अझै आगो दन्किदै चीनिया सागरमा
सारांश
- चीनका यातायातमन्त्रीले पूर्वी चीन सागरमा एउटा इरानी पानीजहाज अझै जलिरहेको बताएका छन् ।
- सो पानीजहाजले झण्डै १० लाख ब्यारल ‘कण्डेन्सेट’ इन्धन बोकेको थियो ।
- ‘कण्डेन्सेट’ इन्धनको विषालु र विस्फोटक स्वरूप हो ।
चीनका यातायातमन्त्रीले पूर्वी चीन सागरमा एउटा इरानी पानीजहाज अझै जलिरहेको बताएका छन् । सो पानीजहाजले झण्डै १० लाख ब्यारल ‘कण्डेन्सेट’ इन्धन बोकेको थियो । ‘कण्डेन्सेट’ इन्धनको विषालु र विस्फोटक स्वरूप हो । थप विपद् रोक्ने भन्दै चीनले समुन्द्र सफाइ गर्नका लागि घटनास्थलमा पानीजहाजहरू पठाएको छ । एउटा मालवाहक पानीजहाजसँग ठोक्किएपछि तीन दिनयता उक्त पानीजहाज जलिरहेको छ । चिनियाँ अधिकारीहरूले हराएका चालक दलका ३१ जनाको खोजी कार्यलाई व्यापक बनाएका छन् ।
तर खराब मौसमका कारण खोजी कार्य प्रभावित भएको बताइएको छ । शनिबार सांघाईबाट १ सय ६० नौटिकल माइल पूर्वमा उक्त दुर्घटना भएको थियो । अहिलेसम्म पानीजहाजबाट चुहिएको तेलको मात्रा र त्यसले वातावरणमा पारिरहेको असरबारे स्पष्ट भई नसकेको बताइएको छ । यो सन् १९९१ यताकै सबैभन्दा खराब यस्तो प्रकृतिको दुर्घटना भएको हुन सक्ने ठानिएको छ ।
इन्धन बोकेको सो पानीजहाजसँग ठोक्किएको अर्को पानीजहाजका चालक दलका २१ सदस्यको उद्धार गरिएको छ । चीनले उद्धार कार्यका लागि कैयौँ पानीजहाजहरू परिचालन गरेको छ भने दक्षिण कोरियाले तटरक्षकसहित एउटा पानीजहाज र एउटा हेलिकप्टर परिचालन गरेको छ । अमेरिकी जलसेनाले उद्धार कार्यमा मद्दत गर्न एउटा सैनिक हेलिकप्टर पठाएको थियो ।
प्रतिक्रिया