रुपन्देही अजिङ्गरका लागि उचित बासस्थान बन्दै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २४, २०७६
|
|
२० पटक हेरिएको
Shares
रुपन्देही अजिङ्गरका लागि उचित बासस्थान बन्दै

सारांश

  • रुपन्देही अजिङ्गरका लागि उचित बासस्थान भएको स्थानका रुपमा पाइएको छ ।
  • जिल्लाका विभिन्न स्थानमा भेटिएका अजिङ्गरको तथ्याङ्क हेर्दा बासस्थानका लागि उपयुक्त भएको पाइएको हो ।
  •  डिभिजन वन कार्यालय रुपन्देहीका अनुसार यो आर्थिक वर्षमा मात्रै नौ वटा अजिङ्गर उद्धार गरी पुनःस्थापना गरिएको छ ।

रुपन्देही अजिङ्गरका लागि उचित बासस्थान भएको स्थानका रुपमा पाइएको छ । जिल्लाका विभिन्न स्थानमा भेटिएका अजिङ्गरको तथ्याङ्क हेर्दा बासस्थानका लागि उपयुक्त भएको पाइएको हो । डिभिजन वन कार्यालय रुपन्देहीका अनुसार यो आर्थिक वर्षमा मात्रै नौ वटा अजिङ्गर उद्धार गरी पुनःस्थापना गरिएको छ ।

जिल्लाको मायादेवी, ओमसतिया गाउँपालिका, सिद्धार्थ नगरपालिका लगायतका विभिन्न स्थानमा अजिङ्गर फेला परेको कार्यालयका सूचना अधिकारी गिरीराज पन्तले जानकारी दिनुभयो । सबैभन्दा बढी सिद्धार्थ नगरपालिकामा रहेका विभिन्न कारखाना नजीकबाट अजिङ्गरको उद्धार गरी पुनःस्थापना गरेको उनले बताए ।

“कार्यालयका तालीम प्राप्त कर्मचारीले अजिङ्गरको उद्धार गर्छन्, उद्धार गरिएका अजिङ्गरलाई मानिसको आवतजावत कम हुने स्थानमा पुनःस्थापना गर्छौं”, उहाँले भन्नुभयो । रुपन्देहीमा गत वर्ष पाँच वटा अजिङ्गरको उद्धार गरिएको थियो । वन कार्यालयले अहिलेसम्म ६७ वटा अजिङ्गरको उद्धार गरी पुनःस्थापना गरेको छ ।

यो वर्ष रुपन्देहीमा सबैभन्दा धेरै अजिङ्गर र नीलगाई उद्धार गरिएको कार्यालयका सूचना अधिकारी पन्तले बताउनुभयो । यो वर्ष अजिङ्गरसँगै दुई नीलगाई, एक–एक चितुवा, मृग, बँदेल, सारस, सुनगोहोरोको उद्धार गरिएको छ । “अजिङ्गर ठूलो सर्प हो, यो प्रायः घना जङ्गलमा बस्छ, तर कहिलेकाहीँ लत्रिएर बस्तीमा पस्छ,

यस्तो अवस्थामा उद्धार गरेर उचित बासस्थानमा पु¥याउँछौँ”, डिभिजन वन रुपन्देहीका अधिकृत इन्द्र पछाईले भने । अधिकृत पछाईका अनुसार अजिङ्गर प्रायः रूखको ठूलाठूला मुडाहरु, सुकेको पातहरु, नदी र ठूला पोखरीहरुका आसपासका घाँसेमैदानमा पनि बस्ने प्राणी हो । यसको टाउको फराकिलो र आँखाहरु साना हुन्छन् ।

आँखाको नानी पहेँलो हुन्छ । शरीर सेतो र छिरबिरे रङ्गको हुन्छ । लम्बाइ करीब सात मिटर हुन्छ । संसारमा पाइने विभिन्न सर्पमध्ये यो सबैभन्दा ठूलो सर्प भए पनि विषालु नहुने अधिकृत पछाईले बताए । “अजिङ्गर विषालु हुँदैन तर सचेतनाको अभावले यसलाई देख्नेबित्तिकै सर्वसाधारण डराउँछन्, यसले नजिस्काउँदासम्म मानिसलाई टोक्दैन”, अधिकृत पछाई भन्छन् ।

विभिन्न स्थानमा फेला परेका अजिङ्गरलाई केही समय डिभिजन वन कार्यालयको बासस्थानमा राखेर जङ्गलमा छाड्ने गरेको कार्यालयले जनाएको छ । नेपालमा रक पाइथान र बरमिज गरी दुई प्रकारका प्रजाति पाइए पनि रुपन्देहीमा रक पाइथान पाइएको छ । यसको लम्बाइ तीनदेखि सात मिटरसम्म हुने गर्दछ । रक पाइथान संरक्षित सूचीमा रहेको लोपोन्मुख सरीसृप प्राणी हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?