उठन आनाकानी गर्दैगर्दा चीनका पूर्व राष्ट्रपति हु जिन्ताओलाई पार्टी कंग्रेसबाट बाहिर निकालियो
सारांश
- काठमाडौ ।
- चीनका भूतपूर्व राष्ट्रपति हु जिन्ताओलाई बेइजिङमा जारी चिनियाँ कम्युनिस्ट पार्टीको कङ्ग्रेसबाट बाहिर निकालिएको छ।
- राष्ट्रपति सी जिन्पिङसँगै बसिरहेका ७९ वर्षीय नेता निकै कमजोर देखिएका थिए।
काठमाडौ । चीनका भूतपूर्व राष्ट्रपति हु जिन्ताओलाई बेइजिङमा जारी चिनियाँ कम्युनिस्ट पार्टीको कङ्ग्रेसबाट बाहिर निकालिएको छ।
राष्ट्रपति सी जिन्पिङसँगै बसिरहेका ७९ वर्षीय नेता निकै कमजोर देखिएका थिए। अधिकारीहरूले उनी बसेको ठाउँमा पुगेर हुलाई बाहिर निकालेको भए पनि त्यसको कारणबारे केही खुलाइएको छैन।
चिनियाँ कम्युनिस्ट पार्टीको यो अधिवेशनबाट राष्ट्रपति सी जिन्पिङलाई ऐतिहासिक तेस्रो कार्यकालका लागि निर्वाचित गर्ने ठानिएको छ।
प्रत्येक पाँच वर्षमा राजधानी बेइजिङमा हुने अधिवेशनले सीलाई माओ त्सेतुङपछिका सबैभन्दा शक्तिशाली नेताको रूपमा स्थापित गरेको छ।
सन् २००३ देखि २०१३ बीचमा चीनको राष्ट्रपति रहेका हु जिन्ताओलाई अधिकारीहरूले मञ्चबाट बाहिर लैजाँदै गर्दा उनले राष्ट्रपति सीलाई केही भनेका थिए। प्रतिक्रियामा राष्ट्रपति सीले टाउको हल्लाएर सहमति जनाएको देखिन्छ।
त्यसपछि हुलाई अधिकारीहरूले कुम समातेर डोहोर्याउँदै ग्रेट हल अफ द पीपलबाट बाहिर लगे।

उठ्न ‘आनाकानी’
बीबीसीका चीन संवाददाता स्टीभन मक्डोनलका अनुसार पूर्वराष्ट्रपतिलाई हलबाट बाहिर जान भनिएको भिडिओ दृश्यले विश्वभरि ध्यानाकृष्ट भएको भए पनि चिनियाँ सरकारी पक्षले त्यसबारे कुनै प्रतिक्रिया दिएको छैन।
भिडिओमा हुले आफू बसिरहेको ठाउँबाट उठ्न आनाकानी गरेको देखिन्छ। यदि यस्तै भएको हो भने त्यो किन भन्ने प्रश्न उठेको मक्डोनल बताउँछन्।
उनले आफूलाई बाहिरिन आग्रह गरिरहेका अधिकारीलाई के भने र बाहिरिँदै गर्दा राष्ट्रपति सीलाई के भने र सँगै रहेका प्रधानमन्त्री ली कछ्याङलाई धाप मार्दै के भने भन्ने अनेकौँ अनुमान गरिएको छ।
उनी बाहिरिनुको कारणबारे विशेषतः दुई किसिमका अनुमान गरिएको छ।
चीनमा जारी शक्ति सङ्घर्षको विषय सतहमै आएको हुनसक्ने वा उनलाई कुनै गम्भीर स्वास्थ्य समस्या भएको हुनसक्ने ठानिएको छ।
उनलाई स्वास्थ्य समस्या नै भएको भए किन आकस्मिक रूपमा बाहिर लगियो भन्ने प्रश्न गरिएको छ।बिबिसी
प्रतिक्रिया