तोप पड्कँदै, प्रजातन्त्र दिवस देशभर मनाइँदै
सारांश
- काठमाडौं ।
- आज फागुन ७ अर्थात् प्रजातन्त्र दिवस ।
- १०४ वर्षको जहानियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ६९औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ ।
काठमाडौं । आज फागुन ७ अर्थात् प्रजातन्त्र दिवस । १०४ वर्षको जहानियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ६९औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ ।
आज बिहानैदेखि नेपाली सेनाले तोप पड्काइरहेको छ । जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ लाई औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै अहिले हामीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल पाएका छौँ ।
यस वर्ष पनि दिवस तीन दिनसम्म विविध कार्यक्रम गरी मनाइँदैछ । प्रजातन्त्र दिवस मूल समारोह समितिले आज बिहान ८ बजे सैनिक मञ्च टुँडिखेलमा औपचारिक समारोह शुरु हुँदैछ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, उपसभामुखलगायतको उपस्थिति रहनेछ ।
प्रजातन्त्र दिवस मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति र सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन भएको छ । दिवसकै अवसरमा सञ्चार मन्त्रालयले देशभर सञ्चालनमा रहेका सरकारी तथा निजी छापा माध्यम, एफएम रेडियो, टेलिभिजनलगायत अन्य सञ्चारमाध्यमलाई प्रजातन्त्र दिवसको विषयलाई उच्च प्राथमिकता दिई समाचार प्रसारण, बुलेटिन, परिसंवाद, अन्तरिक्रिया आदि कार्यक्रम सञ्चालन गर्न आह्वान गरेको छ ।
प्रजातन्त्र दिवस मनाउने सम्बन्धमा गठित प्रचारप्रसार उपसमितिको सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको अध्यक्षतामा आइतबार वैठक बसी सरकारनी सञ्चारमाध्यमले टुँडीखेलको कार्यक्रम प्रत्यक्ष प्रशारण गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया