बाध्य बनेर बाहिरिए प्रधानन्यायाधीश गोपाल पराजुली
सारांश
- सर्वोच्च अदालत प्रमुखको असहज बहिर्गमन भएको छ ।
- गोपाल पराजुली पदमुक्त भएसँगै मुलुकको न्यायिक इतिहासमा बाध्यकारी बाटोबाट प्रधानन्यायाधीश परिवर्तनको पहिलो नजिर बनेको छ।
- आजको नागरिक दैनिकमा खबर छ ।
सर्वोच्च अदालत प्रमुखको असहज बहिर्गमन भएको छ । गोपाल पराजुली पदमुक्त भएसँगै मुलुकको न्यायिक इतिहासमा बाध्यकारी बाटोबाट प्रधानन्यायाधीश परिवर्तनको पहिलो नजिर बनेको छ। आजको नागरिक दैनिकमा खबर छ ।
न्याय परिषद्ले पठाएको पत्रका कारण प्रधानन्यायाधीश नै परिवर्तन भएको घटनालाई आश्चर्य र असहज रूपमा लिइएको छ।
नागरिकता र शैक्षिक प्रमाणपत्रमा जन्ममितिसम्बन्धी विवादमा मुछिएका प्रधानन्याायधीश गोपाल पराजुलीलाई न्याय परिषद्का सचिव नृपध्वज निरौलाले बुधबार पदावधि सकिएको जानकारी गराएपछि उनी पदमुक्त भएका हुन्।
पराजुलीलाई यो अवस्था आउन सक्ने संकेत केही समयअघि नै उनका धेरै शुभचिन्तकले गरेका थिए । कतिपयले उनलाई राजीनामा दिन र कतिपयले बिदामा बस्न दिएको सुझावलाई बेवास्ता गर्दा उनी असहज रुपमा पदबाट बाहिरिनुपरेको छ । एक साताअघि सरकारका तर्फबाट महान्यायाधिवक्ता अग्नि खरेलले प्रधानन्यायाधीश पराजुलीलाई न्यायपालिकामा देखिएको विवाद समाधान गर्नका लागि बिदा बस्न सुझाव दिएका थिए । खरेलले आफूले पराजुलीलाई एक साताअघि असहज परिस्थितिको सहज बाटो खोज्न सुझाव दिएको बताए।
‘यो घटनाप्रति सरकार चिन्तित छ । म पनि चिन्तित छु । नहुनुपर्ने घटना भयो,’ महान्यायाधिवक्ता खरेलले भने, ‘उहाँले अब राजीनामा दिनु ठीक हो ।’ पराजुलीले सुझाव मानेर बिदामा बसिदिएको भए अहिलेको परिस्थिति आउन नसक्ने महान्यायाधिवक्ता खरेलले बताए । पराजुलीले महान्यायाधिवक्तासँग आफू बिदा हुनुअघि एक महिना कुनै पनि मुद्दा नहेर्ने बताएका थिए।
पराजुलीको जन्ममितिका सम्बन्धमा विगत एक वर्षदेखि विवाद हुँदै आएको हो । ‘ठूलो पदमा बस्नेले आफ्नो मर्यादाको ख्याल गर्नुपथ्र्यो,’ सर्वोच्चका एक उच्च अधिकारीले भने, ‘उहाँले अरुको सुझाव नसुनी हठ लिएका कारण यस्तो अवस्था भयो । नैतिक संकटमा परे पनि उहाँले कसैको सुझाव मान्नुभएन।’
न्यायाधीशहरुले पनि पराजुलीलाई बिदामा बस्न सुझाव दिएका थिए । तर, उनले आफ्नो मुद्दा आफ्नै बेन्चमा तोकेर निर्णय गराए । त्यो नै उनका लागि बहिर्गमनको एउटा कारक बन्यो।
सर्वोच्चका ९ न्यायाधीशले प्रधानन्यायाधीश पराजुलीको पदावधि सात महिनाअगावै सकिएको भन्दै उनले तोकेको पेसी र इजलास बहिष्कार गरेका थिए।
वरिष्ठताका आधारमा कायममुकायम प्रधानन्यायाधीश बनेका दीपकराज जोशीले बुधबार संवाददातासँग कुरा गर्दै पराजुलीले ‘आफ्नो निर्णय आफैंले गरेको’ बताए । पदमुक्त पराजुलीलाई इंगित गर्दै जोशीले भने, ‘आफ्नो निर्णय आफंैले गर्न हुँदैन।’
प्रतिक्रिया