पम्फा र मदनका प्रतिस्पर्धी भन्छन्, ‘निस्वार्थ भावनाले देश र जनताको सेवा गर्छु’

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर ६, २०७४
|
|
३० पटक हेरिएको
Shares
पम्फा र मदनका प्रतिस्पर्धी भन्छन्, ‘निस्वार्थ भावनाले देश र जनताको सेवा गर्छु’

सारांश

  • काठमाडौं ।
  • विगत लामो समयदेखि पर्यटन क्षेत्रसग आबद्ध डिबी लिम्बु ललितपुर क्षेत्र नम्बर ३ मा नयाँ शक्ति पार्टी नेपालको तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् ।
  • ललितपुर–३ मा प्रमुख तीन दलका उम्मेदवारहरुलाई लिम्बुले चुनौति दिने भएका छन् ।

काठमाडौं । विगत लामो समयदेखि पर्यटन क्षेत्रसग आबद्ध डिबी लिम्बु ललितपुर क्षेत्र नम्बर ३ मा नयाँ शक्ति पार्टी नेपालको तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । ललितपुर–३ मा प्रमुख तीन दलका उम्मेदवारहरुलाई लिम्बुले चुनौति दिने भएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाम गठबन्धनबाट माओवादी केन्द्रकी प्रवक्ता पम्फा भूसाल, नेपाली काँग्रेसबाट मदनबहादुर अमात्य र नयाँ शक्ति पार्टी नेपालबाट डिबी लिम्बु चुनावी मैदानमा उत्रिएका हुन् । काँग्रेसबाट उम्मेदवारी दिएका मदन अमात्य दोस्रो संविधानसभा निर्वाचनमा उक्त क्षेत्रबाट निर्वाचित भएका सांसद् भने माओवादी केन्द्रकी उम्मेदवार भुसाल माओवादी प्रवक्ता हुन् । लिम्बु पर्यटन व्यवसायी र समाजसेवी भएकाले उनी स्वच्छ छवी भएका व्यक्तिका रुपमा चिनिन्छन् ।

को हुन् लिम्बु ?
२०७३ जेठ ३० गते नयाँ शक्ति पाटी नेपाल स्थापना भएसँगै सो पाटीमा आबद्ध लिम्बु केन्द्रिय सदस्य हुँदै अहिले ललितपुर जिल्ला निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका हुन् । सो निर्वाचन क्षेत्रमा जम्मा २० वटा वडाहरु छन् । मंसिर २१ मा हुने दुईवटै निर्वाचन नजिकिएसँगै उनी अहिले दिनहुँ घरदैलो कार्यक्रममा निस्कन्छन् र मतदाताको प्रत्येक घरदैलोमा पुगेर विनम्रका साथ भोट माग्छन् । सफल पर्यटन व्यवसायी र स्वच्छ छवि भएका लिम्बु कांग्रेस, एमाले र माओवादी केन्द्रभन्दा तुलनात्मक रुपमा आफ्नो चुनावी प्रचारप्रसारमा उत्साहका साथ सक्रिय भएका छन् । आफ्नो क्षेत्रलाई पर्यटनमैत्री सहर बनाउने मुख्य एजेण्डाका साथ चुनावी मैदानमा होमिएका लिम्बु प्रमुख तीन दललाई भारी मतले जितेर देखाइदिने कुरामा आफू ढुक्क रहेको बताउँछन् ।

विगत लामो समयदेखि पर्यटन क्षेत्रसँग आवद्ध लिम्बु इमान्दारीता, पारदर्शीता र स्वच्छ छविको पहिचानले पर्यटन क्षेत्रमा परिचित हुनुहुन्छ । मंसिर २१ मा सम्पन्न प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा दिनहुँ घरदैलो कार्यक्रममा व्यस्त लिम्बुको आसन्न निर्वाचनमा भ्रष्टाचार नियन्त्रण गर्ने र सांसदको तलब, सेवासुविधा जनताको र देश विकासमा खर्चिने प्रमुख एजेण्डा हो । त्यस्तै फोहोरमैला व्यवस्थापन, खानेपानी र शिक्षामा विकास गर्ने पनि अर्को महत्वपूर्ण एजेण्डा रहेको लिम्बु बताउँछन् ।

त्यस्तै खोकना, बुङमति, पाटन, हरिसिद्धि जस्ता अन्य क्षेत्रहरुलाई पर्यटकीय क्षेत्रको रुपमा चिनाउने योजना लिम्बुको रहेको छ ।को हुन् लिम्बु ? वि.स. २०१८ साउमा धरानमा जन्मिएका लिम्बुको बाल्यकाल मध्यम वर्गीय परिवारमा बित्यो । शिक्षा निकेतन मा.वि.बाट औपचारिक शिक्षाको सुरुवात गरेका लिम्बुले त्यहीँबाट २०३५ सालमा प्रवेशीका परीक्षा उत्तिर्ण गरे ।

त्यस लगत्तै उनी ब्रिटीस आर्मीमा जागिर खान हङकङ गए । उनले हङकङमा १४ वर्ष बिताए । २०४९ सालमा ब्रिटीस आर्मीबाट अवकाश पाएका लिम्बुले केही समय हङकङको एक ट्राभल्स एजेन्सीमा काम गरे । त्यहाँ हुँदा उनलाई नेपालप्रति केही गर्नुपर्छ भन्ने भावनाले उकुसमुकुस बनाइरहेका कारण उनी २०५१ सालको अन्त्यतिर नेपाल फर्किए । २०५५ सालमा फास्ट ईन्टरनेशनल ट्राभल्स सञ्चालन गरेर उनले निजी व्यवसायसँगै २०६१ सालदेखि निरन्तर समाजसेवामा लागिरहे ।लिम्बु ०६१ देखि नै ट्राभल्सको सबैभन्दा ठुलो छाता संगठन (नाट्टा) मा आबद्ध भए ।

२००६ मा उनी नाट्टामा सचिव र २००८ मा महासचिव भएका लिम्बु २०१४ देखि ०१६ सम्म अध्यक्ष भएर काम गरे । त्यस्तै, २०६४ मा ग्रान्ड एकेडेमी स्कुल (सातदोबाटो) को प्रबन्ध सञ्चालक भएका लिम्बु २०७० देखि ०७२ सम्म अध्यक्ष भए । संयुक्त पर्यटन समन्वय समितिको संयोजकसमेत रहेका लिम्बु अहिले ललितपुर महानगरपालिका वडा नं. ५ मानभवन टोल विकास संस्थाको अध्यक्ष हुन् ।

फास्ट ईन्टरनेशनल ट्राभल्स एण्ड टुर्स र फास्ट ट्राभल्स सोलुसन प्रा.लिको सञ्चालक तथा मेगा बैंक र टुरिजम विकास बैंकको प्रमोटर समेत रहेका लिम्बु समग्र मुलुकको परिवर्तनका लागि राजनीतिमा होमिएका हुन् । परिवर्तनका लागि डा बाबुराम भट्टराईको विकाशिल सिद्धान्तबाट प्रभावित बनेका लिम्बु भट्टराईकै नेतृत्वमा रहेको नयाँ शक्ति पार्टी नेपालमा प्रवेश गरेका हुन् । अहिलेको राजनीतिक परिवेशबाट आजित बनेका लिम्बु ललितपुर क्षेत्र नम्बर ३ र समग्र नेपाली जनताका ओइलिएका अपेक्षाहरुलाई जगाउन राजनीतिमा लागेको बताउछन् ।

अन्तर्वार्ता
निर्वाचन नजिकिएसँगै घरदैलो कार्यक्रममा दिनहुँ सक्रिय हुनुहुन्छ मतदाताबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?

मतदाताबाट राम्रो प्रतिक्रिया, सुझाव, सल्लाह पाएको छु । मतदाताले मलाई विजयका लागि आशीर्वाद मात्रै दिएका छैनन्, विजय गराउन लागेका पनि छन् । मैले पक्का जित्छु भन्ने मलाई आशा छ । मैले जित्ने भनेको जनताले भोट दिएर हो र मैले कति मत प्राप्त गर्न सक्छु भन्ने कुरा मेरो दिनहुँको सक्रियताले निर्धारण गर्छ ।

पछिल्लो समय नेपाली राजनीतिमा व्यापारी र ठेकेदारहरुको हावी भइरहेको बेला तपाई राजनीतिमा लाग्नुको मुख्य उद्देश्य के हो ?

जब नयाँ शक्ति पार्टी नेपालको जन्म भयो, नयाँ शक्तिका उद्देश्यहरुबारे मैले गहिरो अध्ययन गरे । यो पार्टीका उद्देश्यहरुमध्ये एउटा उद्देश्य भनेको जसको राजनीतिबाहेक वैकल्पिक पैसा हुँदैन् उसले जीविकोपार्जनको लागि भ्रष्टचार गर्छ ।

त्यसैले वैकल्पिक पेशा हुनेलाई मात्र यो पार्टीको सदस्यता दिने भन्ने उद्देश्यप्रति म आकर्षित भए । अहिले राजनीतिक अराजकतातिर गइरहेको छ । राजनीतिमा लाग्नेहरु सबै भ्रष्टचारी भए । भ्रष्टचार जीविकोपार्जन भयो । यसले मुलुकको समृद्धि सम्भव देखिएन । आखिर किन यस्तो भइरहेछ भन्ने कुराको गहिराईमा पुग्न म राजनीतिमा होमिए ।

व्यवसायीक मान्छे मुलुकको चुनावी मैदानमा उत्रनुको सहजता र असहजता के–के रहेछ ?

व्यवसायीक मान्छेलाई राजनीतिमा लागेकाहरुको जति राजनीतिक अभिव्यक्ति दिने अभ्यास हुँदैन । जनतालाई झुक्याउने चरित्र हुँदैन । हामी राजनीतिलाई जीविकोपार्जनको रुपमा लिदैनौँ । अर्को राम्रो कुरा भनेको हामीसँग निर्वाचनका लागि चाहिने पूर्वाधार, सामाग्री, उपकरण र जनशक्ति तयारी तथा सञ्चित हुन्छ ।हामीसँग हाम्रा कर्मचारीसहित वैज्ञानिक तयारी हुने भएकाले प्रचारप्रसारमा सहज हुन्छ ।

नयाँ उम्मेदवारलाई खास चुनौति के हुँदोरहेछ ?

पुरानो उम्मेदवार पहिला नै परिचित हुन्छ । नयाँ उम्मेदवार जनतासमक्ष परिचित हुन समय लाग्छ । अर्को पार्टीको कुरा पनि आउँछ । पुरानो पार्टीले काम नगरे पनि नामले सबैले चिन्छन् । पुरानो पार्टीको लिगेसीले पनि पुरानो उम्मेदवारलाई सजिलो हुन्छ । नयाँ उम्मेदवारले जनतासमक्ष आफूलाई पनि चिनाउनुपर्ने हुन्छ भने आफ्नो पाटीलाई पनि चिनाउनुपर्ने हुन्छ । यसका लागि निक्कै संघर्ष गर्नुपर्छ ।

ललितपुर निर्वाचन–३ मा दल बहादुर लिम्बुलाई नै जिताउनुपर्ने किन ?

सबैभन्दा ठूलो कुरा म व्यवसायीक मान्छे हुँ र म मा ईमान्दारीता, पारदर्शीता र स्वच्छ छविको संयोजन छ र भ्रष्टचार शुन्य सहनशीलता । यदि मैले चुनाव जिते भने सरकारी तहबाट पाउने सुविधा म लिन्न । मेरो निर्वाचन क्षेत्रमा धेरै पर्यटन सम्भावना छन् । मैले लामो समय पर्यटनमा बिताएको छु र धेरै देशको भ्रमण पनि गरेको छु । त्यसैले मेरो निर्वाचन क्षेत्रको समृद्धिका निम्ति मैले दख्खल राख्न सक्छु । त्यस्तै, म जतिसक्दो निस्वार्थ भावनाले देश र जनताको सेवा गर्छु ।

शीर्ष तीन दललाई चुनौति दिँदै छु जस्तो लाग्छ कि चुनावमा भाग लिँदै छु जस्तो लाग्छ ?

मैले चुनौति पनि दिँदै छु भने अनुभव पनि लिँदै छु । अहिले नेपाली राजनीतिमा जनताप्रति अविश्वासको वातावरण बनेकाले जनता दोधारमा छन् । जनताले कुन उम्मेदवार ठीक र कुन उम्मेदवार बेठीक भन्ने कुरामा निर्णय लिन सकेका छैनन् । अहिले सबै दलले आ–आफ्नो जितका सुनिश्चितता गरेका छन् । म पार्टीभन्दा माथि उठेर प्रतिस्पर्धीहरुको गठबन्धनको दम्भ म तोड्छु ।

तपाई व्यवसायीक मान्छे, व्यवसायीक एजेण्डाहरु चाहिँ के–के छन् ?

म व्यवसायीक मान्छे भएकाले मैले जितेभने सरकारले व्यवसायीलाई दिनुपर्ने सेवा सुविधाहरु उपलव्ध गराउँछु र सरकारप्रति व्यवसायीहरुको कर्तव्य जस्तै, कति व्यवसायीहरुले सरकारलाई ट्याक्स नतिरी व्यापार र उद्योग सञ्चालन गरिरहेका छन् । उनीहरु सबैलाई करको दायरामा ल्याउँछु ।

अर्को ललितपुरमा धार्मिक, प्राकृतिक गरी धेरै पर्यटन सम्भावना छ । ति सबै सम्भावनाहरुको खोजी, पहिचान र प्रबद्र्धन गरी ललितपुरलाई पर्यटनको हब बनाउँछु । सडक, खानेपानी, फोहोरमैला व्यवस्थापन, स्वच्छ वातावरण र यहाँको समृद्धिको लागि स्थानियहरुसँग निरन्तर साक्षात्कार र बहश र निष्कर्षलाई कार्यान्वयन मेरो पहिलो प्राथमिकता हो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Shyam Shubham Giri

    हसायो मोरा ले

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?