प्रचण्डको खुलासा : एउटा गाउँपालिका जित्न पाँच करोड खर्च
सारांश
- काठमाडौं ।
- पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एउटा गाउँपालपिका जित्न पाँच करोड खर्च भएको खुलासा गरेका छन् ।
- धनीले मात्रै जित्न सक्ने अहिलेको निर्वाचन प्रणाली बदल्नुपर्ने उनले बताएका छन् ।
काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एउटा गाउँपालपिका जित्न पाँच करोड खर्च भएको खुलासा गरेका छन् । धनीले मात्रै जित्न सक्ने अहिलेको निर्वाचन प्रणाली बदल्नुपर्ने उनले बताएका छन् ।
ललितपुरमा आयोजित मंगलबार कार्यक्रममा प्रचण्डले भने,‘भर्खरै ६ प्रदेशमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । एउटा गाउँपालिका जित्न ४/५ करोड खर्च भएको छ,यो सामान्य कुरा होइन ।’
नेकपा माओवादी केन्द्र प्रदेश नं.३ अन्तर्गतका केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्यहरुको प्रशिक्षणात्मक बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले अहिलेको निर्वाचन प्रणालीले गरीब, उत्पीडितहरुले निर्वाचन जित्न नसक्ने भएकाले निर्वाचन प्रणाली बदल्नुपर्ने बताए ।
उनले भने, ‘बिहान बेलुका छाक टार्न मुस्किल हुनेहरु क्षमता र जनविश्वास भएर पनि निर्वाचन जित्न सक्दैनन् । यो धनीले मात्र जित्ने र प्रतिभा एवं जनसमर्थन भएर पनि गरीबले हार्ने निर्वाचन प्रणाली हो । यसलाई बदल्नुको बिकल्प छैन । पार्टीहरु बीच चुनावमा प्रतिस्पर्धा हुने पूर्ण समानुपातिक प्रणालीले मात्र निर्वाचनमा देखिएको आर्थिक अराजकता र बिकृतिलाई रोक्न सक्छ ।’
प्रशिक्षणमा अध्यक्ष प्रचण्डले माओवादी र देशभक्तहरुको एकताको नेतृत्व माओवादी केन्द्रले गर्नुपर्ने बताए । उनले भने ‘हामी निर्वाचन लड्यौं, बाबुरामजी, वैद्यजीहरु पनि चुनाव लड्नुभयो, विप्लवजीहरु हामीलाई हराउनकै लागि भए पनि चुनाव लड्नुभयो । तर, जनताले उहाँहरु सबैलाई तिमीहरु माओवादी नै हो, माओवादी केन्द्रसँग मिल भन्ने जनादेश दिए । हामीलाई पनि जनताले तिमीहरु एक्लैले हुँदैन, एकताका लागि पहल गर भन्ने सन्देश दिएका छन् । जनताको यो आवाजलाई बुझेर सबै माओवादी धारा र देशभक्तहरु एक हुनुको बिकल्प छैन ।’
बैठकमा नेताहरु नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, रामबहादुर थापा ‘बादल’, अग्नि सापकोटा, पम्फा भुसाल, हितमान शाक्य, आहुति, नारायण दाहाल, सूर्य सुवेदी, अञ्जना बिसङ्खे लगायतको उपस्थिति थियो । बैठकमा प्रदेश नं.–३ का १३ जिल्लाका ईन्चार्जहरुले रिपोर्ट प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया