जिन्दगीको मिठो मोडमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १८, २०७५
|
|
२० पटक हेरिएको
Shares
जिन्दगीको मिठो मोडमा

सारांश

  • सविन प्रियासन म जिन्दगीको मिठो मोडमा उभिएको छु ।
  • हिँजोसम्म जिन्दगीलाई हेर्ने नजरिया फरक थियो ।
  • सामान्यरुपमा जिन्दगीका पदचापहरु अगाडि बढिरहेका थिए ।

सविन प्रियासन

म जिन्दगीको मिठो मोडमा उभिएको छु । हिँजोसम्म जिन्दगीलाई हेर्ने नजरिया फरक थियो । सामान्यरुपमा जिन्दगीका पदचापहरु अगाडि बढिरहेका थिए । दिन अनि रातलाई केवल समयचक्रका रुपमा लिन्थे । घडीको सुइँले गति पकड्नु उसको कर्तव्यभित्र पर्छ भन्ने सोंच्थे । जिन्दगीका बहुआयामिक आयामहरुसँग पैठेजोरी गर्दै अगाडि बढ्ने उद्देश्य थियो तर सार्थक गन्तव्यको पहिचान थिएन ।

मुटुको धड्कनसँगै सास लिन्थें, छाड्थे तर जिउनुको अर्थ पनि थाहा थिएन । आज हरेक कुराको अर्थ भेटाएको छु । दिन र रातको महत्व बुझेको छु । जब एक्लो हुन्छु अनि लाग्छ, घडीले मेरै लागि रफ्तार पकडिरहेको छ । रात मेरै लागि छिटोछिटो दिनमा परिणत हुन खोजिरहेको छ । ताराहरुले मेरै लागि शुभ दिनको कामना गर्दै आशीर्वाद दिइरहेका छन् । मेरो खुशीमा जुन रमाई रहेको छ । किराहरु पनि मलाई सान्त्वना दिन चिच्याइरहेका छन् । बादल आकाशमा लुकामारी खेल्दै मलाई शितलता प्रदान गर्न लालायित छ ।

बिहानीको झुल्के किरणसँगै म मेरो प्रिय मान्छेसँग आजकाल दिनहुँ भेट्छु । ऊसँगको भेट मेरो लागि स्वर्गको सुखसयल, अमनचयन अनि खुशीभन्दा पनि ठूलो सन्तुष्टिको कारण बनिदिन्छ । उसका मृगनयनहरु जब मेरा आँखाहरुमा ठोकिन्छन्, शरीरमा पर्छन्, तब अमृतपान गरेसरी ममा यति धेरै शक्तिको सञ्चार हुन्छ कि संसार आफ्नो हत्केलामा उठाउन सक्छु जस्तो लाग्छ । म फुर्तिलो बन्छु । उसको मधुर मुस्कानले मेरो मुहारमा चार्मिङ थप्ने काम गर्छ । उसको सुरिलो बोली ऊसँगको टाढा हुँदा सहजरुपमा बस्न सक्ने आदर्श वाणी बनिदिन्छ । मायापिरतीको संसाररुपि यो बगैचामा केवल उसको लागि मात्र म फुलेको छु । हाँसेको छु अनि रमाइरहेको छु जस्तो लाग्छ ।

आखिर किन ? आखिर किन ? के मैले पनि उसलाई मन पराउन, माया गर्न, थालेकै हो ? के यसैलाई प्रेम भन्छन् ?

जिन्दगी मेरो हो, तर मसँग छैन । ऊसँग जोडिएपछि मात्र म पूरा हुन्छु जस्तो लाग्छ । ऊबिना साँचै अधुरो, अपुरो छु कि जस्तो लाग्छ । टाढिएका एकपल पनि व्यतीत गर्न उसकै झझल्कोको सहारा लिनुपर्ने भयानक रोगबाट ग्रसित छु । यस्तो अवस्थाबाट मलाई मुक्ति दिने औषधि नै उसको सामिप्यता हो ।

हे प्रभु ! जसरी म उसको लागि सारा संसार बिर्सन तयार छु, त्यसैगरी ऊ पनि मेरो लागि हाँसीहाँसी संसारसँग जुध्नसक्ने बनि देओस् । मेरो मनको आँगनमा उसले आफ्नो सपनाको महल छिटोभन्दा छिटो ठडाइदियो ? हे प्रभु ! म ऊबिनाको संसार कल्पना समेत गर्न नसक्ने अवस्थामा पुगेको छु । त्यसैले ममाथि क्रूरताका ज्वारभाटाहरु फैलाउने काम कदापि नगर्नू । बरु यसको बदलामा म तिमीलाई अर्को जूनीको भेटका रुपमा चढाउने छु । तर यो जूनीमा मलाई ऊसँगै जीवन बिताउने भाग्यरेखा कोरिदिनू । म पलपल उसको सारथि बनेर प्रेमको पूजा गर्नेछु । कदम कदममा साथ दिएर प्रगतिपथमा लम्कनका लागि म उसको प्रेरणा बन्नेछु ।

(नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष समेत रहेका साहित्यकार प्रियासनको प्रकाशोन्मुख उपन्यास “लक्की चार्म”को अंश)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?