धरान उपमहानगरका प्रमुख तारा सुब्बाको निधनपछि शोकसँगै उपनिर्वाचनको चर्चा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ३, २०७५
|
|
२८ पटक हेरिएको
Shares
धरान उपमहानगरका प्रमुख तारा सुब्बाको निधनपछि शोकसँगै उपनिर्वाचनको चर्चा

सारांश

  • काठमाडौं, ३ साउन ।
  • धरान उपमहानगरपालिका नगरप्रमुख तारा सुब्बाको मंगलबार निधन भएपछि धरानमा शोकसँगै भावी प्रमुखको उपनिर्वाचनको चर्चा पनि शुरु भएको छ ।
  • धरान उपमहानगरको भावी प्रमुख को हुने र त्यसको चयन कसरी हुने भन्ने विषयमा कानुनी पक्षबारे समेत बहस शुरु भएको छ ।

काठमाडौं, ३ साउन । धरान उपमहानगरपालिका नगरप्रमुख तारा सुब्बाको मंगलबार निधन भएपछि धरानमा शोकसँगै भावी प्रमुखको उपनिर्वाचनको चर्चा पनि शुरु भएको छ । धरान उपमहानगरको भावी प्रमुख को हुने र त्यसको चयन कसरी हुने भन्ने विषयमा कानुनी पक्षबारे समेत बहस शुरु भएको छ ।

स्थानीय तहको चुनावपछि प्रमुखको निधन भएको या नेपालमै पहिलो घटना हो । त्यसैले उनको ठाउँमा अर्को प्रमुख चयन कसरी हुन्छ भन्ने प्रश्न उठेको छ । जसरी चयन भए पनि यसले नेपालकै सन्दर्भमा एउटा इतिहास र नजीर बनाउने छ ।

नगरपालिकाका पदाधिकारीको पद रिक्त भएको खण्डमा के गर्ने भन्ने कुरा “स्थानीय सरकार सञ्चालन ऐन २०७४” मा केही पनि खुलाइएको छैन । वडाध्यक्षको विषयमा भने एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा वडाध्यक्षको पद रिक्त भए उपनिर्वाचनद्वारा पदपूर्ति गर्न सकिने प्रावधान दफा १०७ मा छ । मेयर वा उपमेयरको पदपूर्तिसम्बन्धी प्रावधान ऐनमा नभए पनि नेपालको संविधानमा भने स्पष्ट उल्लेख छ । त्यसैले धरानमा नयाँ प्रमुखसमेत संविधानकै प्रावधानअनुसार चयन हुने जानकारहरु बताउँछन् । त्यसका लागि उपनिर्वाचनको व्यवस्था रहेको छ ।

संविधानको धारा २१६ मा “नगर कार्यपालिका प्रमुख र उपप्रमुखसम्बन्धी व्यवस्था” मा पुनर्निर्वाचन गराउनुपर्ने व्यवस्था छ । सो धाराको उपधारा ८ मा मृत्यु भएमा पद रिक्त हुने व्यवस्था छ भने प्रमुख वा उपप्रमुखको एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा पद रिक्त भएमा उपनिर्वाचन गराउन सकिने प्रावधान उपधारा ९ मा उल्लेख छ ।

उपनिर्वाचन निर्वाचन आयोगले गराउनेछ । त्यसका लागि स्थानीय तहले पद रिक्त भएको जानकारी प्रदेश सरकारलाई दिनेछ । प्रदेश सरकारले संघीय सरकारलाई जानकारी दिनेछ । संघीय सरकारले नै उपनिर्वाचनको मिति तोकी निर्वाचन आयोगलाई निर्वाचन गराउन कार्यादेश दिने निर्वाचन आयोगका उपसचिव महेश तिम्सिनाले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?