महिलामैत्री नगरबस सञ्चालन गर्दै उपमहानगरपालिका
सारांश
- नेपालगञ्ज उपमहानगरपालिकाले महिलामैत्री बस सञ्चालनको तयारी गरेको छ ।
- करीब रु साढे तीन करोडमा साता बस खरीद गरी सञ्चालनका लागि कार्य्विधि निर्माणकार्य भइरहेको उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले जानकारी दिनुभयो ।
- उहाँका अनुसार, उपमहानगरपालिकाले ई–बिडिङमार्फत साना तीन बस रु एक करोड २९ लाख ७४ हजार ७०० र ठूला चार बस रु दुई करोड १५ लाख ७६ हजारमा खरीद गरेको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाले महिलामैत्री बस सञ्चालनको तयारी गरेको छ । करीब रु साढे तीन करोडमा साता बस खरीद गरी सञ्चालनका लागि कार्य्विधि निर्माणकार्य भइरहेको उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले जानकारी दिनुभयो । उहाँका अनुसार, उपमहानगरपालिकाले ई–बिडिङमार्फत साना तीन बस रु एक करोड २९ लाख ७४ हजार ७०० र ठूला चार बस रु दुई करोड १५ लाख ७६ हजारमा खरीद गरेको हो । खरीद गरिएका बस एक महीनादेखि उपमहानगरपालिकामै थन्किएका छन् । उपमहानगरलाई अन्य नगर तथा गाउँपालिकासँग जोड्ने गरी महिलामैत्री बस सञ्चालन गरिने उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले जानकारी दिनुभयो ।
बस सेवा सञ्चालनका लागि उपमहानगरपालिकाले कार्य्विधि निर्माणसँगै चालक छनोट प्रक्रिया पनि अघि बढाएको छ । मङ्गलबार चालक छनोटका लागि प्रयोगात्मक परीक्षा लिइएको रिजालले जानकारी दिनुभयो । चालक छनोट प्रक्रियालाई पारदर्शी र निष्पक्ष बनाउन यातायात व्यवस्था कार्यलय, ट्राफिक प्रहरी कार्यालय, यान्त्रिक कार्यालयको सहयोगमा प्रयोगात्मक परीक्षा (ट्रायल) लिइएको उहाँले बताउनुभयो ।
यातायात व्यवस्था कार्यालयबाट सवारी चालक अनुमतिपत्र लिएको भए पनि भर्ना प्रक्रियालाई पारदर्शी बनाउन पुनः ट्रायल लिइएको प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले उल्लेख गर्नुभयो । अहिले नेपालगञ्जदेखि कोहलपुर, खजुरा, जानकी, डुडुवालगायतका स्थानीय तहमा सार्वजनिक बस सञ्चालन हुँदै आएका छन् । उपमहानगरपालिकाले पनि यही रुटमा बस सञ्चालनको तयारी गरेको छ ।
नेपालद्वारा मलेसिया ७ विकेटले पराजित
ज्ञानेन्द्र मल्लको विस्फोटक ब्याटिङसँगै नेपालले मलेसियालाई ७ विकेटले हराएको छ र टी–२० विश्वकप छनोटको एसिया फाइनलमा पहिलो जित हात पारेको छ ।
वर्षाका कारण ९ ओभरमा छोट्याइएको खेलमा मलेसियाले दिएको ८४ रनको लक्ष्य नेपालले ६ बल बाँकी छँदा ३ विकेट गुमाएर भेट्टायो ।
नेपालका मल्लले अर्धशतक बनाए । आक्रामक पारी खेलेका उनले २१ बलको सामना गरेका उनले ५ चौका र ३ छक्काको मदतमा ५१ रन बनाएका हुन् ।
यसअघि टस हारेर ब्यटिङको निम्तो पाएको मलेसियाले ९ ओभरमा ७ विकेट गुमाएर ८३ रन बनाएको थियो । उसका सफिक शरीफले १५ बलमा ३० रन बनाए भने भिरनदीप सिंहले २१ रन जोडे पनि अन्य ब्याट्सम्यान चलेनन् ।
सोमपाल कामीले ३ विकेट लिए भने बसन्त रेग्मीले २ विकेट आफ्नो नाममा लेखाए ।
क्रिकेट रङ्गशाला निर्माणका लागि इच्छाकामनामा सहयोग समिति गठन
चितवनको भरतपुर महानगरपालिका–१५ स्थित रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको सहयोगका लागि इच्छाकामना गाउँपालिकामा सहयोग समिति गठन गरिएको छ । मङ्गलबार गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङको संयोजकत्वमा ४६ सदस्यीय गाउँपालिकास्तरीय सर्वपक्षीय सहयोग समिति गठन गरिएको हो ।
समितिमा जनप्रतिनिधि, उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, पत्रकारलगायत छन् । गाउँपालिका अध्यक्ष गुरुङले समग्र जिल्लाको गौरवका लागि सबै मिलेर गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको कामलाई सफल बनाउन सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले रङ्गशाला निर्माणको सहयोगका लागि चितवनका सबै स्थानीय तहमा समिति गठन गरिने बताउनुभयो ।
सामाजिक अभियानकर्मी कलाकार ‘धुर्मुस–सुन्तली फाउण्डेशन’का अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले दुई वर्ष्भित्रै क्रिकेट रङ्गशाला निर्माण सम्पन्न गर्ने बताउनुभयो । उहाँले सबैको साथ र सहयोग आवश्यक रहेको बताउँदै आफ्नो मानसपटलमा रङ्गशाला निर्माण सम्पन्न भइसकेकाले कुनै द्विविधा नराख्न आग्रह गर्नुभयो ।
समिति निर्माणका लागि गाउँपालिकामा फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’सहित जिल्ला समन्वय समितिका प्रमुख डल्लाकोटी, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष यामबहादुर परियार र नेपाली काङ्ग्रेसका सभापति जीतनारायण श्रेष्ठलगायतको उपस्थिति थियो ।
यसअघि रङ्गशाला निर्माण गर्न चितवनमा सर्वपक्षीय पाँच हजार एक सदस्यीय मूल सहयोग समिति गठन भइसकेको छ । गाउँपालिकाका राजनीतिक दल, सङ्घसंस्था, व्यवसायी र स्थानीयवासीले रङ्गशाला निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
यसैबीच रङ्शालाको निर्माणकार्य मङ्गलबारबाट पुनः शुरु भएको छ । सडक विस्तारको माग गर्दै केही असन्तुष्ट स्थानीयवासीले जेठ १५ गते रङ्गशालाको केही तारबार भत्काएपछि निर्माणकार्य स्थगित भएको थियो । त्यसपछि भएको विभिन्न चरणको छलफल र सरोकारवाला पक्षको आग्रहपछि धुर्मुस–सुन्तली फाउण्डेशनले पुनः काम शुरु गरेको हो । फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मुस, प्रदेश सांसद विजय सुवेदीलगायतले पुनः रङ्गशाला निर्माणको कामले निरन्तरता पाएको बताउनुभयो ।
केही दिनमै जिल्लाका विभिन्न स्थानमा घरदैलो अभियान सञ्चालन गर्ने, प्रतिबद्धता घोषणा भएको रकम जतिसक्दो चाँडो हस्तान्तरण गर्न अनुरोध गर्ने तथा विभिन्न समिति निर्माणलाई पनि तीव्रता दिने फाउण्डेशनले जनाएको छ । रङ्गशाला निर्माणको लागत रु तीन अर्ब अनुमान गरिएको छ ।
प्रतिक्रिया