केदारनाथमा हेलिकप्टर दुर्घटना, चालक सहित ७ जनाको मृत्यु
सारांश
- काठमाडौ ।
- भारतको प्रशिद्ध तीर्थस्थल केदारनाथमा हेलिकप्टर दुर्घटना भएको छ ।
- दुर्घटनामा ६ तीर्थयात्रीसहित सातजनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।
काठमाडौ । भारतको प्रशिद्ध तीर्थस्थल केदारनाथमा हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा ६ तीर्थयात्रीसहित सातजनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन । दुर्घटना भएको हेलिकप्टर निजी कम्पनी भएको सञ्चारमाध्यमले उल्लेख गरेका छन । घटनाको छानबिन गर्न आदेश दिइएको छ।
राज्यका प्रहरी महानिर्देशक (डीजीपी) अशोक कुमारले स्थानीय समय दिवा १२: ४५ बजे गरुडचट्टीमा भएको दुर्घटनामा मृत्यु हुनेमा पाइलट पनि रहेको बताए।
दुर्घटनामा परेकाहरू रुद्रप्रयाग जिल्लामा रहेको केदारनाथ मन्दिरको दर्शन गरेर फर्कंदै गरेका वेला केदारनाथभन्दा दुई किलोमिटर अगाडि हेलिकप्टरमा आगो लागेको उनले बताए। दुर्घटनाको कारण तत्काल पत्ता नलागेको तर कुहिरोका कारण भिजिबिलिटी कम भएका कारण कुनै वस्तुसँग ठोक्किएर दुर्घटना भएको हुन सक्ने कुमारले बताए।
दुर्घटनाको जानकारी पाएलगत्तै दैवीप्रकोप उद्धार बल, प्रहरी र जिल्ला प्रशासनको टोली पनि उद्धारका लागि घटनास्थल पुगेका थिए। दुर्घटनामा ज्यान गुमाएकाहरूको पहिचानको प्रयास भइरहेको उनले बताए। पाइलट मुम्बईका क्याप्टेन अनिल भएको बताइएको छ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको विस्तृत अनुसन्धान गर्न निर्देशन दिएका छन्। उत्तराखण्ड नागरिक उड्डयन विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकारी र सचिव सी रविशंकरले दुर्घटनाको मजिस्ट्रेट तहमा जाँच गर्न आदेश दिइएको बताए।
नागरिक उड्डयनमन्त्री ज्योतिरादित्य सिन्धियाले मन्त्रालयले स्थितिको निरन्तर निगरानी गरिरहेको जानकारी दिए। उनले ट्वीटमा भनेका छन्, ‘केदारनाथमा भएको हेलिकप्टर दुर्घटना निकै दुर्भाग्यपूर्ण छ। हामी क्षतिको परिमाण पत्ता लगाउन राज्य सरकारसँग सम्पर्कमा छौँ र स्थितिको निरन्तर अनुगमन गरिरहेका छौं।’
प्रतिक्रिया