मेरो कर्तब्य ? (कटुकथा)
सारांश
- आँखा त समय मै खुल्छ आलार्मले कर गरेपछि तर दिमागले हातलाई अनिच्छित आवाज रोक्न आदेश दिनासाथ फेरी आनन्दको निद्रामा डुविदिन्छ केही मिनेट कै लागि भएपनि ।
- अनि सबैभन्दा मिठो निद्रा लाग्ने पनि त उठ्नु अघिको पाँच मिनेटमा हो ।
- निद्रा पनि लत हो, तर कुलत चाहिँ नभनौँ ।
आँखा त समय मै खुल्छ आलार्मले कर गरेपछि तर दिमागले हातलाई अनिच्छित आवाज रोक्न आदेश दिनासाथ फेरी आनन्दको निद्रामा डुविदिन्छ केही मिनेट कै लागि भएपनि । अनि सबैभन्दा मिठो निद्रा लाग्ने पनि त उठ्नु अघिको पाँच मिनेटमा हो । निद्रा पनि लत हो, तर कुलत चाहिँ नभनौँ । यसले पनि आफ्नो चपेटामा पारेपछि संसार बिर्साइदिने क्षमता राख्दछ ।
आज पनि उठ्न ढिला भयो । छिटो छिटो कलेजका लागि तयार भएँ र निस्केँ कोठाबाट । गाडि आज पनि उस्तै खाँदिएर आयो । समय अभावका कारण गाडिमा अरु विकल्प थिएन । माइक्रोको ढोका खुल्नासाथ मान्छे हुत्तिएर बाहिरै आउलान जस्तो गरे । कुनै चर खोजेर म पनि घुसेँ ।
आज गाडि सर्विसिङका लागि दिएको भएर यसमा आएको । यस्तो भिड हुन्छ भन्ने थाहा पाएको भए त बरु बाइक लिएर आउथेँ, अन्तिम सिटबाट केही मोटो पुरुष ध्वनी मेरो कानमा ठोकिन पुग्यो ।
मैले यसै त गाडिमा चर्को स्वरले बोलेको रुचाउँदिन, अझ ठुला कुरा गरेको त झन कसरी सुन्न सक्थेँ । उसलाई अगाडिको सिटमा बस्नेले समेत राम्रोसँग सुन्न सक्थ्यो । त्यहाँ यति सुनसान थियो लाग्थ्यो सबै उसकै कुरा सुनिरहेका छन् । मलाई भने उसले आफ्नो सम्पत्तिको धाक लगाए जस्तो लाग्यो । त्यसो नहुन पनि सक्थ्यो, एउटा गाडि हुनु त के ठूलो कुरा भो र आजकलको जमनामा तर त्यो सुनाउन आवश्यक थियो जस्तो मलाई लागेन । मलाई खास समस्या उसको अनावश्यक चर्को आवाजमा थियो।
सर के गर्नुहुन्छ र, यसपाली उसको प्रमुख श्रोताले प्रश्न ग¥यो ।
म राष्ट्रसंघका लागि काम गर्थेँ , वाचक बोल्यो ।
कुन संस्थामा ?
म युनिसेफमा, नौ महिना भयो अवकाश लिएको ।
ए, रिटाएर्ड भैसक्नु भएको ? अनि नेपालमै गर्नुहुन्थ्यो कि विदेशमा थियो काम ?
अफिस त मेरो नेपालमै थियो तर अधिकांश म विदेश मै हुन्थेँ । तालिम, सभा, सेमिनार अनि रिसर्चको शिलशिलामा ।
धेरै कुन देशमा बित्थ्यो त समय ?
त्यस्तो हुँदैन, अब काम हेरेर हुन्छ । प्रोजेक्ट कहाँको छ त्यही हेरेर कहाँ जाने भन्ने निर्णय हुन्छ । मेरो चाहिँ धेरै समय युरोपियन कन्ट्रिमा बितेको छ, सबै जनाले उसका कुरा चाखले सुनिरहेका थिए, मैले पनि तर चाखले होइन ।
अनि युरोप जस्तो ठाउँमा पनि बालबालिका पिडित छन र ? श्रोताले आश्चर्य मानेर सोध्यो ।
हैन हैन । त्यहाँ बसेर त कामको बारेमा छलफल गर्ने हो, योजना बनाउने हो । खासगरी अफ्रिकी मुलुकका लागि ।
ए, अनि अहिले सम्म कति देश घुम्न भ्याउनुभयो त ?
अँ, ठ्याक्कै त भन्न सक्दिन तर तिन दर्जन नाघे होलान । अस्ति भर्खर पनि भियना गएर आएको अष्ट्रियाको । मैले आफ्नो कार्यकालमा गरेका कामको लागि सम्मान दिने कार्यक्रम रहेछ, म पनि पुरै सर्प्राइज भएँ एकैचोटि त्यसरी बोलाउँदा । मेरो कामको उचित मुल्यांकन भएकाले खुशि पनि लाग्यो, उसले सगौरव आफू सम्मानित भएको कुरा सुनायो ।
ल बधाई छ है त्यसो भए, अनि तपाईँलाई मात्र दिइएको सम्मान ?
हैन । भारतका एकजना थिए म भन्दा सिनीयर अनि इण्डोनेसियाका एकजना मेरै तहका । हामी तिन जनालाई दिइएको थियो ।
ओहो, उसो भए त तपाईँले नेपालकै नाम चिनाउनु भएको रहेछ त विश्वमा । अनि गर्नु भएको चाहिँ के थियो नि त्यसरी संयक्त राष्ट्र संघले नै सम्मान गर्ने गरी ?
मैले अफ्रिकी तथा अक्षिण अमेरीकी धेरै देशहरुमा गएर सेवा गरेको छु । म रिटायर हुनुभन्दा केही महिना अघि नै म युगाण्डामा गएर त्यहाँका बालबालिकाको बारेमा अध्ययन गरेको थिएँ । सानै उमेरदेखि लागुपदार्थ दुव्र्यसनमा लागेका उनीहरुसँग परापर्श गरी म लिडर रहेको हाम्रो सात जनाको टोलिले उनीहरुलाई असल मार्गमा हिँड्न मोटिभेट गरेका थियौँ । जसले निकै सकारात्मक नतिजा निकाल्यो, र धेरैजना कुलतबाट निस्केर विद्यालय जान थाले । अहिले त्यो ठाउँ युगाण्डामा मात्र होइन पुरै अफ्रिका मै नमुना भएको छ । अरु ठाउँमा पनि उक्त कामको अनुसरण भैरहेको छ ।
मैले माने उ मान्छे ठूलै हो तर त्यसरी आफ्नै बयान गरेको भने मलाई कत्ति मन परिरहेको थिएन । सायद एक किसीमको इस्र्या थियो त्यो । मलाई त्यस्तो ठूलो मान्छेको अनुहार हेर्न मन लाग्यो । कपाल सेतै फूलेको, गोरो अनुहार, झट्ट हेर्दा कम्तिमा पनि साठी वर्ष कटेजस्तो लाग्थ्यो । मलाई कपडाको बारेमा त्यति ज्ञान छैन तर उसका शरिरमा भएका सबै कपडा मैले बहुमुल्य देखेँ ।
धेरै मान्छेहरु ओर्लिएर माइक्रो अलि खालि भएको थियो, यद्यपि बस्ने ठाउँ भने पाएको थिइन । त्यही मौकामा भाडा उठाउन एकजना भाईले हात अगाडी बढायो । जसको उमेर मुस्किलले तेह्र वर्ष हुँदोहो । मैले सोही गाडिको ढोकामा टाँसेको पोस्टर सम्झिएँ जहाँ लेखेको थियो , सोह्र वर्ष मुनिका बालबालिकालाई सवारी परिचालकका रुपमा प्रयोग नगरौँ ।
उसका हातमा भएका आला घाउका दागहरु मेरा आँखामा परे । घाउ धेरै गहिरा थिएनन् । यस्तो लाग्थ्यो कुनै धारीलो हतियारले आफ्नो हात जानाजान चिथोरेको हो ।
उसका दाँतको र कपालको रंग मिल्दो थियो, रातै । कपाल त मेहेन्दीले रंगाएको होला थाहा भयो, अनि दाँत ? केले रंगायो भनेर मैले सोचिन । सोच्नै परेन, उसले मेरै अगाडि भोला नामको मेहन्दी आफ्नो मुखमा हाल्यो र रंगीन पानी ढोकाबाट बाहिर फाल्यो ।
कति हो बावु भाडा ? उही प्रवचकले सोध्यो ।
बिस रुपिया बा ।
पन्ध्र हैन र भनेको । म सँधै हिड्ने बाटो हो , नयाँ भनेर ठग्न खोज्यौ कि क्या हो ?
बिस नै छ बा भाडा दूई वर्ष भैसक्यो ।
पन्ध्र गर्देउ न त बा जस्तो मान्छेलाई, दाँत देखाँदै भन्यो ।
त्यसो भए त झन तिस रुपिया दिनु, दश रुपियाको नातिले चिया खान्छ । सबै गलल हाँसे, म पनि हासेँ ।
केटो टाठो रैछ, आफ्नो हार स्वीकार्दै बिस रुपिया दियो ।
उनीहरुको संवाद पूनः जारी रह्यो ।
अनि नेपालमा चाहिँ केके गर्नुभयो त ? अब उत्तर तर्फ मेरो पनि पुरै ध्यान केन्द्रित भयो । किनकि यो मेरो पनि प्रश्न थियो वरिष्ठका लागि ।
नेपाल मेरो कार्यक्षेत्र थिएन त्यसैले खासै केही गरिन ।
उनीहरुको अन्तरवार्ता सुन्दासुन्दै कतिबेला मेरो गन्तव्य आएछ, पत्तै पाइन । माइक्रोबाट ओर्लेर कलेज तिर लागेँ । मनमा एउटा कुरा खेलिरह्यो, त्यस्तो विद्धान मान्छेले आफ्नो देशको लागि केही गर्न सक्थेन ?
यहाँ पनि लाखौँ बालबालिका धेरै समस्याबाट गुज्रिरहेका छन् । कति सही मार्गदर्शन नपाएर गलत बाटोमा लागेका छन् । कति बाध्य भएर आफ्नो खेल्ने पढ्ने उमेरमा ईट्टा भट्टामा पिल्सिएका छन्, कति होटलहरुमा जुठो पानिले छेपिएका छन् । के यी विषयमा केही गर्न सक्थेनन् ति महामहीमले ? अवश्य सक्थे ।
अनि उति नै बेला अर्को प्रश्नले मलाई टोक्यो, तँ यहाँको एक शिक्षित युवा भएका नाताले सचेत नागरिक भएका नाताले ति समस्या समाधानका लागि जे गर्न सक्थिस त्यो गरेको छस त ?
(मुक्ति)
प्रतिक्रिया