‘बन्दुक चलाउने हातले माटो छुँदैन’भन्नेहरू नै माटोमा रमाउन थाले

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २३, २०७३
|
|
१३३ पटक हेरिएको
Shares
‘बन्दुक चलाउने हातले माटो छुँदैन’भन्नेहरू नै माटोमा रमाउन थाले

सारांश

  • ‘बन्दुक चलाउने हातले माटो छुँदैन’ सेवा निवृत्त सैनिक कर्मचारीमा केही वर्ष पहिलेसम्म यस्तै भ्रम थियो।
  • अवकाशपछि उनीहरूको पहिलो रोजाइ वैदेशिक रोजगारीमा सुरक्षागार्ड नै हुन्थ्यो ।
  • पेन्सन भएसँगै धेरैजसो राजीनामा दिएर विदेश जाने गर्थे तर तीन वर्षयता भने उनीहरूको जीवनमा निकै परिवर्तन आएको छ।

‘बन्दुक चलाउने हातले माटो छुँदैन’ सेवा निवृत्त सैनिक कर्मचारीमा केही वर्ष पहिलेसम्म यस्तै भ्रम थियो। अवकाशपछि उनीहरूको पहिलो रोजाइ वैदेशिक रोजगारीमा सुरक्षागार्ड नै हुन्थ्यो ।

पेन्सन भएसँगै धेरैजसो राजीनामा दिएर विदेश जाने गर्थे तर तीन वर्षयता भने उनीहरूको जीवनमा निकै परिवर्तन आएको छ। अवकाश तथा पेन्सनपछि राजीनामा दिएर विदेश जान चाहनेभन्दा स्वदेशमै स्वरोजगार गर्नेहरूको सङ्ख्या बढेको छ । नेपाली सेना कल्याणकारी बोर्डले नेपाल इन्भेस्टमेन्ट बैङ्कसँगको सहकार्यमा २०७० सालबाट लघुकर्जा कार्यक्रम सञ्चालनमा ल्याएपछि भूपू सैनिकको जीवन शैलीमा परिवर्तन आएको हो । यो खबर आजको गोरखापत्रमा छ।

‘बन्दुक चलाउने हातले माटो छुँदैन’ भन्नेहरू नै माटोमा रमाउन थालेका छन् । सुर्खेत पातलगङ्गास्थित नेसनल फ्रेस हाउसका सञ्चालक जब्बर श्रेष्ठले भने, “पहिला बङ्गुर भन्नेबित्तिकै घिन लाग्थ्यो तर अहिले जिल्लाका लागि नै बङ्गुरविज्ञ जस्तै भएको छु। ” करिब २० वर्ष हतियारसँग रमाएका श्रेष्ठ अहिले भने बङ्गुरसँग रमाइरहेका छन् ।

लघुकर्जा कार्यक्रम अन्तर्गत चार प्रतिशत ब्याजदरमा ऋण लिएर कृषि व्यवसाय अन्तर्गत तरकारी खेती, भैंसी, बाख्रा, कुखुरा, बङ्गुर र हाँसपालन, रेस्टुराँ, किराना पसल, ब्युटीपार्लर सञ्चालन र विभिन्न घरेलु उद्योग व्यवसाय सञ्चालन गर्ने पूर्व सैनिकको सङ्ख्या साढे १२ हजार पुगेको छ । बैङ्कले लघुकर्जा कार्यक्रम अन्तर्गत भूपू सैनिकको आयआर्जनका लागि सहुलियत ब्याजमा एक लाख (व्यक्तिगत)देखि एक करोड (सामूहिक) रुपियाँसम्म ऋण उपलब्ध गराएपछि विदेशमा रहेका भूपू सैनिक पनि स्वदेशै फर्केर कृषि तथा व्यापार व्यवसाय गर्न थालेको कल्याणकारी बोर्ड लघुकर्जा कार्यक्रमका समन्वयकर्ता पूर्वउपरथी धनीदास कार्कीले बताए ।

मुलुकभर नेपाली सेनाबाट निवृत्त सैनिक कर्मचारीको सङ्ख्या करिब ६८ हजार र बहालवाला सैनिकको सङ्ख्या ९६ हजार छ। बहालवाला र पूर्व सैनिक कर्मचारीका परिवारको सङ्ख्या करिब आठ लाख रहेको सेनाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?