सात वर्ष बिते पनि पुल निर्माण कार्यको प्रगति ५० प्रतिशत मात्र
सारांश
- अस्बिन खडका उदयपुर, १९ चैत ।
- उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाईस्थित त्रियुगा नदीमा निर्माणाधीन पुल अलपत्र परेको छ ।
- २०६७÷०६८ मा निर्माण सुरु भएको र ७ वर्ष बितिसक्दा पनि पुल बनेको छैन ।
अस्बिन खडका
उदयपुर, १९ चैत । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाईस्थित त्रियुगा नदीमा निर्माणाधीन पुल अलपत्र परेको छ । २०६७÷०६८ मा निर्माण सुरु भएको र ७ वर्ष बितिसक्दा पनि पुल बनेको छैन ।
३ सय ७ मिटर लम्बाई र “डबल लेन्थ”को पुल निर्माण सुरु हुँदा ९ करोड ७६ लाख रुपैयाँ लागत स्टिमेट गरिएको थियो । जसमध्ये करीब ७ करोड खर्च भइसकेको छ । अहिलेको अवस्थामा मूल्य समायोजन हुँदै गए सम्पूर्ण काम सम्पन्न गर्न करिब १३ करोड रुपैयाँभन्दा बढी लागत लाग्ने प्राविधिक बताउँछन् ।
उक्त पुल निर्माणको ठेक्का लिएको महालक्ष्मी र लोकप्रिय कन्ट्रक्सन जेभीसँग भएको सम्झौतामा आर्थिक वर्ष ०७०÷०७१ मा नै काम सम्पन्न गर्ने उल्लेख छ । तर, निर्धारित मिति सकिएको ४ वर्ष बितिसक्दा पनि निर्माण कार्यको प्रगति ५० प्रतिशतभन्दा कम छ । १३ मध्ये ९ वटा पिलर तयार भएका छन् । बाँकी ४ मध्ये ३ वटामा जमिनमुनि रुखको ठुटा भेटिएपछि काम सुस्त भएको पुल निर्माणको काम हेर्दै आएको गाईघाट–दिक्तेल सडक आयोजना गाईघाटले जनाएको छ ।
फत्तेपुर–गाईघाट सडकसँग बेल्टार बजारलाई जोड्न चौदण्डीगढी नगरपालिकाको साथै बेलका नगरपालिकालाई नेपालको हरेक ठाउँ जान र राजधानी काठमाडौंसम्मको यात्रा यही पुल तरेर जानुपर्ने भएकोले अब नगरपालिकाका मेयरहरुलाई समेत दबाब पर्न थालेको बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापाले बताए । उनले भने, “अब पहिलाको जस्तो कर्मचारी मिलेर खाने दिन गइसके ।” “कामको सुरुवातमै ठेकेदारबीच विवाद भयो”, उनले भने, “विवाद समाधान भएपछि काम सुरु त भयो तर कहिले सकिन्छ भन्ने कुराको ग्यारेण्टी चाहिँ अझै छैन ।” अब पुल निर्माणमा आएका कठिनाईबारे छलफल गरी सबै कुरा बुझेर पहल गर्ने उनले बताए ।
प्रतिक्रिया