बेलायतमा भारतीय मुलकी प्रीति गृहमन्त्री, पाकिस्तानी मुलका साजिद अर्थमन्त्री नियुक्त

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ९, २०७६
|
|
२२ पटक हेरिएको
Shares
बेलायतमा भारतीय मुलकी प्रीति गृहमन्त्री, पाकिस्तानी मुलका साजिद अर्थमन्त्री नियुक्त

सारांश

  • बीबीसी।
  • भारतीय मुलकी प्रीति पटेल बेलायतकी नयाँ गृहमन्त्री बन्ने भएकी छन्।
  • साजिद जाविदलाई गृहमन्त्रीबाट हटाएर अर्थ मन्त्री बनाइएको छ।

बीबीसी। भारतीय मुलकी प्रीति पटेल बेलायतकी नयाँ गृहमन्त्री बन्ने भएकी छन्। साजिद जाविदलाई गृहमन्त्रीबाट हटाएर अर्थ मन्त्री बनाइएको छ। साजिद जाविद पाकिस्तानी मुलका हुन्। अर्थात अब बेलायतमा गृहमन्त्री भारतीय मुलका र अर्थमन्त्री पाकिस्तानी मुलका बनेका छन्। बुधबार प्रधानमन्त्रीको पद सम्हालेका बोरिस जनसनले नयाँ मन्त्रिमण्डल गठन गरेका छन्। डोमिनिक राबलाई विदेश मन्त्रालयको जिम्मा दिइएको छ।

दुई वर्ष पहिला एक विवादपछि प्रीति पटेलले टेरीजा सरकारबाट राजीनामा दिनु परेको थियो। तर अब उनी फेरि सरकारमा महत्वपूर्ण मन्त्रालयसहित आएकी छन्।
४७ वर्षीया प्रीतिको जन्म लन्डनमा भएको थियो। उनका आमा–बुवा भारतको गुजरातका हुन्। तर पछि उनीहरु युगाण्डा गएका थिए। १९६० को दशकमा उनीहरु बेलायतमा आएर बसेका थिए। प्रीति पटेल निकै कम उमेरमा कन्जर्भे्टिभ पार्टीमा संलग्न भएकी थिइन्। त्यो बेला उनको उमेर मात्र २० वर्षको थियो। त्यतिबेला जन मेजर बेलायतका प्रधानमन्त्री थिए।

२०१७ मा आफ्नो निजी इजरायल भ्रमणलाई लिएर विवाद उत्पन्न भएपछि प्रीति पटेलले इन्टरनेशनल डेभलपमेन्ट सेक्रेटरी पदबाट राजीनामा दिनु परेको थियो। अगस्त २०१७ मा निजी पारिवारिक छुट्टीमा इजरायल भएकी थिइन्। उनले प्रधानमन्त्री बेन्यामिन नेतत्याहू र अन्य पदाधिकारीसँग पनि भेट गरेकी थिइन्। यसको जानकारी उनले बेलायत सरकार र इजरायलमा रहेको बेलायती दूतावासमा गराएकी थिइनन्। कन्जर्भे्टिम पार्टीमा उनलाई शसक्त नेताका रुपमा हेर्ने गरिएको छ।

४९ वर्षीय साजिद जाविद पाकिस्ताी मुलको परिवारमा बेलायतमा जन्मिएका हुन्। २०१८ मा जब टेरीजा मे बेलायतको प्रधानमन्त्री बनिन् तब उनलाई गृह मन्त्री बनाइएको थियो। उनी बेलायतमा पहिलो जातीय अल्पसंख्यक समुदायबाट गृहमन्त्री बन्ने व्यक्ति बनेका थिए। उनी २०१० देखि ब्रुम्सग्रोभबाट सांसद छन्। उनको जन्म रकडेलमा एउटा पाकिस्तानी परिवारमा भएको हो।

आफ्नो परिवारका विषयमा उनले ईभिनिङ स्टेण्डर्डलाई भनेका थिए, ‘मेरा बुवा पाकिस्तानको एक सानो गाउँबाट आउनु भएको हो, उहाँ केवल १७ वर्षको उमेरमा काम गर्न बेलायत आउनु भएको थियो।’ उनले अगाडि भनेका छन्, ‘मेरा बुवा रकडेलमा बस्नु भयो र एउटा कपडा मिलमा काम गर्नु भयो।

तर उहाँ महत्वकाँक्षी हुनुहुन्थ्यो। उहाँले के अनुभव गर्नु भयो भने ड्राइभरलाई राम्रो तलब हुन्छ। त्यसपछि उहाँ ड्राइभर बन्नु भयो। उहाँ दिन वा रात जति बेला काम मिल्छ गर्नुहुन्थ्यो। त्यही कारण उहाँलाई ‘मिस्टर नाइट एण्ड डे’ को नामले पनि चिनिन्थ्यो।’

बेलायती प्रधानमन्त्रीको शक्ति र जिम्मेवारी यस्ता छन्
ब्रिटेनमा सत्ताधारी कन्जरभेटिभ पार्टीको नयाँ नेता चुनिएका बोरिस जोनसनले प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गरेका छन्। बकिङघम दरबारमा महारानी एलिजावेथ द्वितीयालाई भेटेपछि प्रधानमन्त्री कार्यालय तथा निवास टेन डाउनिंग स्ट्रिटमा फर्किएर जोनसनले देशवासीका नाममा सम्बोधन गरे।

त्यसक्रममा आफूलाई महारानीले नयाँ सरकार गठन गर्न निम्तो दिएको र आफूले त्यसलाई स्वीकार गरेको उनले बताए। साथै जोनसनले युरोपेली संघबाट ब्रिटेनको बहिर्गमनका लागि नयाँ सम्झौता गर्ने र युरोपसँगको भावी सम्बन्ध खुला व्यापार र आपसी सहयोगमा केन्द्रीत बनाउने उल्लेख गरे।

प्रधानमन्त्री सरकार प्रमुख हुन् र उनलाई महारानीले नियुक्त गर्ने्छिन्। ब्रिटेनमा सामान्यतयास् आम निर्वाचनमा विजयी पार्टीको नेता नै प्रधानमन्त्री हुने चलन छ।
मन्त्रीहरू नियुक्त गर्नु प्रधानमन्त्रीको काम हो। थोरै सांसदहरूले मात्र मन्त्रीको भूमिका पाउँछन्। वरिष्ठ मन्त्रीहरू मात्र मन्त्रीपरिषद्को सदस्य बन्न पाउँछन् ।

प्रधानमन्त्रीले कुनै पनि समयमा मन्त्री नियुक्त गर्न र हटाउन सक्छन्। उनले मन्त्रालयहरू खारेज गर्न र नयाँ बनाउन पनि पाउँछन्। चान्सलर अफ एक्सचेकर भनिने अर्थमन्त्रीका साथ प्रधानमन्त्री कर र व्यय नीतिको हर्ताकर्ता पनि हुन्। प्रधानमन्त्रीले नयाँ कानुनहरू ल्याउन पनि सक्नेछन् तर संसद्ले तिनलाई समर्थन गर्नुपर्छ। प्रधानमन्त्री सरकारका सबैखाले नीति र निर्णयहरूका लागि जिम्मेवार हुन्छन्।

सरकारी निर्णयहरू कार्यान्वयन गर्ने व्यक्तिहरू तथा विभागहरू रहने नागरिक प्रशासन प्रधानमन्त्रीको समग्र नियन्त्रणमा रहन्छ। प्रशासनले नै नाइटहुड र डेमहुड लगायत मान, पदवी, तक्मा, पुरस्कारहरूबारे निर्णय गर्छन्। तिनीहरूले लर्ड भनिने संसदको माथिल्लो सभाका मनोनित सदस्यहरू पनि नियुक्ति गर्न सक्छन्।

प्रतिरक्षा र सुरक्षासँग सम्बन्धित धेरै प्रकारका जिम्मेवारी पन िप्रशासनकै हुन्छ। उदाहरणका लागि, उनीहरूसँग यूकेको सेनालाई परिचालन गर्ने शक्ति हुन्छ। तर हालैको प्रचलन अनुसार त्यस्तो सेना परिचालनको निर्णयलाई संसदीय अनुमोदन प्राप्त हुनु पर्छ।

कतिपय विशेष जिम्मेवारी पनि प्रधानमन्त्रीकै काँधमा हुन्छ। जस्तो कि अपहरणमा परेको वा नचिनिएको हवाई जहाजलाई आक्रमण गरेर खसाल्ने वा नखसाल्ने भन्ने जस्ता निर्णयहरू। उनीहरूले यूकेको परमाणु हतियारको प्रयोगलाई पनि अनुमोदन गर्न सक्छन्। यस्तो शक्ति भए पनि ब्रिटेनका प्रधानमन्त्रीले आफूखुशी जे पनि निर्णय गर्न पाउँदैनन्।

त्यसका लागि उनले बहुमत सांसदहरूको विश्वासको मत लिनुपर्ने हुन्छ। किनकी विधेयक पारित हुन बहुमत सांसदको भोट आवश्यक पर्दछ। यदि सरकार संसदमा पटक पटक पराजित भएमा सांसदहरूले प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव पेस गर्न सक्छन्। यदि प्रधानमन्त्रीले अविश्वासको प्रस्तावमाथिको संसदीय मतदानमा हारे भने देशमा आम निर्वाचन गर्नुपर्ने हुन पनि सक्छ।

यदि प्रधानमन्त्रीको पार्टीले आम निर्वाचन हारे भने उनले राजीनामा दिनुपर्छ र विजयी पार्टीको नेतालाई प्रधानमन्त्री बन्न बाटो बनाइदिनु पर्छ। यदि प्रधानमन्त्रीले देशको हीत विरूद्ध काम गरेका छन् भन्ने लागेमा, सैद्धान्तिक रूपमा , महारानीसँग प्रधानमन्त्रीलाई बर्खास्त गर्ने शक्ति छ। तर त्यसले संवैधानिक संकट पैदा गर्नसक्छ।

बोरिस जोनसनले कन्जरभेटिभ पार्टीका सांसद र साधारण सदस्य दुवैको समर्थन पाउनु आवश्यक थियो। सुरूमा १० जना टोरी सांसदहरू सम्भावित प्रधानमन्त्रीका रूपमा मनोनित भए। तर कन्जरभेटिभ सांसदहरूको श्रृङ्खलाबद्ध गोप्य मतदानहरूले त्यो संख्यालाई दुईमा झार्दै बोरिस जोनसनर जेरमी हन्टलाई अन्तिम प्रतिष्पर्धी बनाए। टोरी पार्टीका सदस्यहरूले भोट दिनु पूर्व दुवैजना विभिन्न बहसमा सामेल भएका थिए।

यसको अर्थ हो करिब १ लाख ६० हजार मानिसले ६ करोड ५० लाख भन्दा बढी जनसंख्याका लागि नेता चुनेका थिए भन्ने हो। बोरिस जोनसनले ९२ हजार १ सय ५३ भोट ल्याए भने जेरमी हन्टले ४६ हजार ६ सय ५६ भोट ल्याए। अधिकांश कन्जरभेटिभ पार्टीका सदस्यहरू ५५ वर्ष माथिका छन् र अधिकांश उच्च सामाजिक वर्गबाट आएका छन्।

नयाँ प्रधानमन्त्री चयन गर्नका लागि आम निर्वाचन नै हुनुपर्छ भन्ने जरुरी हुँदैन। कन्जरभेटिम पार्टी पहिले देखि नै सत्तामा छ र जबसम्म बोरिस जोनसनले बहुमत सांसदको समर्थन प्राप्त गर्छन् नयाँ आम चुनाव गर्नु पर्दैन।

यदि उनले कुनै बेला चुनावको घोषणा गर्न चाहे भने दुई तिहाई सांसदको समर्थन आवश्यक पर्छ। टरिजा मेको बहिर्गमनका बावजुद ब्रेक्जिट समस्या हल हुने सम्भावना धेरै टाढा छ।

छिमेकी युरोपेली देशहरू र यूकेको सम्बन्धको भविश्यलाई परिभाषित गर्ने समाधानका साथ आएका बोरिस जोनसनलाई त्यसले निक्कै व्यस्त बनाउनेछ। उनले हालको सम्झौतामाथि पुनस् छलफल सुरु गर्ने संकल्प गरेका छन्। जसलाई मेले तीन पटकसम्म संसदबाट पारित गराउन असफल भइन्।

ब्रेक्जिटका लागि तोकिएको मिति अगावै एउटा संशोधित सम्झौतामा सहमति हुन्छ भन्ने कुनै प्रत्याभूति छैन। तर जोनसनले भने ३१ अक्टोबरमा यूके नयाँ सम्झौताका साथ वा कुनै सम्झौता विना नै युरोपेली संघबाट बाहिरिने बताएका छन्।

प्रधानमन्त्री सन् १७३५ देखि नै ब्रिटेनका प्रधानमन्त्रीको निवास रहँदै आएको लण्डनस्थित टेन डाउनिङ स्ट्रिटमा बस्छन्। तर यस्मा केही अपवाद पनि छन्। सन् १९९७ मा आफ्नो हुर्कंदो परिवार भएकाले टोनी ब्लेयरले १० नम्बरको दाँजोमा केही ठूलो र फराकिलो नम्बर ११ को घर लिएका थिए।

यसका अतिरिक्त प्रधानमन्त्रीसँग एउटा सरकारी निवास पनि हुन्छ। चेकर्स भनिने त्यो ग्रामिण आवास उनले जुनसुकै बेला प्रयोग गर्न सक्छन्। बोरिस जोनसनले एउटा सरकारी प्रधानमन्त्रीय कार पाउँछन्। हालका लागि यो ’जागुअर एक्सजे सेन्टिनल’ मोडलको रहेको छ जस्लाई प्रधानमन्त्रीको आवश्यकता अनुसार निर्माण गरिएको हो। हालका लागि ब्रिटेनका प्रधानमन्त्रीको वार्षिक तलब १ लाख ५० हजार ४ सय २ पाउन्ड तोकिएको छ। बीबीसीबाट

गोपनीयता बिवादमा फेसकबुकलाई अहिलेसम्मकै ठूलो रकम जरिवाना
गोपनीयतासम्बन्धी चासोहरूको व्यवस्थापन गर्न सामाजिक सञ्जाल फेसबुकले हालसम्मकै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नुपर्ने अमेरिकी अधिकारीले बताएका छन्। अमेरिकाको संघीय व्यापार आयोग (एफटीसी)का अनुसार फेसबुकले ५ अर्ब डलर जरिवाना तिर्नेछ। फेसबुकले गोपनीयता हेर्ने एउटा स्वतन्त्र समिति पनि बनाउनु पर्नेछ।

उक्त समितिमा फेसबुकका संस्थापक तथा प्रमुख मार्क जकर्बर्गको नियन्त्रण रहने छैन। एफटीसीले राजनीतिक परामर्शदाता कम्पनी क्याम्ब्रिज एनालिटिकाले ७ करोड ८० लाख फेसबुक प्रयोगकर्ताहरूको डेटा प्राप्त गरेको आरोपको जाँच गरेको थियो।

उक्त जाँचमा ’फेसियल रिकग्निसन’ भनिने अनुहार चिनिने प्रविधिलगायतलाई पनि सामेल गरियो। कुनै पनि कम्पनीले प्रयोगकर्ताको गोपनीयता उल्लङ्घन गरेको आरोपमा ५ अर्ब डलर जरिवाना तिरेको पहिलो पटक हो।

एफटीसीका अध्यक्ष जो सिमोन्सले भने, “विश्वभरका अर्बौ प्रयोगकर्तालाई पटक(पटक प्रतिबद्धता जनाएर पनि फेसबुकले उनीहरूको व्यक्तिगत विवरण कसरी साझा गर्ने भनेर नियन्त्रण गर्न सक्छ। फेसबुकले उपभोक्ताको छान्न पाउने हकलाई कम गरिदिएको छ।“

उनले फेसबुकले हाल गरिरहेको गोपनीयताको उल्लङ्घनलाई कम गर्न र फेसबुकमा पूर्ण रूपले गोपनीय संस्कृति विकास गर्न ठूलो जरिवाना लगाइएको बताए।

बुधवार सार्वजनिक फेसबुकको वित्तिय विवरणले चाहिँ गोपनीयताबारेका चिन्ताहरूले ग्राहकहरूमा खासै प्रभाव नपारेको देखाएको छ।

उसले यस वर्षको दोस्रो त्रैमासमा मासिक सक्रिय प्रयोगकर्ता ८ प्रतिशले बढेको जनाएको छ। विश्लेषकहरूको अनुमान विपरित यसको विज्ञापनबाट हुने आम्दानी २८ प्रतिशतले बढेको छ।

सन् २०१८ को मार्चमा एफटीसीको उपभोक्ता संरक्षण ब्युरोले फेसबुकमाथि अनुसन्धान थालेको थियो। उक्त अनुसन्धानपश्चात् व्यक्तिगत डेटाहरू एउटा अनलाईन क्वीजमार्फत् जम्मा गरेर क्याम्ब्रिज एनालिटिकालाई बिक्री गरिएको पाइएको थियो।

त्यो डेटा सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतीय चुनाव र यूकेको ब्रेक्जिट जनमतसङ्ग्रहको नतिजा प्रभावित पार्न प्रयोग गरिएको दाबी पनि गरिएको थियो। यद्यपि २ लाख ७० हजार मानिसले मात्र उक्त क्वीजमा सहभागिता जनाएका थिए।

एकजना अधिकारकर्मीले अमेरिकीसहित करिब ५ करोड प्रयोगकर्ताहरूको डेटा उनीहरूलाई थाहा नदिइकन उनीहरूका साथीहरूको सञ्जालबाट जम्मा गरिएको आरोप लगाएका थिए।

तर क्याम्ब्रिज एनालिटिका मात्र उपभोक्ताहरूको डेटामा पहुँच र्पुयाउने कम्पनी थिएन। फेसबुकको पूर्वाधार प्रयोग गरेर अन्य धेरै कम्पनीहरूले पनि फाइदा लिएका थिए।

गत अक्टोबरमा क्याम्ब्रिज एनालिटिका डेटा विवादमा फेसबुकको भूमिकालाई लिएर यूकेको डेटा संरक्षणबारे हेर्ने निकायले फेसबुकलाई ५ लाख पाउन्ड जरिवाना तिराएको थियो। बीबीसीबाट

मालिंगापछि श्रीलंकाका अर्का तीव्र गतिका बलरले पनि गरे सन्यासको घोषणा
एजेन्सी । श्रीलंकाका तीव्र गतिका बलर नुवान कुलसेकराले पनि सन्यासको घोषणा गरेका छन्। श्रीलंकाका महत्वपूर्ण तीव्र गतिका बलर लसिथ मालिंगाले सन्यासको घोषणा गरेसँगै अर्का बलर कुलसेकराले पनि सन्यास लिएका हुन्। उनले बुधबार अन्तर्रा्ष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरे।

सन् २००३ मा ईङ्ल्याण्ड विरूद्ध खेल्दै एकदिवसीयमा डेब्यू गरेका ३७ वर्षीय कुलसेकराले देशका लागि अन्तिम पटक सन् २०१७ मा एकदिवसीय खेलेका थिए। त्यसयता उनी टिमबाहिर रहँदै आएका थिए। उनले बिदाई खेल खेलेर सन्यास लिन चाहेको तर चयनकर्ताहरूले उनको इच्छा नमानेपछि सन्यासको घोषणा गरेका बताइएको छ।

नुवान श्रीलंकाका लागि वान डे मा सर्वाधिक विकेट लिने पाँचौ बलर हुन्। उनले १८४ खेलबाट १९९ विकेट लिएका छन्। यस्तै २१ टेस्ट खेलमा उनले ४८ विकेट लिएका थिए। यसका अलावा उनले टि–२० क्रिकेटमा भने सर्वा्धिक विकेट लिने खेलाडीको सूचिमा लसिथ मालिंगासँगै दोश्रो स्थानमा रहेका छन्। उनले ५८ खेलबाट ६६ विकेट लिएका छन्।

मालिंगाले बंगलादेशविरूद्ध ३ वान डे को सिरिजको पहिलो खेलबाट सन्यास लिदैंछन्। उक्त सिरिज शुक्रबारदेखि सुरु हुँदैछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?