देउवाले दारुको नसामा लोकतन्त्र दरवारमा लगेर बुझाइदिए :रामचन्द्र पौडेल
सारांश
- काठमाडौं, १० असाेज ।
- नेपाली कांग्रेसको संस्थापन पक्षले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग स्पष्टीकरण सोध्ने तयारी गरेको छ ।
- युरोप भ्रमणमा रहेका वरिष्ठ नेता पौडेलले दिएका केही अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै स्पष्टीकरण सोध्ने तयारी गरिएको हो ।
काठमाडौं, १० असाेज । नेपाली कांग्रेसको संस्थापन पक्षले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग स्पष्टीकरण सोध्ने तयारी गरेको छ । युरोप भ्रमणमा रहेका वरिष्ठ नेता पौडेलले दिएका केही अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै स्पष्टीकरण सोध्ने तयारी गरिएको हो । समाचार स्रोतका अनुसार पौडेल स्वदेश फर्केनेवित्तिकै स्पष्टीकरण पत्र थमाइने सम्भावना छ । संस्थापन पक्षका एक नेताले भने– ‘वरिष्ठ नेता पौडेलले युरोपका जुन जुन मुलुकमा पुगेर नेपालीहरुको जमघटमा भाषण गरे, त्यहाँ त्यहाँ उनले सभापति शेरबहादुर देउवामाथि खलनायकको आरोप लगाए, त्यसको भिडियो रेकर्ड प्राप्त भइसकेको छ, त्यही रेकर्डका आधारमा पौडेलमाथि कारवाही अघि बढाइनेछ ।’
पौडेलले सबै ठाउँमा देउवालाई लोकतन्त्रको खलनायक भने पनि पोर्चुगलको कार्यक्रममा भने सिधै लान्छना लगाएका छन् । पौडेलको भनाइ थियो– ‘गाउँलेहरुले एक महिनासम्म ठूलो मेहनत गरेर स्कूल भवन बनाउनका लागि पाँच सय भारी खर काटे, खर सुक्यो, जब छाउने बेला भयो, एउटा बदमासले सलाई कोरेर आगो लगाइदियो, एकछिनमै खर खरानी भयो, अब तपाईंहरु भन्नुस् त्यो स्कुलको व्यवस्थापन समितिको अध्यक्ष खर काट्न अगुवाई गर्नेलाई बनाउँदा राम्रो होला कि ?सलाई कोरेर आगो लगाउनेलाई ?’यतिबेला खर काट्न अगुवाई गर्नेलाई नभएर आगो लगाउनेलाई नेपाली कांग्रेसको सभापति बनाइएका कारण मुलुकमा लोकतन्त्र सङ्कटमा परेको पौडेलले बताए । पौडेलले भने– ‘३० वर्षको अनवरत सङ्घर्ष तथा ठूलो कुर्वानीका साथ प्रजातन्त्र स्थापना ग¥यौं तर देउवाले दारुको नसामा लोकतन्त्र दरवारमा लगेर बुझाइदिए । फेरि आन्दोलन ग¥यौं, संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भयो, त्यो पनि आफू प्रधानमन्त्री बन्ने लोभमा कम्युनिष्टहरुलाई लगेर बुझाइदिए, यस्ता व्यक्तिलाई पार्टीको नेतृत्वमा पु¥याउने कांग्रेसका महाधिवेशन प्रतिनिधिहरु दोषी हुन् ।
कांग्रेस र प्रजातन्त्रलाई एक दुई पटक होइन, पटकपटक धोका दिँदै आएका देउवा जबसम्म नेतृत्वमा रहन्छन्, तबसम्म कांग्रेस उँभो लाग्न नसक्ने बताउँदै पौडेलले भने– ‘पैसा र गुण्डाको प्रयोग गर्दै हिजोका राणा तथा राजाहरु देउवालाई शिखण्डी बनाएर फेरि लोकतन्त्र मास्ने अभियानमा छन्, हामी सावधान हुनु पर्छ ।’ पौडेलको यो भनाइको भिडियो हेरेपछि सभापति देउवा निकै क्रुद्ध बनेका छन् । समाचार स्रोतका अनुसार यस विषयमा उनले महामन्त्री डा शशांक कोइराला, शेखर कोइराला र सुजाता कोइरालालाई समेत भेटेर पौडेलमाथि एक्शन लिन कन्भिन्स गरिसकेको समाचार स्रोतले जनाएको छ । देउवाको भनाइ छ– ‘अब कोइराला परिवारबाटै कुनै एक जना सभापति बनुन् मलाई फिक्री छैन, कोइरालाहरुबाट प्राप्त भएको नासो कोइरालाहरुलाई नै सुम्पन तयार छु तर यो जैसीलाई कांग्रेसमा एक रहन दिन्न, दुई रहन दिन्न, तीन रहन दिन्न ।’
हिजो जगन्नाथ आचार्य, ढुण्डिराज शास्त्री, तारानाथ रानाभाट, ओमकार श्रेष्ठ, मार्शल जुलुम शाक्यलगायतका नेताहरुलाई जसरी दुधमा परेको झिँगोझैँ मिल्काइएको थियो, त्यसरी नै अब मिल्कने पालो पौडेलको भएको गाइँगुइँ कांग्रेस पङ्क्तिमा चल्न थालेको छ । देउवा र कोइराला परिवार एकजुट भएर गरेको एक्शनको प्रतिवाद गर्ने तागत कांग्रेसका कुनै नेतासँग पनि छैन । पौडेललाई मिल्काउने मामिलामा कृष्ण सिटौलादेखि गगन थापासम्म र अर्जुननरसिंह केसीदेखि डा। रामशरण महतसम्मका नेताहरुले देउवालाई सहयोग गर्ने अवस्था छ । पौडेललाई मिल्काएपछि मात्रै आफ्नो मार्गप्रशस्त हुने ठम्याइमा कोइराला परिवार पनि पुगेको छ । (जनदिशा बाट)
प्रतिक्रिया