साझा यातायातले चीनबाट विद्युतीय बस ल्याउने, सरकारलाइ लेख्याे यस्ताे पत्र !

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २३, २०७५
|
|
२२ पटक हेरिएको
Shares
साझा यातायातले चीनबाट विद्युतीय बस ल्याउने, सरकारलाइ लेख्याे यस्ताे पत्र !

सारांश

  • काठमाडौं, २३ जेठ ।
  •   सवारी साधनको अत्याधिक चापका कारण राजधानी उपत्यकाको वातावरण मानव स्वास्थ्यको लागि घातक बन्दै गइरहेको समयमा साझा यातायातले चीनबाट विद्युतीय बस ल्याउन पहल सुरु गरेको छ ।
  • प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणका बेला यात्रुबाहक विद्युतीय बस नेपाल ल्याउने विषयलाई भ्रमणको एजेण्डामा समावेश गर्न साझा यातायातले सरकारलाई आग्रह गरेको हाे ।

काठमाडौं, २३ जेठ ।  सवारी साधनको अत्याधिक चापका कारण राजधानी उपत्यकाको वातावरण मानव स्वास्थ्यको लागि घातक बन्दै गइरहेको समयमा साझा यातायातले चीनबाट विद्युतीय बस ल्याउन पहल सुरु गरेको छ ।

प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणका बेला यात्रुबाहक विद्युतीय बस नेपाल ल्याउने विषयलाई भ्रमणको एजेण्डामा समावेश गर्न साझा यातायातले सरकारलाई आग्रह गरेको हाे ।

साझा यातायातले नेपाल सरकारलाई पत्र नै लेखेर प्रम ओलीको चीन भ्रमणका क्रममा वातावरणमैत्री यात्रुबाहक ठूला बस ल्याउने विषयलाई एजेण्डामा समावेश गर्न आग्रह गरेको हो ।
राजधानी काठमाडौं विश्वकै प्रदुषित शहर मध्ये एक हो । प्रदुषण मध्ये ३२ प्रतिशत हिस्सा सवारी साधनबाट हुँदै आएको तथ्याङ्क छ । सरकारले वातवारण नियन्त्रणका लागि २० वर्षे पुराना सवारी साधन हटाउने निर्णय गरेपनि हालसम्म प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । सवारी साधनले फ्याकेको धुवाले मानव स्वास्थ्य बिग्रदै जाँदा गृहमन्त्री राम बहादुर थापा बादल र वातावरण मन्त्री शक्ति बहादुर बस्नेत आफै सडकमा उत्रिएर सवारी साधनको धुवा जाँच गरिरहेका छन् ।

छिमेकी मुलुक भारत सरकारले राजधानी नयाँदिल्लीमा सन् २०३० देखि पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विस्थापित गरेर त्यसको ठाउँमा विद्युतीय सवारी साधन भित्र्याउने निर्णय गरिसकेको छ ।
काठमाडौंको बढ्दो प्रदुषण नियन्त्रण गर्न अव्यवस्थित सार्वजनिक सवारी साधनलाई व्यवस्थित गर्न ढिलोचाँडो विद्युतीय सवारी साधन भित्राउनुको विकल्प नभएको अवस्थामा साझा यातायातले प्रम ओलीको यस पटकको भ्रमणमा यात्रुबाहक ठूला विद्युतीय सवारी साधन नेपाल भित्राउने विषयलाई भ्रमणको एजेण्डा बनाउन माग गरेको हो ।

वातावरण मन्त्रालयका अनुसार उक्त पत्रमा एउटा विद्युतीय बसले १० वर्षमा करिब २५ करोड रुपैयाँको फाइदा पु¥याउने निष्कर्षसहित सरकारसँग मिलेर साझा यातायातले चीनबाट विद्युतीय सवारी साधन भित्राउन तयार रहेको उल्लेख गरिएको छ । साझा यातायातले वातावरण मन्त्रालयमा बुझाएको पत्रमा चीन विद्युतीय सवारी साधन उत्पादन गर्ने विश्वकै ठुलो मुलुक भएकोले चीनसँग सरकारी तहमै सम्झौता गरेर त्यस्तो बसहरु आयात गर्न माग गरेको छ । पत्रमा भनिएको छ, ‘गत वर्ष त्यस मन्त्रालयको तर्फबाट ग्लोबन ग्रिन ग्रोथ इन्टिच्यूट र साझा यातायातले संयुक्त रुपमा काठमाडौंमा बिजुली बसको पूर्वसम्भाव्यता अध्ययन गरेको अवगत नै छ । त्यस अध्ययनले काठमाडौंमा बिजुली बस सञ्चालन गर्न सम्भव भएको र बजारमा उपलब्ध भएका बसहरु प्राविधिक तथा सञ्चालन कुशलताका दृष्टिकोणबाट उपयुक्त भएका अध्ययनले देखाएको छ । सो अध्ययनले बिजुली बसको मूल्य डिजेलबसको भन्दा बढि भएता पनि दीर्घकालमा सञ्चालन खर्च कम हुने, स्थानीय उर्जाको प्रयोगबाट विदेशी डिजेल आयात हुने डिजेलमाथिको परनिर्भरता घटने र वातावरण र जनस्वास्थ्य तथा अर्थतन्त्रमा समेत सकारात्मक असर पर्ने निस्कर्ष निकालेको छ । ’

साझा यातायातले चीनमा निर्भित बिजुली बस खरिदका लागि आर्थिकरुपमा तत्काल सम्भव नभएको भन्दै बैदेशिक सहयोगको लागि पहल गर्न आग्रह गरिएको छ । पत्रमा अगाडि भनिएको छ, ‘बैदेशिक सहयोग जुटाउनको लागि नेपाल सरकारबाट पहल भइदिएमा सहयोगका सम्भावनाहरु बढ्ने कुरामा साझा विश्वस्त रहेको छ । यसै सन्दर्भमा आगामी महिना सम्माननीय प्रधानमन्त्रीज्यूको मित्र राष्ट्र चीनको भ्रमण हुन गइरहेकोले यस भ्रमणमा जलवायु परिवर्तन र यसका कारक तत्वहरु नियन्त्रण र न्यूनिकरणका विषयमा छलफल हुने सम्भावना रहेको छ । यसै बिषयको एउटा पुरक विषयको रुपमा काठमाडौ उपत्यकाको प्रदुषण नियन्त्रण र बिजुली बस सञ्चालनको आवश्यकता पनि सम्माननीय प्रधानमन्त्रीज्यूको छलफलको एजेण्डामा पर्न सकेमा बिजुलीबाट सञ्चालन हुने बसहरुका विषयमा चीन सरकारको सहयोगका लागि चिनियाँ पक्षसँग छलफल सम्भव हुने देखिएको हुँदा यस सम्बन्धमा पहल गरिदिनुहुनका लागि हार्दिक अनुरोध छ ।’

साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले गत जेठ २१ गते नेपाल सरकारलाई लेखेको पत्रमा सरकारी सहयोगमा विजुली बस भित्राएर काठमाडौंमा चलाउन चाहेको उल्लेख गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?