निर्वाचित भएको एक वर्षमा सांसद बस्नेतले दिए शुभकामनासहित आफूले थालेका कामको जानकारी

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २२, २०७५
|
|
३१ पटक हेरिएको
Shares
निर्वाचित भएको एक वर्षमा सांसद बस्नेतले दिए शुभकामनासहित आफूले थालेका कामको जानकारी

सारांश

  • काठमाडौं ।
  • नेपालमा संघीय संसदको निर्वाचन भएको एक वर्ष पूरा भएको छ ।
  • एक वर्ष पूरा भएको अवसरमा नेकपाका केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आफ्ना मतदाता तथा शुभेच्छुकलाई धन्यवादसहित शुभकामना दिएका छन् ।

काठमाडौं । नेपालमा संघीय संसदको निर्वाचन भएको एक वर्ष पूरा भएको छ । एक वर्ष पूरा भएको अवसरमा नेकपाका केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आफ्ना मतदाता तथा शुभेच्छुकलाई धन्यवादसहित शुभकामना दिएका छन् ।

सांसद बस्नेतले एक वर्षमा आफूले थालनी गरेका कामसहित गतिविधिको विषयमा विज्ञप्ति मार्फत जानकारी गराएका छन् । आफूले संघीय संसद समक्ष सपथ लिएपश्चात मूलतः जनताका प्रतिनिधिहरुका हैसियतले राष्ट्रिय राजनीतिदेखि जिल्लाको समग्र विकासमा क्रियाशील हुँदै आएको अवगत गराएका छन् ।

‘खासगरी भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित जनप्रतिनिधिका रुपमा संघीय संसदमा राष्ट्रिय तथा जिल्लाका विभिन्न जनसरोकारका बिषयबस्तुमा संघीय संसदमार्फत आम नागरिकका प्रतिनिधिमूलक आवाज उठाउँदै आएको जगजाहेर छ’ विज्ञप्तिमा भनिएको छ, ‘यो बीचमा प्रदेश ३ को स्थायी राजधानी भक्तपुर हुनुपर्ने माग सहित अन्तर्राष्ट्रिय स्तरको खेलमैदान, सम्मेलन केन्द्र भक्तपुरमा निर्माण गर्नको निम्ति आधार तयार गर्ने काम पनि भएको छ ।’

२०७५ असार २७ गते बाढीबाट भक्तपुर डुबान पर्दा प्रत्यक्ष रुपमा प्रभावितहरुको पीडामा सहानुभूति प्रकट गर्नुका साथै अकल्पनीय क्षति न्यूनीकरण गर्न विशेष पहल थालिएको विज्ञप्तिमा उल्लेखछ ।
प्राकृतिक विपत्तिलाई नियन्त्रण गर्न दुवै नगरपालिकामा ढल व्यवस्थापन गरिएको छ, सयौं सौर्य बत्ति जडान गरिएको छ ।

८१ करोडको लागतमा हनुमन्ते करिडोर निर्माणको पहिलो चरणको कार्य थालनी भइसकेको छ भने ऐतिहासिक महत्वको हनुमन्ते नदी सरसफाइ अभियानले ४० हप्ता पार गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।

राजधानी जोड्ने अरनिको राजमार्ग व्यवस्थित बनाउने अभियान अन्तर्गत एकमहिने राजमार्ग सरसफाइ अभियान निरन्तरता दिइएको, जडिबुटीमा विद्यमान सवारी जामलाई अन्त्य गर्न वैकल्पिक मार्गको पहिचान गरी व्यवस्थापन गर्ने काम अगाडि बढेको छ ।

सांसद बस्नेतले आफ्नो कामका बारेमा जानकारी दिंदै भनेका छन्, ‘गठ्ठाघरमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउने निर्णय हुनुको साथै कोटेश्वर र साँगामा सुरुङमार्ग निर्माण प्रक्रिया अगाडि बढेको छ । यसैगरी, पेप्सीकोला देखि सल्लाघारी २० मिटरको सडक निर्माण, सूर्यविनायकदेखि धूलिखेलसम्मको ६ लेनको सडक लगायत सडक सञ्जाल निर्माण कार्य अगाडि बढेको छ ।

यसैक्रममा मनोहरा खोलामा ३ वटा तथा हनुमन्ते नदीमा ५ वटा पूल निर्माण तथा विभिन्न ९ वटा पूल र ३ वटा झोलुङ्गे पुल, ४ वटा ट्रष्ट ब्रिज बनाउने कार्य अगाडि बढेको छ । यस्तै, दर्जनौ खानेपानी आयोजनामा बजेट व्यवस्थापन तथा जिल्लामा दीर्घकालिन खानेपानीको व्यवस्थापन गर्न साँगा र मुहान पोखरीमा ठूलो ड्याम निर्माण गर्ने र बालकोट देखि जगातीसम्म मध्यपुरको खानेपानी व्यवस्थापन गर्न बजेट विनियोजन गरिएको छ ।’

यसैगरी ठिमीको निलबाराही क्षेत्रलाई पर्यटनको गन्तव्य घोषणा गर्दै बजेट व्यवस्थापन र नगरकोटदेखि साँगा–नैचाल–घ्याम्पे डाँडा र अनन्तलिङ्गेश्वर क्षेत्रलाई ग्रामीण पर्यटकीय क्षेत्र घोषणा गरी भ्यू टावर, होम स्टे, बञ्जी जम्प, पराग्लाइडिङ लगायतको व्यवस्थापन गर्नको निम्ति प्रक्रिया अगाडि बढेको छ ।

विश्वसम्पदा सूचीमा परेको भक्तपुर दरबार क्षेत्र, चाँगु नारायण र मध्यपुर ठिमीको बालकुमारी, चपाचो, बोडे, नगदेश र सूर्यविनायकको सम्पदा बस्ती व्यवस्थापन गर्न श्रोत व्यवस्थापन गर्न पहल भएको छ भने भूकम्पबाट क्षतिग्रस्त १४ वटा विद्यालय र २२ वटा मठमन्दिर, गुम्बा निर्माण प्रक्रिया अगाडि बढेको छ ।

जिल्लामा २ वटा स्मार्ट सिटीको डिपिआर सम्पन्न हुने क्रममा रहेको छ भने सिपाडोल, नंखेल, ताथली, सुडालमा नयाँ शहर र हनुमन्ते करिडोरको लोकन्थलीदेखि राधेराधेसम्मको क्षेत्रलाई समेटेर नयाँ शहर निर्माण गर्ने योजना अगाडि बढिसकेको छ ।

भक्तपुरमै बीर अस्पताल निर्माण गर्ने डिपिआर प्रक्रिया सकिएको छ भने भक्तपुरमा स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने र सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर बृद्धि तथा निजी क्षेत्रको सहकार्यमा शिक्षामा व्यापक सुधार प्रक्रिया अगाडि बढेको छ ।

यसैगरी चालू आर्थिक बर्षका लागि सांसद विकास कोषको लागि विनियोजित ४ करोड रकम भक्तपुर क्षेत्र नम्बर २ अन्तर्गतका दुईवटा नगरपालिका सूर्यविनायक तथा मध्यपुरको विभिन्न क्षेत्रको भौतिक विकासका निम्ति समानुपातिक रुपमा विनियोजन गरिएको छ । यसको निम्ति सहजीकरण समिति समेत गठन गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?