कुनै पनि बहानामा काममा ढिलाई गर्ने छुट छैन : प्रम ओली
सारांश
- दोलखा, २८ चैत ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विकासको नयाँ अभियान सुरु भएको बताएका छन् ।
- राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निरीक्षणपछि आज आयोजना निर्माणस्थल दोलखाको गोंगरमा कर्मचारीहरुलाई निर्देशन दिने क्रममा सो कुरा बताएका हुन् ।
दोलखा, २८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विकासको नयाँ अभियान सुरु भएको बताएका छन् । राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निरीक्षणपछि आज आयोजना निर्माणस्थल दोलखाको गोंगरमा कर्मचारीहरुलाई निर्देशन दिने क्रममा सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले आयोजनाको सुरुङ मार्गभित्र रहेका टर्बाइन, मेन सटअफ भल्ब र अन्य भौतिक पूर्वाधारको निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा प्रधानमन्त्री ओलीलाई आयोजनाका पदाधिकारीहरुले आयोजनाको प्रगति विवरण जानकारी गराएका थिए ।
आयोजनाको अवस्था जानकारी लिएपछि प्रधानमन्त्री ओलीले कुनै पनि बहानामा निर्माणको काममा ढिलाइ गर्ने छुट नभएको बताए । “काम गर्ने क्रममा भएका अप्ठ्यारा के छन् भन्नुहोस्”, प्रधानमन्त्री ओलीले आयोजनाका कर्मचारीलाई निर्देशन दिंदै भने, “ती अप्ठ्यारा सरकारले फुकाउँछ तर काममा ढिलाइ नगर्नुहोस ।”
प्रधानमन्त्री ओलीलाई आयोजना प्रमुख विज्ञान श्रेष्ठले आयोजनाको प्रगति विवरण, भौतिक र वित्तीय अवस्थाको जानकारी गराएका थिए । २०६७ सालमा सुरु गरिएको यस आयोजनाबाट ४५६ मेघावाट विद्युत उत्पादन हुनेछ । २०७५ पुसबाट आंशिक रुपमा उत्पादन सुरु हुने यस अयोजनाले २०७६ बैशाखदेखि पूर्ण क्षमतामा विद्यतु उत्पादन गर्ने कर्मचारीहरुले प्रधानमन्त्री ओलीलाई जानकारी गराएका छन् । आयोजनाको कुल लागत ४९ अर्ब २९ करोड रहेको छ ।
आयोजनाका कर्मचारीहरुले सडकको समस्याले निर्माण सामग्रीको आपूर्तिमा समस्या भएकोले त्यसको तत्काल मर्मत गरिदिन प्रधानमन्त्री समक्ष माग गरेका छन् । प्रधानमन्त्री ओलीले आजै लामा बगरमा रहेको आयोजनाको ड्याम साइट पनि निरीक्षण गरेका थिए । प्रधानमन्त्री ओलीले रफ्तारमा काम गर्न र गुणस्तरीयतामा सम्झौता नगर्न कर्मचारीहरुलाई निर्देशन दिए । प्रधानमन्त्री ओलीका साथमा उर्जामन्त्री बर्षमान पुन, प्रधानमन्त्रीका मुख्य सल्लाहकार बिष्णु रिमाल नेपालका लागि चीनका राजदूतको सहभागिता थियो ।
प्रतिक्रिया