चुनाव चिह्न लिँदै दलहरु, अन्तिम नामावली आजै
सारांश
- काठमाडौं, १५ माघ- निर्वाचन आयोगले राष्ट्रियसभा चुनावमा भाग लिने उम्मेदवारहरुलाई आज चिह्न दिने भएको छ ।
- आगामी माघ २४ गते हुने निर्वाचनका लागि सातवटै प्रदेशमा गरी कुल ८३ जनाको उम्मेदवारी परेको छ ।
- त्यसमध्ये १८ जना निर्विरोध भएका छन् भने १ जनाको उम्मेदवारी खारेज भएको छ ।
काठमाडौं, १५ माघ- निर्वाचन आयोगले राष्ट्रियसभा चुनावमा भाग लिने उम्मेदवारहरुलाई आज चिह्न दिने भएको छ । आगामी माघ २४ गते हुने निर्वाचनका लागि सातवटै प्रदेशमा गरी कुल ८३ जनाको उम्मेदवारी परेको छ । त्यसमध्ये १८ जना निर्विरोध भएका छन् भने १ जनाको उम्मेदवारी खारेज भएको छ ।
निर्वाचन कार्यतालिका अनुसार निर्वाचनमा भाग लिएका उम्मेदवारलाई आज चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।
आयोगले प्रदेश नम्वर ४ अन्र्तगत अपांगता भएका व्यक्तिको कोटामा उम्मदवारी दिएका एमाले उम्मेदवार रामबहादुर थापाको उम्मेदवारी खारेज गरेको हो । उनीविरुद्ध प्रतिस्पर्धामा रहेका कांग्रेसका प्रकाश पन्थले उजुरी दिएका थिए ।
आयोगका प्रवक्ता नवराज ढकालले सोमबार दिउसोसम्म उम्मेदवारी फिर्ता लिने समय दिइएकाले अन्तिम नामावली प्रकाशन गरिने बताए । निर्वाचन चिह्न पाएपछि उम्मेदवारहरु आ–आफ्नो प्रचारमा लाग्नेछन् । राष्ट्रियसभा निर्वाचनका लागि आयोगले शुक्रबारदेखि निर्वाचन आचारसंहिता जारी गरिसकेको छ ।
राष्ट्रियसभाका कुल ५९ सदस्य संख्यामध्ये एकल संक्रमणीय मत प्रणालीअनुसार ५६ पदका लागि २४ गते निर्वाचन हुन लागेको हो । राष्ट्रियसभाका ५९ सिटमध्ये ५६ वटा एकल संक्रमणीय प्रणालीअनुसार निर्वाचित हुने र ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन गर्ने व्यवस्था छ । ५६ सिटमध्ये प्रत्येक प्रदेशमा तीन जना महिला, एकजना दलित, एकजना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट र अन्य तीन जना गरी ८ जनाका दरले ७ वटै प्रदेशमा निर्वाचित हुँदैछन् ।
प्रतिक्रिया