ठेकेदार कम्पनी भाग्नुमा सरकार दोषी रहेको कांग्रेसको आरोप
सारांश
- काठमाडौं, १३ पुस ।
- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मेलम्ची खानेपानी आयोजनाको ठेक्का लिएको कम्पनी सरकारकै कारण काम छोडेर भागेको आरोप लगाएको छ ।
- राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले सरकारले कम्पनीका कर्मचारीप्रति गैरकानुनी ढंगले धरपकड गरेकाले उनीहरु काम छोडेर भागेको आरोप लगाएका हुन् ।
काठमाडौं, १३ पुस । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मेलम्ची खानेपानी आयोजनाको ठेक्का लिएको कम्पनी सरकारकै कारण काम छोडेर भागेको आरोप लगाएको छ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले सरकारले कम्पनीका कर्मचारीप्रति गैरकानुनी ढंगले धरपकड गरेकाले उनीहरु काम छोडेर भागेको आरोप लगाएका हुन् ।
बैठकमा बोल्दै कांग्रेस सांसद बद्रीप्रसाद पाण्डेले सरोकारवाला मन्त्रालयका अधिकारीबाट कमिसनको खेल सुरु भएका कारण ठेकेदार कम्पनी काम छोडेर भागेको दावी गरे । विकास र सम्वृद्धिको नारा लगाएको सरकारका अधिकारीबाट नै ठूलो कमिसनको खेलमा लागेको भन्दै उहाँले सरकारलाई इमान्दारिता र पारदर्शिता देखाउन चुनौती दिए ।
सत्तारुढ दलकै सांसदले पनि मेलम्ची आयोजना निर्माणको ठेक्का लिएको कम्पनीले काम छोडेर भागेको बारे सदनलाई यथार्थ जानकारी गराउन सरकारसँग माग गरेका छन् । सांसद दिलकुमारी रावलले आयोजना निर्माणको जिम्मा लिएको इटालियन कम्पनी सिएमसीले एकातर्फी काम छोडेर हिँडेको भन्नेबारे सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
यस्तै, सांसद राधेश्याम अधिकारीले राष्ट्रिय शिक्षा आयोगले प्रारम्भिक प्रतिवेदन सरकारलाई बुझाएको भन्ने बारेमा शिक्षा मन्त्रीले सत्य तथ्य जानकारी गराउनुपर्ने बताउनुभयो । उहाँले प्रारम्भिक दस्तावेज आफूहरुले पनि हेर्न पाउनुपर्ने र संसदमा छलफलको विषय बनाइनुपर्ने माग गरे ।
त्यसैगरी सांसद जीवन बुढाले कालिकोटको पलातामा भएको आगलागीको घटनाप्रति गम्भीरता देखाएर पुनर्निर्माणको घोषणा गर्न सरकारसँग माग गरे ।
प्रतिक्रिया