स्वर्गीय खुमबहादुर खड्काका छोरा राजनीतिमा, तर कुन पार्टीबाट ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १६, २०७५
|
|
२८ पटक हेरिएको
Shares
स्वर्गीय खुमबहादुर खड्काका छोरा राजनीतिमा,  तर कुन पार्टीबाट ?

सारांश

  • घोराही, १६ वैशाख ।
  • नेपाली कांग्रेसका नेता स्वर्गीय खुमबहादुर खड्काका छोरा अनुराग खड्काले आफू सक्रिय राजनीतिमा आउने बताएका छन् ।
  • शनिबार गृहजिल्ला दाङको घोराही उपमहानगरपालिका अन्तर्गत धर्नासहितका विभिन्न गाउँमा पुगेर आफू कांग्रेसको सक्रिय राजनीतिमा आउने घोषणा गरेका हुन् ।

घोराही, १६ वैशाख । नेपाली कांग्रेसका नेता स्वर्गीय खुमबहादुर खड्काका छोरा अनुराग खड्काले आफू सक्रिय राजनीतिमा आउने बताएका छन् ।

शनिबार गृहजिल्ला दाङको घोराही उपमहानगरपालिका अन्तर्गत धर्नासहितका विभिन्न गाउँमा पुगेर आफू कांग्रेसको सक्रिय राजनीतिमा आउने घोषणा गरेका हुन् । दाङ कांग्रेसका क्षेत्र नं २ का सभापति भुपबहादुर डाँगीका अनुसार अनुराग खड्काले आफ्नो पढाइ पूरा हुनेवित्तिकै कांग्रेसको सक्रिय राजनीतिमा लाग्ने बताए ।

स्वर्गीय खुमबहादुर खड्काको वैशाख ३० गते ४५ दिन पुग्नेछ । ४५ दिनको काम सक्नेवित्तिकै अनुराग ३/४ महिनाको अध्ययनका लागि बेलायत जानेछन् । ‘बेलायतमा अध्ययन गर्न अब ३/४ महिना मात्रै बाँकी रहेछ’, क्षेत्रीय सभापति डाँगीले जानकारी दिँदै भने, ‘बाबुको ४५ दिनको कार्यक्रम सकेर अध्ययन गर्न जाने र ३/४ महिनापछि नेपाल फर्किएर कांग्रेसको सक्रिय राजनीतिमा लाग्छु भन्नुभएको छ ।’

अनुरागले शनिबार धर्नाको कप्तान चोक, दलजितपुर, बसन्तपुर, डाँगीगाउँसहितका स्थानमा पुगेर कांग्रेसका स्थानीय कार्यकर्तासँग भेटघाट गरेका छन् । उनले छिट्टै आफूले कांग्रेसको राजनीति गर्ने भन्दै साथ र समर्थनको अपेक्षा गरेको बताएका छन् ।

अनुगारले आफ्ना बाबुको जन्म भएको डाँगीगाउँस्थित पुर्खौली घरमा पुगेर केही समय विताएका छन्।

अनुराग जहाँ–जहाँ पुगे सबैले राजनीतिमा आएर बाबुले गरेको समाज सेवा र विकास निर्माणलाई निरन्तरता दिन सुझाव दिएका थिए । त्यति मात्रै होइन स्थानीयले अनुरागसँग फोटो समेत खिचाएको क्षेत्रीय सभापति खड्काले बताए ।

स्वर्गीय खुमबहादुर खड्काको पहलमा बन्दै गरेको नारायणपुर, पटुकीमराही, डाँगीगाउँ, भैँसापत्र हुँदै रिहारसम्म जोड्नका लागि सडकको काम हुँदै छ । त्यो सडकको कामका बारेमा पनि अनुरागले जानकारी लिएका छन् । यो सडकको नाम ‘खुमबहादुर खड्का मार्ग’ नामाकरण गरिने क्षेत्रीय सभापति डाँगीले बताए ।

अनुरागसँगै दाङ क्षेत्र नं १ का सभापति भेषराज पाण्डे, क्षेत्र नं २ का सभापति भुपबहादुर डाँगी, दाङ कांग्रेसका नेता भरतबहादुर न्यौपाने, कर्णबहादुर बुढाथोकी, नेपाल महिला संघकी केन्द्रीय सदस्य गिरिजा न्यौपाने, मधु न्यौपाने, नेपाल महिला संघ दाङकी अध्यक्ष गोमा राउतसहितका स्थानीय नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?