो बेला हामीलाई प्रशासनले ‘ख’ श्रेणीको सीदा दिएको थियो । हामीले राजबन्दीलाई प्राप्त हुनुपर्ने ‘क’ श्रेणीको सीदाको माग गर्दै ‘ख’ श्रेणीको सीदा बुझेका थिएनौँ । त्यो बेलाको डेढ वर्षको पूरै अवधिमा नै हामीले सीदा बुझेका थिएनौँ । त्यो अवस्थामा हामीलाई राशन पानी पठाउनलाई पनि पाल्पाको पार्टीले धेरै मद्यत गरेको थियो । पाल्पा जेलमा अध्ययनको लागि धवल पुस्तकालयबाट पुस्तकहरू पठाउन पनि कमलजीले नियमित व्यवस्था मिलाई दिनुभएको थियो ।
पाल्पा जेलमा जेलर र नाइकेहरूका विरुद्ध लगातार कैयौँ आन्दोलनहरू चलेका थिए । त्यस प्रकारका आन्दोलनहरूको सञ्चालनका लागि जेलभित्र भूमिगत रूपमा पाल्पा जेलवन्दी सङ्घको स्थापना पनि भएको थियो, जो नेपालमा अहिलेसम्म जेलभित्र बनेको पहिलो र सायद अहिलेसम्मको अन्तिम सङ्गठन थियो । (त्यसको रिपोर्ट चार दशक प्रथम भागमा प्रकाशित भएको छ) त्यो आन्दोलनको क्रममा जेलरले का. खगुलाल गुरुङ र मलाई दुईपल्टसम्म बाहिर निकालेर कोर्रा लगाएका थिए । तेस्रोपल्ट पनि हामी दुवै जनालाई बोलाए । हामीले अन्दाज गर्‍यौँ, उनले यसपल्ट पनि हामीलाई कोर्रा लगाउन नै बोलाएका हुन् । हामीले आपसमा सल्लाह गरेर खगुलाल बाहिर नजाने र म मात्र जाने ठेगान गर्‍यौँ । बाहिर गएपछि कोर्रा लगाउन शुरु गर्ने वित्तिकै मैले जेलरलाई जुत्ताले हान्ने सल्लाह भयो । त्यसका लागि मैले जेलको कुनै वन्दीका फलामका काँटी लगाएका जुत्ता लगाएर गएको थिएँ । जेलरको अर्डरमा पुलिसले मलाई पिट्न शुरु गर्ने वित्तिकै मैले जुत्ता खोलेर जेलरलाई हानँे । जेलभित्र जुलुस र नारावाजी सुरु भयो । त्यसका सबै पुलिसहरूले एकैपटक लाठी, मुक्का र लात गरेर मलाई पिट्न थाले । त्यही बेला कमलजी त्यहाँ आइपुग्नु भयो । जेलमा नारावाजी भएको सुनेर उहाँ दगुर्दै दगुर्दै जेलतिर आउनु भएको थियो ।पछि हामीलाई थाहा भयो, मैले जेलरलाई पिटेपछि उसले भाग्न थालेको भनेर मलाई गोली हान्ने योजना बनाएको रहेछ । तर कमलजी आइपुगेको हुनाले उसले त्यसो गर्न सकेन । त्यसरी त्यो बेला वास्तवमा कमलजीको कारणले नै मेरो जीवन बचेको थियो ।
छिट्टै पार्टीमाथिको प्रतिबन्ध हट्यो । दोस्रो महाधिवेशनको तयारी सुरु भयो । महाधिवेशनको तयारीका सिलसिलामा रायमाझी प्यूठान आएका थिए । उनी बैधानिक राजतन्त्रका पक्षपाति थिए । उनको विचारबाट म पनि सहमत भएँ र बैधानिक राजतन्त्रको मतलाई समर्थन गरेँ । त्यस मतका साथ म महाधिवेशनमा गएको थिएँ ।पछि मलाई थाहा भयो कि कमलजी केन्द्रीय समितिमा गणतन्त्रको लाइनको पक्षमा हुनुहुन्थ्यो । महाधिवेशनमा गणतन्त्रको पक्षमा व्यापक वातावरण थियो । मैले गणतन्त्र पक्षका कैयौँ तर्कहरू सुनँे । त्यसपछि गणतन्त्र र बैधानिक राजतन्त्र मध्ये कुन मतलाई समर्थन गर्ने ? म दुविधामा परँे । तर केन्द्रीय समितिमा कमलजी गणतन्त्रको पक्षमा भएपनि महाधिवेशनमा उहाँले त्यो विचार प्रकट गर्नुभएन । महाधिवेशनको बेलामा रायमाझीको तीव्र विरोध भएको थियो । कतिपयले ता माझीलाई कुटपिट समेत गर्ने वा चक्कुले हान्ने समेत धम्की दिएका थिए । माझीमाथिको त्यस प्रकारको विरोधका कारणले कमलजी पनि माझीको पक्षमा उभिन पुग्नु भयो ।पछि केन्द्रीय समितिमा महामन्त्रीको चुनाव हुँदा कसले कसको पक्षमा भोट दियो ? त्यो ता थाहा हुन सकेन तर महाधिवेशनको बेलामा म तटस्थ रहेको भए पनि मैले गणतन्त्रको लाइनको पक्षमा नै मतदान गरें ।
महाधिवेशनले गणतन्त्रको लाइनलाई पारित गरेको थियो । त्यसकारण मैले त्यसलाई समर्थन गरिरहेँ रपछि केन्द्रीय समितिमा गणतन्त्र र बैधानिक राजतन्त्रका बीचमा मतभेद भयो । माझीको पक्ष बहुमतमा भयो र गणतन्त्रको पक्ष अल्पमतमा पर्‍यो । कमलजी बहुमतको पक्षमा उभिनुभयो भने म अल्पमतको पक्षमा । केन्द्रीय समितिमा लगातार त्यसबारे दुईलाइनको सङ्घर्ष चलिरह्यो ।पछि संविधानसभाको प्रश्नमा पनि दुईलाइनको सङ्घर्ष चल्यो । जसमा माझीको नेतृत्वको बहुमत त्यसका विरुद्ध थियो भने पुष्पलाल, शम्भुराम सहित हामीहरू संविधानसभाको पक्षमा अल्पमतमा थियौँ । यो कुरा बेग्लै हो कि पौष १ गतेको घटनापछि दरभङ्गामा भएको प्लेनममा पुष्पलाल, शम्भुरामहरूले पनि संविधानसभाको नारालाई छोड्नु भयो र केन्द्रीय समितिमा त्यसका पक्षमा म एकजना मात्र बाँकी रहँे । तर प्लेनमले अत्याधिक बहुमतले संविधानसभाको नारालाई पारित गरेको थियो ।
पौष १ गतेको घटनापछि म बनारसमा नै बस्न थालेँ । कमलजी गिरफ्तार भएर जेलमा हुनुहुन्थ्यो । त्यही बेला उहाँले जेलबाट पठाएको एउटा पत्रमा रायमाझीले दक्षिणपन्थी लाइन लिएको कुरा बताउनु भएको थियो । त्यसपछि उहाँ माझीको लाइनप्रति असन्तुष्ट हुँदै जानुभएको थियो ।
जस्तो कि मैलेमाथि बताएँ, तेस्रो महाधिवेशनपछि पैदा भएको पार्टीको अत्यन्त प्रतिकूल स्थितिमा उहाँले जेलमा बस्नुको कुनै औचित्यता देख्नु भएन । उहाँ क्रमशः निराश हुँदै र टुट्दै जानुभयो र जेलबाट समेत छुट्नु भयो । कपिलवस्तु, भैरहवा हुँदै मलाई काठमाडौँको सेन्ट्रल जेलमा चलान गरियो । म काठमाडौँ आउँदासम्म उहाँ जेलबाट छुटिसक्नु भएको थियो । जेलमा उहाँ स्वयं त मलाई भेट्न आउनु हुदैनथ्यो । तर विमलाजीलाई लगातार मलाई भेट्न पठाउनु हुन्थ्यो । २०२७ मा जेलबाट छुटेको एकवर्षपछि मेरा नाममा बारेन्ट काटियो र म भूमिगत भएँ । तर त्यो अवस्थामा पनि म प्रायशः उहाँलाई भेट्न जान्थँे र कतिपयपल्ट उहाँको घरमा समेत बस्ने गर्दथेँ । त्यो बेला पनि पार्टीप्रति उहाँको मनमा गहिरो आस्था थियो र पञ्चायतमा लागेकोमा उहाँलाई ठूलो दुःख र पश्चाताप थियो । उहाँले भन्ने गर्नुहुन्थ्यो ः पार्टी कैयौँ टुक्राहरूमा बाँडिएको थियो । म न पुष्पलालतिर जान सक्दथँे, न तुल्सीलालतिर, न त्यो बेला बनेका अरू विभिन्न ग्रूपहरूमा । त्यसरी मेरा अगाडि पार्टीका सबै ढोकाहरू बन्द भएका थिए । माझीले मलाई आफ्नो पार्टीमा आउन भनेका थिए । तर त्यो कुरा पनि मैले स्वीकार गर्न सकिन । त्यो अवस्थामा मैले पञ्चायतमा लाग्नु बाहेक अरू कुनै उपाय देखिन ।पछि भेट हुँदा पनि उहाँले मसित प्रायशः त्यस प्रकारका गुनासाहरू गरिरहनुहुन्थ्यो । उहाँ पार्टीबाट अलग हुनुभएको थियो । तर उहाँको मनमा सधैँ नै त्यसका लागि गहिरो पीडा थियो ।
त्यस प्रकारको पृष्ठभूमिमा, जस्तो कि मैलेमाथि लेखेँ, उहाँले अन्तमा पार्टीको सदस्यताका लागि दर्खास्त दिने निर्णय गर्नुभयो । त्यो बेला अरू कैयौँ सङ्गठनहरू पनि थिए । तर उहाँले नेकपा (मसाल)मा नै सदस्यताका लागि दर्खास्त दिने निर्णय गर्नुभयो । त्यसबेला उहाँले भन्नु भएको थियो ः ‘जुनबेला मैले पार्टी सदस्यताका लागि तपाईको दर्खास्त लिएँ, त्यो बेलादेखि तपाइँ अविचलित रूपले आफ्नो लक्ष्यतिर बढिरहनु भएको छ । त्यसैले तपाईहरूको पार्टीप्रति नै मेरो सबैभन्दा बढी आस्था र विश्वास छ । त्यसैले मैले तपाईको पार्टीमा नै सदस्यताका लागि दर्खास्त दिन्छु ।’
अब कमलजी हाम्रा बीचमा हुनुहुन्न । तैपनि मेरो मनमा सधैँ यो कुरा लागिरह्यो : उहाँ एउटा इमान्दार र कर्मठ कम्युनिष्ट हुनुहुन्थ्यो । पार्टीबाट उहाँको विचलन भए पनि त्यो एक प्रकारले परिस्थितिजन्य वाध्यता वा प्रतिकूल परिस्थितिका विरुद्ध दृढतापूर्वक सङ्घर्ष गर्ने उहाँमा भएको आवश्यक दृढताको अभावको नै परिणाम थियो र अन्तमा उहाँले पार्टीको सदस्यताका लागि दर्खास्त दिएर आफ्ना सबै गल्तिहरूलाई पखाल्नु भयो र अन्तमा एउटा कम्युनिष्टको रूपमा नै उहाँको मृत्यु भयो । त्यसैले हामीले उहाँप्रति उच्च सम्मानका साथ श्रद्धाञ्जली प्रकट गर्दछौँ ।
उहाँको मृत्युले हामी सबैका लागि, नेपालको कम्युनिष्ट आन्दोलनका लागि र सायद संसारभरका कम्युनिष्टहरूका अगाडि एउटा गम्भीर प्रश्न छोडेर गएको छ ः एउटा इमान्दार कम्युनिष्टको पनि कम्युनिष्ट आन्दोलनबाट किन विचलन हुने गर्दछ ? त्यसको जबाफ हामीले खोज्नै पर्दछ र त्यसको सही जबाफमाथि नै कम्युनिष्ट आन्दोलनको भविष्य निर्भर गर्नेछ । यदि भविष्यमा पनि उहाँ जस्ता इमान्दार कम्युनिष्टहरूको विचलन हुने सिलसिला कायम रहने हो भने त्यसले क्रान्तिकारी कम्युनिष्ट आन्दोलनलाई धेरै नै क्षति पुर्‍याउने कुरा निश्चित छ । हामीले त्यस सिलसिलालाई रोक्ने प्रयत्न गर्नु पर्दछ । तर त्यो कार्य सजिलो छैन । सयकडौँ, हजारौँ कारणहरूले इमान्दार कम्युनिष्टहरूलाई पनि पतनको दिशामा लैजाने गर्दछन् ।
लेनिनले भनेका छन्, एउटा क्रान्तिकारी कम्युनिष्टको सबैभन्दा ठूलो गुण यो हो र हुनुपर्दछ ः क्रान्तिकारी आन्दोलनमा निरन्तरता । कतिपय व्यक्तिहरूले केही खास समयका लागि ठूला ठूला क्रान्तिकारी त्याग र बलिदान पनि गर्दछन् । दृढताको प्रदर्शन पनि गर्दछन् । तर उनीहरू लगातार आफ्नो बाटोमा अगाडि बढ्न सक्दैनन् । अहिले हाम्रा अगाडि भएका कैयौँ कम्युनिष्टहरू, हाम्रा सहयोद्धा र सहयात्रीहरूबारे विचार गर्दा यो प्रश्न उठ्छ ः के उनीहरू निरन्तर आफ्नो लक्ष्यमा बढिरहन सक्ने छन् ? त्यो परीक्षा मृत्युको घडीसम्म चलिरहन्छ । त्यो बेला नै यो कुराको फैसला हुन्छ ः ऊ लगातार र निरन्तर रूपले आफ्नो लक्ष्यमा बढ्न सक्ने हो वा बीच बाटामा नै उसको कतै विचलन हुने हो ? हामी सबै त्यस प्रकारको परीक्षाको प्रक्रियामा छौँ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री भट्टराई विरुद्ध सर्वोच्चमा रिट दायर
प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री भट्टराई विरुद्ध सर्वोच्चमा रिट दायर
कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत
कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत
काठमाडौँका १५२ उम्मेदवारले चुनावी खर्च विवरण बुझाए, कसको कति ?
काठमाडौँका १५२ उम्मेदवारले चुनावी खर्च विवरण बुझाए, कसको कति ?
चितुवाको छालासहित दुई पक्राउ
चितुवाको छालासहित दुई पक्राउ
विश्वमा ८० प्रतिशतको देखिएन कुनै लक्षण
विश्वमा ८० प्रतिशतको देखिएन कुनै लक्षण
नेपालमै ब्यवसाय गरेर मासिक १० लाख कमाउने यी युवापुस्ताबाट  केही सिक्ने कि ?
नेपालमै ब्यवसाय गरेर मासिक १० लाख कमाउने यी युवापुस्ताबाट केही सिक्ने कि ?
राजनीतिक हस्तक्षेपका कारण सरकारी निकायप्रति अविश्वास : रवि लामिछाने
राजनीतिक हस्तक्षेपका कारण सरकारी निकायप्रति अविश्वास : रवि लामिछाने
अध्यक्षको म्यान्डेट लिएर बजेट बनाइएको हो : जनार्दन शर्मा
अध्यक्षको म्यान्डेट लिएर बजेट बनाइएको हो : जनार्दन शर्मा
विश्व पर्यटन दिवस : दर्शनीयस्थल काँहूडाँडा प्रवद्र्धन गरिदै
विश्व पर्यटन दिवस : दर्शनीयस्थल काँहूडाँडा प्रवद्र्धन गरिदै
संघीय गणतन्त्रका पक्षधर जो–कसैसँग पनि तालमेल हुन सक्छ : प्रचण्ड
संघीय गणतन्त्रका पक्षधर जो–कसैसँग पनि तालमेल हुन सक्छ : प्रचण्ड

तपाईंले छुटाउनुभयो कि?