“हजुरआमा अनि यादहरु”

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ४, २०७४
|
|
५७९ पटक हेरिएको
Shares
“हजुरआमा अनि यादहरु”

सारांश

  • बाहिर टन्टलापुर घाम लागिरह्यो ।
  • मैले झ्याल खोलें, सररर हावा चल्यो ।
  • शरिरको तापमा केहि शितलता दियो त्यो हावाको झोकाले ।

बाहिर टन्टलापुर घाम लागिरह्यो । मैले झ्याल
खोलें, सररर हावा चल्यो । शरिरको तापमा केहि
शितलता दियो त्यो हावाको झोकाले । जब मैले
झ्याल बाहिरका केहि दृष्यहरु देखें … एउटा अनौठो
आभाष महसुस भयो । अनि मन एक तमासको भयो ।
बाहिर अम्बाको बोट, गोबर ग्यासको खाडी,
मकैका केहि बोटहरु, झ्याम्मिएका केहि फर्सिका
लहराहरु, साना-साना खोर्सानीका बोट अनि
केहि तरुलका थाङ्ग्राहरु आँखामा नाचि रहे । …
यिनै भित्र देखें मैले मेरी हजुरआमाको आकृति … ।
जहाँ हावा संगै लहराइ रहनु भा थियो केहि मलिन-
मधुर भएर … ।

एक्कासि मलाइ केहि आवाज गुञ्जिएको भान
भयो- … “हैन, त कत्ती सुत्न सकेको त्यो कोठा
भित्र ? बारीका मकै जति सबै सुँगाले खाइ सके …
छिटो तल आइज …”
म हतार हतार तल ओर्लिएँ … ।
न त्यहाँ मैले हजुरआमाको आकृति देखें, न त पाँए
वहाँको शितलता नै … ।
अझै कति यादहरु ताजै रहेछन् … ।
नचाहदा नचाहदै नि केहि थोपा आँसुहरु खसि हाले
… ।
अनि, झलझली केहि अतितहरु आँखा वरिपरी नाच्न
थाले । ….

हजुरआमाले मलाइ :- ” नाती … एता आइज त …”
म वहाँको छेउमा गएँ र बसें । अनि वहाँले भन्नु भयो:-
” हेर त, यो तेरो बुवाले उसको बिहेमा लगाको दौरा
सुरुवाल … अनि यो स्टकोट र ढाकाको टोपी … ।
तँलाइ यो ठिक हुन्छ । तेरो बाउ नि तँ जत्रै त थियो
त्यसको बिहेमा … ।”
म निरुत्तर भइ सुन्दै थिएँ हजुरआमाका कुरा … । वहाँ
भन्दै हुनुहुन्थ्यो :- “तेरो बहिनीको नि बिहे गरियो,
अब मलाइ तेरो बिहे गर्न मन छ नाती … मलाइ
नातिने बुहारीको मुख हेर्न मन छ ।” …
त्यहि बेला हजुरबुवा मेरो छेउमा आइ हातका औलाहरु
हेर्दै भन्दै हुनुहुन्थ्यो :- ” तेरो बिहेमा मलाइ नि
सम्दिले औठी लगाइ दिन्छन् होला है ” …
हजुरबुवाका खाली औलाहरु हेर्दै मेरा आँखा
रसाएका थिए … ।
मेरो एकाग्रता भङ्ग गर्दै हजुरआमा फेरी भन्न थाल्नु
भयो :- ” हेर त नाति, यो नौ गेडी … मैले नातिने
बुहारीका लागि भनि साँचेर राखेको … अनि यो
तिल्हरी म उसलाइ भित्र्याउँदा लगाइ दिनेछु … ” …

वहाँका इच्छा र सपनाहरुको संसारबाट बाहिरिन
नपाउदै फेरी आवाज आयो माथि कोठा बाट :- “ए
नाती … ए नाती हौ … कता छस् तँ ? मलाइ यहाँ
सार्हो भयो, उठ्नै सकिन … छिटो आइज त …”
म आत्तीदै माथि कोठामा पुगें ।
अनि फेरी गुञ्जिए केहि आवाजहरु केहि मधुर भएर…
“मलाइ बोकेर तल लैजा त … हेर न मलाइ के भो के भो
… उठ्नै सकिन । जिउ कटकटी खाइरहेछ … स्वास फेर्नै
गार्हो भो …”

म फेरी तल ओर्लिएँ … अनि हेरें त्यहि ठाउँ, जहाँ
राखिएको थियो मेरी हजुरआमाको लाश … । …
फोरी सम्झन्छु – यो केठा, यो बारी अनि तल
सिकुवा र आँगन संगको सम्बन्ध … र तिनै अतितहरु …
अब त झनै ह्वारह्वार्ती आँसु खस्न थाले … ।
तर यो पटक रोक्ने कोसिस गरिन …
केहि क्षण बगिरहन दिएँ वहाँकै नामका आँसुहरु …।
मन एक तमासको भयो, हजुरआमाका ति यादहरु संगै
… ।

अझै पनि मन्द मन्द हावा चलिरहेछ …
झ्याल खुल्लै छ … झ्याल बाहिर देखिने मेरा अतित म
संगै बगिरहेछ … ।
मेरा अंग अंगमा परेका हावाका झोकाले नि रोक्न
सकेनन् शरिरका चिसा पसिनाहरु … ।
न त रोकिए आँखा बाट खसेका आँसुहरु नै … । …
शब्दहरु :- अमन थापा

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?