अनिस प्रतिष्ठानद्धारा आफ्नो आर्थिक गतिविधि सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १६, २०७४
|
|
२० पटक हेरिएको
Shares
अनिस प्रतिष्ठानद्धारा आफ्नो आर्थिक गतिविधि सार्वजनिक

सारांश

  • काठमाडौं, १६ माघ ।
  • वैदेशिक रोजगारीको सिलसिलामा विदेशिएका नेपालीहरुलाई परेका अफ्ठयाराहरुमा साथ दिने उद्देश्यले स्थापित अनिस प्रतिष्ठान संस्थाले आफ्ना आर्थिक गतिविधि सार्वजनिक गरेको छ ।
  • प्रतिष्ठानले मंगबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आर्थिक पारदर्शीता र दाताहरुको जानकारीका लागि अहिलेसम्मका सम्पूर्ण आर्थिक गतिविधि सार्वजनिक गरेको हो ।

काठमाडौं, १६ माघ । वैदेशिक रोजगारीको सिलसिलामा विदेशिएका नेपालीहरुलाई परेका अफ्ठयाराहरुमा साथ दिने उद्देश्यले स्थापित अनिस प्रतिष्ठान संस्थाले आफ्ना आर्थिक गतिविधि सार्वजनिक गरेको छ । प्रतिष्ठानले मंगबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आर्थिक पारदर्शीता र दाताहरुको जानकारीका लागि अहिलेसम्मका सम्पूर्ण आर्थिक गतिविधि सार्वजनिक गरेको हो ।

सो पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष रामरतन राईले प्रतिष्ठानको आर्थिक पक्ष कानुनसम्मत रुपमा चुस्त र दुरुस्त रहेको जानकारी दिँदै यो रकमको सही सदुपयोगका लागि सबै नेपालीहरु एकजुट भएर अघि बढ्नुपर्ने बताए ।

‘हामीले यो पनि भन्दै आएका छौं कि ‘हामी यो रकमको मालिक होइन, गोठालो मात्र हौं’ अध्यक्ष राईले भने, ‘त्यही गोठालोको भूमिकामा रहेर बचाउँ अभियान समितिदेखि अहिले प्रतिष्ठानसम्मको हिसाब किताव पारदर्शी रुपमा राखेका छौं । अभियानको क्रममा संकलित रकम पारदर्शी रुपमा राखेर त्यसको सही सदुपयोग गर्नु नै हाम्रा दाताहरुको भावनात्मक सम्मान गर्नु हो भन्ने ठम्याई हाम्रो छ ।’

अनिस खालिङ राई बचाउ अभियान समितिले जम्मा ३ करोड २९ लाख ९३ हजार ६०९ रुपैयाँ संकलन गरेकोमा उक्त रकममध्ये ८० लाख ५९ हजार ९५० रुपैयाँ वैदेशिक प्रवद्र्धन बोर्डमा रहेको छ । र तीन वर्षसम्म निरन्तर सञ्चालन भएको अभियानको क्रममा अनिस बचाउ अभियान समितिमार्फत जम्मा १३ लाख १६ हजार ५२९ रुपैयाँ खर्च भएको थियो ।

प्रबद्र्धन बोर्डमा रहेको रकम र खर्च रकमबाट उभे्रको २ करोड ३६ लाख १७ हजार १३० रुपैयाँ रकम बचाउ अभियान समितिमार्फत अनिस प्रतिष्ठानलाई हस्तान्तरण गरिएको थियो । जसमध्येबाट अनिस नेपाल आइसकेपछि उनको पुनःस्थापनाका लागि एकमुष्ट २५ लाख रुपैयाँ प्रदान गरिएको थियो ।

अध्यक्ष राईकाअनुसार प्रतिष्ठानले आफ्नो काम कार्यक्रमलाई अघि बढाउने क्रममा साउदीमा ट्रिपर दुर्घटना गरेको आरोमा मृत्युदण्डको सजाय सुनाईएका रोल्पाका दिलबहादुर घर्तीमगरलाई ३ लाख रुपैयाँ, बोनम्यारो रोगबाट पीडित सोलुखुम्बुका रुद्र कुलुङको उपचारार्थ १ लाख रुपैयाँ सहयोग गरेको छ भने मलेसियामा कार्यरत रहँदा ब्लड क्यान्सर भई अहिले नेपालमै उपचाररत संखुवासभाका रमेश प्रसाद तिमिल्सिनाको उपचारका लागि २५ हजार, साउदीमा कार्यरत रहेकै अवस्थामा ज्यान गुमाएका दार्चुलाका पुरनसिँह धामीको परिवारलाई पनि १५ हजार रुपैयाँ रकम सहयोग गरेको र त्यसबाहेकको सबै रकम प्रतिष्ठानमा मौजुद रहेको छ ।

सोही पत्रकार सम्मेलनमार्फत प्रतिष्ठानका अध्यक्ष राईले साउदीमा जेल सजाय भोगिरहेका ईलामका ३१ वर्षिय प्रेम कुलुङको रिहाका लागि १ लाख १ सय ११ रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय भएको घोषणा गरे । उनले अनिस बचाउँ अभियानको क्रममा संकलित गरी बैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा जम्मा भएको ८० लाख ५९ हजार ९५० रुपैयाँ रकमलाई प्रेम बहादुर राईको बचाउका लागि सदुपयोग गराउने पहल गर्न अनुरोधसमेत गरे ।

अध्यक्ष राईले सामाजिक सञ्जालमा प्रतिष्ठानमाथि लान्छित गर्ने गरी गरिएका भ्रमको खेतिको पछि नलाग्न आग्रहसमेत गरे । ‘पछिल्लो समय प्रतिष्ठानको बारेमा विनाआधारका भ्रमहरु छर्ने प्रयास भइरहेको पाइएको छ’ उनले थपे, ‘प्रतिष्ठानसम्बन्धि आवश्यक जानकारी दिन हामी सधैं तयार छौं । तपाईलाई जानकारी छैन भने आउनुस् हामी सधैं तपाईहरुको जिज्ञासाको उत्तर दिन तयार छौं । र यस्ता विनातुकका भ्रममा नपर्न देश विदेशमा रहनुभएका आमदाता अनि सञ्चारकर्मी मित्रहरुमार्फत अनुरोध पनि गर्दछौं ।’

प्रतिष्ठानका महासचिव प्रकाश खालिङले प्रतिष्ठानले घटना र मुद्धाको प्रकृति हेरेर सहयोग गर्दै आएको बताएका छन् । उनकाअनुसार सवारी दुर्घटनामा मान्छे मारेको अभियोगमा साउँदीमा मृत्युदण्ड सुनाइएका नवलपरासी मध्यविन्दु नगरपालिका ४ मदनपुरका थानेश्वर भुषाल, साउँदी अरवमा आपसी झगडा गरेको अभियोगमा मुद्दा परेको र मृत्युदण्डको सजाय सुनाइएको भनिएका सल्यानका बलबहादुर बस्नेत, मलेसियामा मृत्युदण्डको सजाय सुनाइएका नुवाकोटका हरिबहादुर घले, युएईमा मृत्युदण्डको सजाय सुनाइएका दार्चुलाका अमर बमलगायतको मृत्युदण्डसँग सम्बन्धित मुद्धाहरु तथा केही महिनाअघि इराकबाट ह्वील चियरमा फर्किएकी, अहिले टिचिङ अस्पतालमा उपचाररत भोजपुरकी ३४ वर्षीय शान्त राईलगायत दर्जनौं अभियानको बारेमा प्रतिष्ठानले आफ्नो तवरबाट आर्थिक तथा कुटनीतिक सहयोग गर्नका लागि छलफल अघि बढाइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?