पुनर्जीवन पाउँदै हेटौँडा कपडा उद्योग ‘सेनाको प्राविधिक टोलीद्वारा सम्भाव्यता अध्ययन र पूर्वाधारको काम सुरु’

Asmita-Newsdesk Asmita-Newsdesk
|
बुधबार, आषाढ ३१, २०८३
|
|
३० पटक हेरिएको
Shares
पुनर्जीवन पाउँदै हेटौँडा कपडा उद्योग ‘सेनाको प्राविधिक टोलीद्वारा सम्भाव्यता अध्ययन र पूर्वाधारको काम सुरु’

सारांश

  • नेपालको ऐतिहासिक औद्योगिक धरोहरका रूपमा रहेको हेटौँडा कपडा उद्योगलाई ब्युँताउने सरकारी प्रयासले अन्ततः मूर्त रूप लिन थालेको छ।
  • वि.
  • सं.

नेपालको ऐतिहासिक औद्योगिक धरोहरका रूपमा रहेको हेटौँडा कपडा उद्योगलाई ब्युँताउने सरकारी प्रयासले अन्ततः मूर्त रूप लिन थालेको छ। वि.सं. २०५६ सालदेखि पूर्ण रूपमा ठप्प प्रायः बनेको यस सरकारी उद्योगलाई नयाँ जीवन दिनका लागि यतिखेर उद्योग परिसरमा तीव्र गतिमा प्रारम्भिक तयारीका कार्यहरू अघि बढाइएका छन्।

नेपाली सेनाको प्राविधिक टोली र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको प्रत्यक्ष अग्रसरतामा हेटौँडा औद्योगिक क्षेत्रभित्र यो पुनरुत्थानको काम सुरु गरिएको हो। लामो समयदेखि बन्द रहेका राष्ट्रिय उद्योगहरूलाई पुनः सञ्चालनमा ल्याउने सरकारको नीतिअनुरूप उद्योगलाई उत्पादनमुखी बनाउन यो कदम चालिएको हो।

बन्द अवस्थामा रहेका मेसिन र भवनहरूको वास्तविक अवस्था पहिचान गर्न हाल पहिलो चरण अन्तर्गत उद्योग परिसरको झाडी सफाइ र थुप्रिएका फोहोर हटाउने कार्य भइरहेको छ। उद्योग सञ्चालनका लागि अनिवार्य मानिने विद्युत जडान तथा प्रसारण लाइन व्यवस्थित गर्ने कामलाई पनि सँगसँगै तीव्र पारिएको छ।

यी आधारभूत पूर्वाधारको काम सम्पन्न भएलगत्तै नेपाली सेनाको प्राविधिक टोलीले उद्योगभित्र रहेका पुराना मेसिन, भौतिक संरचना र उपकरणहरूको विस्तृत प्राविधिक मूल्याङ्कन तथा परीक्षण गर्नेछ। तत्पश्चात् मेसिनहरूको मर्मतसम्भार गरी उद्योगलाई पुनः व्यावसायिक उत्पादनको दिशामा अगाडि बढाइने योजना छ।

चीन सरकारको सहयोगमा स्थापना भई वि.सं. २०३५ सालदेखि उत्पादन सुरु गरेको यो उद्योगले कुनै समय एक हजार दुई सयभन्दा बढी नागरिकलाई रोजगारी दिँदै स्वदेशी कपडामा देशलाई आत्मनिर्भर बनाउन ठूलो योगदान दिएको थियो। यसको पुनरुत्थानले मुलुकको अर्थतन्त्र र आन्तरिक उत्पादनमा पुनः नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ