प्रधानमन्त्री देउवालाई श्रीमती आरजुले बुझाइन् ज्ञापनपत्र, के लेखिएको छ ?
सारांश
- काठमाडौं ।
- मन्त्रिपरिषदमा ३३ प्रतिशत महिलालाई सहभागी गराउन माग गर्दै महिला सांसद समन्यव समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।
- समितिकी अध्यक्ष तथा प्रधानमन्त्री देउवाकी पत्नी आरजु राणा देउवाको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर महिला सांसदहरुले ज्ञापन पत्र बुझाएका हुन् ।
काठमाडौं । मन्त्रिपरिषदमा ३३ प्रतिशत महिलालाई सहभागी गराउन माग गर्दै महिला सांसद समन्यव समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।
समितिकी अध्यक्ष तथा प्रधानमन्त्री देउवाकी पत्नी आरजु राणा देउवाको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर महिला सांसदहरुले ज्ञापन पत्र बुझाएका हुन् । प्रधानमन्त्री देउवालाई आरजु राणाले नै ज्ञापनपत्र हस्तान्तरण गरेकी थिईन् ।
महिला सांसदहरुले देशका विभिन्न भागमा महिला जनप्रतिनिधिमाथि आक्रमण हुने गरेको भन्दै उनीहरुको सुरक्षाको व्यवस्था गर्न, छाउपडी प्रथाको अन्त्य गर्न पनि माग गरेका छन् । महिला सांसद समन्यव समितिमा सबै दलका महिला सांसदहरु सहभागी छन् ।
‘महिला सांसद समन्वय समिति’की अध्यक्ष आरजु राणाले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएकी थिइन् । भेटमा सहभागी एक महिला सांसदले भनिन्, ‘हामीले ज्ञापनपत्र बुझायौं तर, उहाँ बोल्दै बोल्नुभएन ।’ यसअघि कर्मचारी समायोजन समितिको प्रतिवेदन बुझाउने कार्यक्रममा पनि देउवाले कुनै प्रतिक्रिया दिएका थिएनन् ।
महिला सांसदहरुको ज्ञापनपत्रमा मन्त्रिपरिषदमा ३३ प्रतिशत महिलाको व्यवस्था हुनुपर्ने, लैंगिकमैत्री कानुन निर्माण हुनुपर्ने, महिला हिंसाका घटना रोकिनुपर्ने लगायतका माग राखिएका छन् ।
यसअघि सांसदहरुले महिला जनप्रतिनिधिको समेत हत्या भएको भन्दै सरकारको ध्यानाकर्षण गराएपछि सभामुख ओनसरी घर्तीले प्रधानमन्त्री देउवालाई रुलिङ गरेकी थिइन् । महिला सांसदहरुले प्रमुख दलका सबै शीर्ष नेताहरुलाई पनि भेटेर ज्ञापनपत्र बुझाउने तयारी गरेका छन् ।
प्रतिक्रिया