अण्डर १९ विश्वकप क्रिकेट छनोट: रोहितको शानदार खेलमा नेपाल विजयी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २९, २०७५
|
|
३३ पटक हेरिएको
Shares
अण्डर १९ विश्वकप क्रिकेट छनोट: रोहितको शानदार खेलमा नेपाल विजयी

सारांश

  • काठमाडाैं।
  • अण्डर १९ विश्वकप क्रिकेट प्रतियोगिताको एशिया छनोट प्रतियोगितामा नेपालले सिङ्गापुरलाई २१७ रनले हराएको छ।
  • पहिलो ब्याटिङ गर्दै कप्तान रोहित पौडेलको ९५ रनको मद्दतले नेपालले बनाएको २८२ रनको जवाफमा सिङ्गापुरले ३१ ओभरमा ६५ रनमात्रै बनाएको छ।
काठमाडाैं। अण्डर १९ विश्वकप क्रिकेट प्रतियोगिताको एशिया छनोट प्रतियोगितामा नेपालले सिङ्गापुरलाई २१७ रनले हराएको छ।
पहिलो ब्याटिङ गर्दै कप्तान रोहित पौडेलको ९५ रनको मद्दतले नेपालले बनाएको २८२ रनको जवाफमा सिङ्गापुरले ३१ ओभरमा ६५ रनमात्रै बनाएको छ।
एशियाका छ राष्ट्रको सहभागिता रहेको प्रतियोगिताको विजयी टोलीले सन् २०२० को १९ वर्षमुनिका खेलाडीहरूको विश्वकपमा खेल्न पाउनेछ।
नेपालले दिएको २८३ रनको लक्ष्य पछ्याउने सिङ्गापुरको सुरुवात राम्रो हुन सकेन।
कुशल मल्लले दुई विकेट लिदाँ अरू दुई खेलाडी रन आउट भएपछि सिङ्गापुर २९ रनमा चार विकेटको स्थितिमा पुग्यो। त्यहाँबाट धारिलो नेपाली बलिङले नियमित विकेट झरिरह्यो र सम्मानजनक हारको सम्भावना मात्रै बाँकी रह्यो।
नेपालका लागि म्यान अफ द म्याच पवन सर्राफले तीन, सूर्य तामाङले दुई र रशिद खानले एक विकेट लिए।
सिङ्गापुरबाट सबैभन्दा धेरै रन इशान पल सानेले बनाएका थिए। उनले ५४ बलमा २८ रन बनाए। साइहर्ष भेनुगोपालले १८ रन बनाए।
नेपालको ब्याटिङको सुरुआत गतिलो भएन। रित गौतम र आशिफ शेख थोरैमा आउट भएपछि नेपालले १८ रन बनाउँदा दुई विकेट गुमाइसकेको थियो। तर पवन सर्राफ र कप्तान पौडेलले धैर्यपूर्वक खेल्दै रन बनाए।
सर्राफ ४६ रनको व्यक्तिगत रनमा आउट हुँदा नेपालले एक सय रन बनाइसकेको थियो। उनले पौडेलसँग ९० रनको साझेदारी गरेका थिए।
अर्को राम्रो ब्याटिङ प्रदर्शन रशिद खान र कमलसिंह ऐरीले गरे। खानले ४८ रन बनाए र पौडेलसँग ७७ रनको साझेदारी गरे। ऐरीले १८ बलमा तीन छक्का प्रहार गर्दै ३१ रन बनाए।
पौडेल भने ९५ रन बनाएर आउट भए। कप्तानी इनिङ खेलेका उनले १०५ बल खेल्दै सात चौका र एक छक्का प्रहार गरेका थिए।
तेन्दुलकर र अफ्रिदीको कीर्तिमान तोड्ने नेपालका रोहित पौडेल
नेपालका उदाउँदा किशोर खेलाडी पौडेलले ज्यानुअरीमा यूएईविरुद्ध अर्धशतक बनाउँदा विश्व क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडी बनेका थिए। उनले त्यसबेला विश्व क्रिकेटका दुई अब्बल खेलाडी भारतका सचिन तेन्दुलकर र पाकिस्तानका शाहीद अफ्रिदीको कीर्तिमान तोडेका थिए।
सिङ्गापुरका तर्फबाट सबैभन्दा सफल बलर अथर्व गुन रहे। उनले नेपालको चार विकेट लिए।
आइसीसी यू१९ विश्वकप सन् २०२० को ज्यानुअरी र फेब्रुअरीमा दक्षिण अफ्रिकामा हुँदैछ। सो विश्वकपमा अफगानिस्तान, अस्ट्रेलिया, बाङ्ग्लादेश, इङ्गल्याण्ड, भारत, न्यूजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, वेस्ट इंडिज र जिम्बाबेले सोझै खेल्न पाउँछन्।
अन्य पाँच राष्ट्र भने क्षेत्रीय छनोट प्रतियोगिताबाट छनोट हुन्छन्। अफ्रिकाबाट नाइजेरिया छनोट भइसकेको छ भने एशियाबाट मलेशियामा जारी प्रतियोगिताको विजेता छनोट हुनेछ।
मलेशियामा आयोजकसहित नेपाल, कुवेत, ओमान, सिङ्गापुर र यूएई खेलिरहेका छन्।
कप्तान पौडेलले प्रतियोगिताको पूर्वसन्ध्यामा भनेका छन्: "खेलाडीहरू खेलप्रति प्रतिबद्ध छन् र नेपालमा ठूलो सङ्ख्यामा क्रिकेटका समर्थक छन्। हाम्रो टोलीलाई विश्वकपसम्म पुर्याएर देशलाई सम्मान दिलाउन सकियो भने त्यो मेरो जीवनको एक उत्कृष्ट क्षण हुनेछ।" नेपालले भोलि यूएईसँग खेल्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?