परराष्ट्रमन्त्रीद्वारा ‘पासपोर्ट’ सार्वजनिक
सारांश
- काठमाडौं- परराष्ट्रमन्त्री कृष्णबहादुर महराले राहदानी लिने प्रक्रियाका विषयमा सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले तयार गरिएको सन्देशमुलक वृत्तचित्र ‘पासपोर्ट’ सार्वजनिक गरेका छन्।
- राहदानी विभागमा शुक्रबार एक कार्यक्रमबीच उनले वृतचित्र सार्वजनिक गरेका हुन्।
- राहदानी विभागको सक्रियतामा तयार पारिएको उक्त वृत्तचित्रमा राहदानी लिन आवश्यक प्रक्रिया तथा कन्सुलर सेवा विभागबाट प्रवाह गरिने सेवाका विषयमा पर्याप्त जानकारी उपलब्ध गराइएको छ।
काठमाडौं- परराष्ट्रमन्त्री कृष्णबहादुर महराले राहदानी लिने प्रक्रियाका विषयमा सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले तयार गरिएको सन्देशमुलक वृत्तचित्र ‘पासपोर्ट’ सार्वजनिक गरेका छन्। राहदानी विभागमा शुक्रबार एक कार्यक्रमबीच उनले वृतचित्र सार्वजनिक गरेका हुन्।
राहदानी विभागको सक्रियतामा तयार पारिएको उक्त वृत्तचित्रमा राहदानी लिन आवश्यक प्रक्रिया तथा कन्सुलर सेवा विभागबाट प्रवाह गरिने सेवाका विषयमा पर्याप्त जानकारी उपलब्ध गराइएको छ। २४ मिनेट लामो वृत्तचित्रको सार्वजनिक भएसँगै सर्वसाधारणले इन्टरनेटबाटै राहदानी तथा कन्सुलरसम्बन्धी जानकारी प्राप्त गरी लाभ लिने विश्वास लिइएको छ।
वृत्तचित्र विभागको वेबसाइट, युट्युब, फेसबुकलगातका सामाजिक सञ्जालमा हेर्न सकिने विभागले जनाएको छ। कार्यक्रमपछि मन्त्री महराले नारायणहिटीस्थित राहदानी विभागको कार्यबारे जानकारी लिएका थिए। उनले लाइभ इनरोलमेन्ट सेन्टर, राहदानी आवेदन फारम प्रशोधन कक्ष, गुनासो व्यवस्थापन शाखा तथा गुणस्तर परिक्षण शाखाको अवलोकन गरेका थिए। परराष्ट्रमन्त्री महराले विभागको कामकारबाहीलाई सेवाग्राही मैत्री बनाउन निर्देशन दिए।
कार्यक्रममा परराष्ट्र सचिव शंकरदास बैरागीले विभागको कार्यसम्पादन, विद्यमान समस्या र भविष्यमा आउन सक्ने नीतिगत तथा व्यावहारिक चुनौतीबारे जानकारी दिएका थिए। विभागका महानिर्देशक रामजी खड्काले विभागबाट प्रवाह हुने सेवा र त्यसमा देखिएका समस्याबारे मन्त्रीलाई जानकारी गराएका थिए।
प्रतिक्रिया