रास्वपाको राजनीतिक दस्तावेज : पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली, राजनीतिक मार्ग बहुलवादी लोकतान्त्रिक
सारांश
- काठमाडौं।
- स्पष्ट राजनीतिक विचारधारा नभएको आरोप खेप्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजनीतिक दस्तावेजको प्रस्तावना पारित गरेको छ।
- सोमबारदेखि महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले राजनीतिक दस्तावेजको प्रस्तावना मात्रै पारित गरेको हो।
काठमाडौं। स्पष्ट राजनीतिक विचारधारा नभएको आरोप खेप्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजनीतिक दस्तावेजको प्रस्तावना पारित गरेको छ। सोमबारदेखि महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले राजनीतिक दस्तावेजको प्रस्तावना मात्रै पारित गरेको हो।
तर आफू गणतन्त्रप्रति प्रतिबद्ध रहेको पनि प्रतिवेदनमार्फत स्पष्ट पारे पनि संघीयता र धर्म निरपेक्षतामा स्पष्ट भएकाे छैन। उसले प्रदेश संरचनाको आवश्यकता नभएको भनी गत निर्वाचनमा प्रदेश तहमा उम्मेदवारी नै दिएको थिएन। त्यसैले संघीयताप्रति यस दलको दृष्टिकोण अझै स्पष्ट हुन सकेको छैन।
यस्तै, धर्म निरपेक्षता वा सापेक्षताका विषयमा राष्ट्रिय रूपमै विवाद र बहस भइरहेका बेला संसद्को चौथो ठूलो शक्तिका रूपमा रहेको दलको धारणाका बारेमा प्रतिवेदनमा स्पष्ट पारिएको छैन। तर, सनातन सभ्यता र धार्मिक-सांस्कृतिक विविधतामा आधारित सहअस्तित्व र पारस्परिक सम्मान गर्ने प्रतिवेदनमा उल्लेख छ ।
रास्वपाले आफ्नो मुख्य तीन राजनीतिक मान्यतालाई अघि सारेको छ। राजनीतिक प्रस्तावनामा सामाजिक न्याय, उदार अर्थतन्त्र र बहुलवाद गरी तीन मान्यता अघि सारेको छ।
रास्वपाले ‘राष्ट्रिय स्वतन्त्र पार्टी सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी भएको जनाएको छ।
शान्तिपूर्ण मार्गबाट समाजवादका प्रधान लक्ष्यहरू प्राप्त गर्ने निर्देशक सिद्धान्त बनाएको उल्लेख गर्दै पारित प्रस्तावनामा लेखिएको छ, ‘राष्ट्रिय नीति तथा कार्यक्रमका आधारमा राज्य सञ्चालनको अठोटलाई संवैधानिक समाजवादका रूपमा व्याख्या गर्दै अप्रिय ऐतिहासिक विरासतका रूपमा विद्यमान लैंगिक, जातीय, वर्गीय, क्षेत्रीयलगायत सबै प्रकारका संरचनात्मक विभेदहरूविरुद्ध निर्णायक सम्बोधन गर्न अवसरहरूको न्यायिक वितरण, पहुँच र उपयोगमा जोड दिइनेछ।’ प्रस्तावनामा रास्वपालाई सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टीका रूपमा चित्रित गरिएको छ।
पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली अपनाउने रास्वपाको दस्तावेजमा उल्लेख छ। जवाफदेहीपूर्ण असल शासनमार्फत समन्यायिक समावेशी समाज निर्माण गर्ने रास्वपाको लक्ष्य बनाइएको छ।
लोक कल्याणकारी राज्यको सुनिश्चितताका लागि सार्वजनिक, निजी र सामुदायिक स्रोत-साधनको दिगो परिचालन गर्दै उद्यममैत्री, लगानीअनुकूल प्रतिस्पर्धात्मक सामाजिक बजार अर्थतन्त्रको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई सदा अक्षुण्ण राख्नु नै राष्ट्रिय स्वतन्त्र पार्टीको अभीष्ट रहने प्रस्तावनामा उल्लेख छ।
रास्वपाले नेपालको इतिहास, सनातन सभ्यता, धार्मिक-सांस्कृतिक विविधतामा आधारित सहअस्तित्व र पारस्परिक सम्मानमा विश्वास गर्ने प्रस्तावनामा उल्लेख गरेको छ।
यसैबीच रास्वपाले केन्द्रीय समितिमा नरहेका सबै सांसदलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ। यसअघि रास्वपाका २१ (उपसभामुखसहित) मध्ये ६ जना सांसद मात्र केन्द्रीय समितिमा थिए।
बुधबार भएको निर्णयपछि बाँकी १४ जना सांसद स्वतः केन्द्रीय सदस्य बनेका छन्। सांसदबाट थपिएका केन्द्रीय सदस्यहरूमा डा. स्वर्णिम वाग्ले, विराजभक्त श्रेष्ठ, मनीष झा, हरि ढकाल, शिशिर खनाल, सन्तोष परियार, अशोक चौधरी, विनिता कठायत, लक्ष्मी तिवारी, चन्दा कार्की, शिव नेपाली, निशा डाँगी, तोसिमा कार्की र असिम शाह छन्।
यसअघि नै केन्द्रीय सदस्य रहेका सांसदहरूमा सभापति लामिछानेसहित डिपी अर्याल, गणेश पराजुली, सोविता गौतम, सुमना श्रेष्ठ र विन्दवासिनी कंशाकार छन्।
रास्वपाले सांसद स्वर्णिम वाग्लेलाई उपसभापति बनाएको छ। वाग्लेलाई पार्टीमा तेस्रो वरीयता दिइएको छ। यस्तै, सहमहामन्त्रीमा कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्य चयन भएका छन्।
बैठकले संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठ चयन गरेको छ। पार्टी कोषाध्यक्ष लिमा अधिकारी, सहकोषाध्यक्ष वसुमाया तामाङ र दीपक बोहरा तोकेको छ। पार्टीका सहप्रवक्तामा मनीष झा, प्रतिभा रावल, रमेश प्रसाईं रहेका छन् । यस्तै, विवेकशील पार्टीका पूर्वनेता पुकार बमलाई पनि केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ
प्रतिक्रिया