चुनावपछि उठेका सवालहरु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष ६, २०७४
|
|
१९ पटक हेरिएको
Shares
चुनावपछि उठेका सवालहरु

सारांश

  • भीम बहादुर फडेरा डेमोक्रेसी (DEMOCRACY) को नेपाली अनुवाद प्रजातन्त्र, राजा हुँदाको बखत अनुवाद गरिएको हो ।
  • त्यसैले साधारण मानिसहरु विशेष गरी बाम विचार राख्नेहरुको बुझाई के छ भने जहाँ राजा हुन्छन् त्यहाँ मात्र प्रजा हुन्छन् ।
  • त्यसैले प्रजातन्त्रको सट्टामा लोकतन्त्र भन्ने शब्द ल्याइयो ।

भीम बहादुर फडेरा

डेमोक्रेसी (DEMOCRACY) को नेपाली अनुवाद प्रजातन्त्र, राजा हुँदाको बखत अनुवाद गरिएको हो । त्यसैले साधारण मानिसहरु विशेष गरी बाम विचार राख्नेहरुको बुझाई के छ भने जहाँ राजा हुन्छन् त्यहाँ मात्र प्रजा हुन्छन् । त्यसैले प्रजातन्त्रको सट्टामा लोकतन्त्र भन्ने शब्द ल्याइयो । प्रजातन्त्र राजा हुँदा मात्र सम्भव हुन्छ भन्ने बुझिनु गलत समयमा (राजा भएको बेला)  डेमोक्रसी शब्दको अनुवाद हुनुको परिणाम हो ।

खासमा डेमोक्रेसीको प्रकार प्रजातन्त्र र लोकतन्त्र हुँदै हैन । प्रजा र लोकले एउटै जनता भन्ने अर्थ दिन्छ । डेमोक्रेसी (प्रजातन्त्र) त राजनैतिक पद्वतिको गुण (QUALITY) हो न कि प्रकार । त्यसैले जो प्रजातन्त्रमा विश्वास गर्छन् उनीहरुका लागि सबैभन्दा नराम्रोहरुमा एकदम राम्रो विकल्प चुनाव बाहेक अरु छैन् । हामीले पनि त्यही नराम्रोहरुमा राम्रो चुनावबाट फेरी एकचोटी प्रजातन्त्रमा विश्वास गर्छौं भनेर ल्याप्चे लगाएका छौँ, प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव गरेर ।

संविधानको प्रावधान बमोजिम नेपालको इतिहासमा संघीयताको लागि पहिलो पटक निर्वाचन भएको छ । यो निर्वाचन संविधान कार्यान्वयनमा एउटा कोसे ढुङ्गा नै हो तर संविधान राजनैतिक दस्तावेज भनुँ या राजनैतिक पद्दति कस्तो हुने भन्ने मात्र हैन यो त जनताहरुको सपनाको दस्तावेज पनि हो जुन विकासको सपना हो ।  मुलतः निर्वाचन सम्पन्नले हाम्रो राजनैतिक संरचना कस्तो हो भन्ने कुरालाई मात्र चित्र कोरेर देखाएको छ । अब यो निर्वाचनले समृद्वि र विकास आउँछ÷ आउँदैन भन्ने कुरा यसपछि जनमत पाएका नेतृत्व गणले गर्ने काम र चाल्ने कदमको प्रतिफलले मात्र निर्धारण गर्नेछ ।

चुनावअघिको एमाले र माओवादीको बाम एकताले देशमा ठूलै तरङ्ग ल्यायो । चुनावको परिणामले त झन खैलाबैला नै मच्चायो । खासगरी काँग्रेसको चुनावी नतिजा र उसका ठूला हस्ति भनिने नेताहरुको हारले । पहिलोबाट प्रत्यक्षमा एकै पटक तेस्रोमा झर्नु अनपेक्षित र लाज लाग्दो नै हो । त्यसले तरङ्ग पैदा गर्नु अपेक्षित जस्तो नै हो । बाम एकता भएपछि प्रदिप गिरिले लेखे ‘अहिले प्रचण्ड र ओलीमाथि कथित कम्युनिस्टहरुले पुष्ष ब्रिष्टि गर्नैपर्छ …. त्यो हुनैपर्छ । नत्र पुष्प व्यवसाय शिथिल हुन्छ । ब्रिष्टिकर्ता बेरोजगार हुन्छन् ।’

बाम एकतापछि पनि पुष्प ब्रिस्टि गर्ने काम रोकिएन् । जुन ब्रिष्टि जनताले गरे मतपेटिकामा मत हालेर । उल्टै कांगे्रसको व्यवसाय शिथिलतातिर पुर्याइदिए धेरै काँग्रेसी महाहस्तिलाई वेरोजगार बनाएर । बाम गठबन्धन देखेर विचलित र हतास मानसिकतामा काँग्रेस पुग्नुको परिणाम चुनावी नतिजा हो । यदि चुनावी नतिजाबाट झन विचलित र हतास भयो र आफूलाई सच्याएन भने काँग्रेस इतिहासमा सिमित हुन के बेर ?

यदी माक्र्स दर्शनलाई शिरोधार्य गर्ने हो भने जसले निर्वाचनमा विश्वास गर्छ त्यो असली कम्युनिष्ट हुन सक्दैन । अनि बिना असली कम्युनिष्ट अधिनायाकवाद आउन सक्दैन् । अरु कुरा पर राखौँ, बामहरुले चुनावमा जानका लागि तालमेल गरेको भनिरहँदा काँग्रेसले बाम जिते अधिनायकवाद आउने धम्की दियो र आफूलाई प्रजातन्त्रको हिमायती भनेर चिनाउन खोज्यो । जसले जिते हारे पनि चुनावबाट प्रजातन्त्रको मात्र जित हुन्छ भन्ने मुल मन्त्रलाई भुलेर, काँग्रेसले चुनावबाट पनि अधिनयाकवाद आँउछ भनेर पुरै प्रजातन्त्रको अहिलेसम्मको प्रयोग र आफैँले भाग लिन गइरहेको प्रजातान्त्रिक अभ्यासमाथि शंका गर्यो । चुनावबाट अरुले जिते अधिनायकवाद आफूले जिते प्रजातन्त्रको जित हुन्छ भन्ने कुराले अहिलेका कांग्रेसीजनहरुले विश्वास गर्ने प्रजातन्त्रमा केहि खोट छ भन्ने देखाउँछ ।

प्रचण्ड भनेको एमाओवादी हुन सक्ला र हो पनि तर ओली भन्नाले एमाले हुँदै होइन् । यसले बिँउताएको तत्थ्य यो हो कि माओवादीको एमालेकरण हुनसक्ला तर एमालेको माओवादीकरण चाहिँ हुनै सक्दैन् ।

बाम भनेको उद्दार कम्युनिष्टहरु जो प्रजातन्त्रमा विश्वास गर्छन् भन्ने बोलिचालीको बुझाई छ । चुनावमा भाग लिइसकेपछि कम्युनिष्टिक गुण हराँउछ भन्ने सबैले हेक्का राख्नु जरुरी छ । अहिलेका कम्युनिष्टहरुसँग उनीहरुका पुर्खाहरु कम्युनिष्ट भएर जन्मिएको आधार बाहेक कम्युनिष्ट हुँ भन्ने अरु आधार  छैन् । जो स्मृतिलाई ढाल बनाउनु शिवाय अरु केही हैन ।  यसी स्खलित भईसकेका कम्युनिष्टहरुलाई हामी प्रजातन्त्रमा विश्वास गर्छौं भन्दाभन्दै पनि अधिनायकवादको बिल्ला भिराउनु काँग्रेसको मुर्खता बाहेक अरु केहि हैन भन्ने कुरा जनताले बुझे र चुनावी नतिजाले दुधको दुध र पानीको पानी बनाइदियो ।

काँग्रेसको हारसँगै अरु केहि चुनावी नतिजाहरु बढि घोत्लिन लायक भए । पहिलो बाबुराम भट्टराई गोरखा २ छोड्दैनन् र उनी जित्छन भन्ने अनुमान भएरै त्यहि ठाउँबाट नारायणकाजी श्रेष्ठ लडाउन भट्टराईलाई प्रचण्डले बाममा सामेल नगरेको जस्तो देखियो । दोस्रो देश बाममय बनिरहँदा एमालेका वामदेव गौतमले हारे । बामबाट मुढो उठे पनि चुनाव जित्ने माहोलमा वामदेव गौतमले नै किन हारे ? बामकै ढाँडमा टेकेर राप्रपा, मालेले जिते तर बामकै वरिस्ठ नेताले हार्नुको रहस्य के ? उपाध्यक्ष बामको सिकार भएर हारिरहँदा, बामकै ढाँडमा टेकेर राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनले चुनाव जिते । यसले बामको दैध्र चरित्र देखायो ।

लामो समय राजनीति, पार्टी र सत्तामा बसेका इतिहास भएका तर झिङ्गा मात्र मारेर बसेका काँग्रेसी हस्तिहरुले हार्नुको पिडा भन्दा पनि कथित बामको नाममा जो पायो त्यसैले जित्नुले निकट भविष्यमा ठूलो शोलादेला भन्ने अहिलेको मुख्य चुनौती हो । वामको नाम भजाएर चुनाव जितेकाहरुको जित ‘जुवामा पनिउ जितेर घर ल्याएको’ प्रसंगमा बदलिन के बेर ? त्यस्तै नयाँ राजनितिक दलहरुो उपस्थिति कम्ता रोमाञ्चक थिएन । केहि रविन्द्र मिश्रको हारले नेपाली जनता अझैँ पुरानो ढिँकीजातो छोड्न अझैँ तयार नभइसकेको भन्ने देखायो ।

नेपालमा संस्कार बुझेर भोट हाल्ने संस्कारिक मतदाताको संख्या एकदम न्यून छ । हामीले अहिलेसम्म बुझाउँदै आएको राजनीति वंशानुगत राजनीति हो । यदि कोहि यो विपरित लागेको छ भने त्यो स्वार्थले लागेको हुनुपर्छ । बुझेर परिवर्तनका लागि लागेका हुन्थेउ भने हाम्रो विकासको गति सम्भवत त यो स्थितिमा  हुने थिएन । दुई तिहाईको रटान लगाएर यो स्थितिमा आएका हौँ भन्नु बामहरुको बेतुकको कुरा हो । ग्रामिण भेगतिर दुई तिहाई के हो सिमितले बाहेक कस्ले बुझेको छ अनि कस्ले बुझाएको छ ? पार्टीको सदस्यता पत्र लिएका एमाले–माओवादी जनताहरु काँग्रेसभन्दा धेरै थिए, त्यसैले बामको जित स्वतः भयो । यो बामले देखायो सपनाको राम्रो पक्ष र काँग्रेसले बाँडेको सपनाको नराम्रो पक्षले ल्याएको प्रतिफल केहि हुँदै होइन् । जनताहरु राम्रो/नराम्रो छुट्याउने स्थितिमा छँदै छैनन् । आफ्नो पार्टीप्रतिको कट्ठरता नेताहरुमा कम पाइन्छ बरु जनतामा बढि पाइन्छ । यस्तो प्रवृति ग्रामिण भेगतिर झन बढि छ । नेपालमा जसले जिते पनि कार्यकर्ताको मतले जित्ने हो चाहे त्यो काँग्रेस होस् या बाम होस् ।

अबको सरकार बामहरुको सरकार हो यसमा कुनै दुईमत छैन् । चुनावी नतिजा घोषणा हुँदै गर्दाको जुन माहोल र उत्साह छ, बामहरुको त्यस्लाई यथावत राख्न केही दृश्यहरु छन जुन अकाट्य छन् ।

प्रजातन्त्रमा सँधै केहि न केहि प्रयोग भइरहन्छ । मेरो बुझाइमा यस्तै प्रयोग नै यसको असली सुन्दरता लुकेको हुन्छ । अमेरिकामा डोनाल्ड ट्रम्प जस्तो मान्छेलाई राष्ट्रपति बनाउनु, नेपाली जनताको चेतनाको स्तरमा वृद्वि भएको अवस्थामा पनि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनु यि प्रजातन्त्रमा गरिएका केहि रोचक प्रयोगहरु हुन् । अहिले बामको बहुमत पनि त्यस्तै एउटा प्रयोग हो नेपाली जनताको । प्रयोगशालामा पुगेको बामले अब सुन पगालेर सुन्दर गहना बनाउँछ, या आफैँ बलेर सकिन्छ यो उसकै हातमा छ ।

अबको सरकार बामहरुको सरकार हो यसमा कुनै दुईमत छैन् । चुनावी नतिजा घोषणा हुँदै गर्दाको जुन माहोल र उत्साह छ, बामहरुको त्यस्लाई यथावत राख्न केही दृश्यहरु छन जुन अकाट्य छन् । एमालेको कुरा छोड्यौँ, माओवादीले पनि सम्मानजनक स्थान ल्याएको छ निर्वाचनबाट । अब यहि जित यिनीहरुको दिमागमा सवार भएर जुन पार्टी एकीकरण हुने भनिएको छ, यसमा असर पार्यो भने जनता गलत सावित हुनेछन् । एमालेका केहि अभिव्यक्तिहरु ओलीको बाम एकता गर्दै गर्दाको इमान्दारिता विपरित आइरहेका छन् । यसले बामको भविष्यलाई बाङगो बाटोतिर इशारा गरिरहेको छ ।

एकीकरण भएपछिको राजनीति पनि सजिलो छैन । प्रचण्ड भनेको एमाओवादी हुन सक्ला र हो पनि तर ओली भन्नाले एमाले हुँदै होइन् । यसले बिँउताएको तत्थ्य यो हो कि माओवादीको एमालेकरण हुनसक्ला तर एमालेको माओवादीकरण चाहिँ हुनै सक्दैन् । गौण भएर बस्न नसक्ने प्रचण्ड, एक जनाको सहकार्य सिंगो संस्थासँग कत्तिको दिगो हुन सक्छ भन्ने अहिले  बाम गठबन्धनको मुख्य चुनौती हो । यो एमालेकरण हो वा माओवादीकरण हो वा साँचो बाम एकीकरण हो, या चुनावी समिकरण मात्र थियो अबको बहुप्रतिक्षित मञ्चन हो हामीहरुका लागि ।  जुन कुरा यिनीहरुले गर्ने सत्ता र पार्टी समिकरणले  बताउनेछ ।

Email:-  bphadera@gmail.com

(https://www.genusinnovation.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?