आफ्नो पार्टी विजयी भएको पूर्वक्रिकेटर इमरानको दाबी, भावी प्रधानमन्त्रीको रुपमा उनकै चर्चामा
सारांश
- इस्लामावाद, ११ साउन ।
- क्रिकेटको चर्चित खेलाडी भएर पाकिस्तानी राजनीतिमा प्रवेश गरेका इमरान खानले अहिलेको निर्वाचनमा आफ्नो पार्टी सबैभन्दा धेरै ठाँउमा विजयी भएको दाबी गरेका छन्।
- बिहीबार सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै उनले बुधबार भएको आम निर्वाचनमा आफ्नो पार्टी ‘पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई)’ धेरै ठाउँमा विजयी भएको दाबी गरेका हुन्।
इस्लामावाद, ११ साउन । क्रिकेटको चर्चित खेलाडी भएर पाकिस्तानी राजनीतिमा प्रवेश गरेका इमरान खानले अहिलेको निर्वाचनमा आफ्नो पार्टी सबैभन्दा धेरै ठाँउमा विजयी भएको दाबी गरेका छन्। बिहीबार सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै उनले बुधबार भएको आम निर्वाचनमा आफ्नो पार्टी ‘पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई)’ धेरै ठाउँमा विजयी भएको दाबी गरेका हुन्। निर्वाचन सम्पन्न भएको २४ घण्टाभित्रमा मतपरिणाम सार्वजनिक हुने भनिए पनि अहिलेसम्म औपचारिक रूपमा मत परिणाम भने सार्वजनिक भएको छैन ।
पाकिस्तानमा केही हिंसात्मक घटनाका बीच बुधबार बिहान ८ बजे शुरु भएको मतदान बेलुका ६ बजे सकिएको थियो । मतदान सकिएको २४ घण्टाभन्दा बढी समय भइसक्दासमेत मत परिणाम सार्वजनिक नभएको र अनपेक्षित ढिलाइले चुनावी नतिजाको वैधानिकतामा नै प्रश्न उब्जिएको आलोचकहरूको भनाई छ । पराजित भएका दलहरूले मतपरिणाम अस्वीकार गर्ने चेतावनी दिएपछि निर्वाचन आयोगले अहिलेसम्म मतपरिणाम सार्वजनिक गर्न नसकेको बताइएको छ । कतिपय अन्य दलहरूले निर्वाचनमा धाँधली भएको भन्दै मत परिणाम अस्वीकार गर्ने संकेत गरेका छन् ।

पूर्वप्रधानमन्त्री नवाज शरिफ नेतृत्वको सत्तारुढ दल पाकिस्तान मुस्लिम लीग–नवाजले मतदानमा सेनाको सहयोगमा व्यापक धाँधली भएको आरोप लगाउँदै अनधिकृत चुनावी परिणामलाई स्वीकार गर्न नसकिने जनाएको छ । पाकिस्तान चुनाव आयोगले चुनावमा धाँधली भएको भन्ने आरोपको खण्डन गर्दै सफ्टवेयरमा समस्या आएका कारण चुनावी परिणाम घोषणामा ढिलाई भएको स्पष्ट गरेको छ । “यो चुनाव शतप्रतिशत निष्पक्ष र पारदर्शीरूपमा सम्पन्न भएको छ,” प्रमुख निर्वाचन आयुक्त सरदार मुहम्मद राजाले बताए ।
सन् २०१३ देखि नै सत्तामा रहेको पाकिस्तान मुस्लिम लीग–नवाज (पीएमएल–एन)ले चुनावी परिणामलाई “खुलेआम धाँधली” को संज्ञा दिँदै यस परिणामलाई स्वीकार्न नसकिने जनाएको छ, र यस नतिजाका विरुद्धमा राजनीतिक एवं कानूनी विकल्प प्रयोग गरिने स्पष्ट गरेको छ । कुनै समय पाकिस्तानको प्रमुख राजनीतिक शक्तिका रूपमा रहेको पाकिस्तान पिपुल्स पार्टीले समेत चुनावमा व्यापक धाँधली भएको आरोप लगाएको छ । आफ्नो पार्टीका प्रतिनिधिलाई मतगणना स्थलमा प्रवेश गर्नसमेत नदिइएको सो पार्टीका अध्यक्ष बिलावल भुट्टोले ट्वीटमार्फत जानकारी गराएका छन्।

चुनावमा दिनहुँ हिंसात्मक घटना हुन थालेपछि देशभरका ८५,००० मतदान स्थलमा करिब ३५०,००० सुरक्षाकर्मी परिचालन गरिएको थियो । राष्ट्रिय सभाका २७० स्थान र चारवटा प्रान्तीय सभाका ५७७ स्थानका लागि ११,००० भन्दाबढी उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए । पाकिस्तानमा कूल २७० स्थान रहेको राष्ट्रिय सभाबाट सरकार गठनका लागि १३७ स्थान आवश्यक पर्दछ । “हामीलाई जनताले मतादेश दिएका छन्, हामी सफल भएका छौँ,” ६५ वर्षीय खानले सञ्चारकर्मीहरूसँग उत्साहित हुँदै भने ।
भावी प्रधानमन्त्रीकाे चर्चामा इमरान
सन् १९९२ मा भएको विश्वकप क्रिकेटको उपाधि कब्जा गर्न सफल पाकिस्तानी टिमको नेतृत्व गरेका विश्व चर्चित इमरान खान अहिले भावी प्रधानमन्त्रीका रूपमा उदाएपछि फेरी चर्चाको शिखरमा पुगेका छन् । खान नेतृत्वको टोलीले नै पाकिस्तानलाई पहिलो पटक विश्वकप क्रिकेटको उपाधि दिलाउन सफल भएको थियो । क्रिकेटबाट मुलुकलाई विश्वकपको उपाधि दिलाएसँगै क्रिकेटबाट संन्यास लिएर राजनीतिमा प्रवेश गरेका खानलाई पाकिस्तानको भावी प्रधानमन्त्रीका रूपमा हेरिएको छ ।

क्रिकेटबाट बिदा भएर ४३ वर्षको उमेरमा इमरानले सन् १९९६ मा पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई) गठन गरेर राजनीतिमा प्रवेश गरेका थिए । भ्रष्टाचारविरोधी अभियान र विभिन्न सामाजिक मुद्दालाई उठान गर्नु भएका इमरानलाई शुरुमा धेरैले विश्वास गरेनन । सन् २००२ मा भएको निर्वाचनमा २७२ सिटमध्ये उनकाे पार्टीले एक सिट मात्रै जितेपछि निराश नबनाएको पनि होइन । तर उनले आफ्नो अभियान र सक्रियतालाई जारी नै राखे ।
अहिले भने स्वच्छ सरकार, भ्रष्टाचार विरोधी कानून, स्वतन्त्र न्यायपालिका, चुस्त सुरक्षा व्यवस्था, आतंकवाद विरोधी पाकिस्तानलगायतका कार्यसूचीहरूलाई इमरानले मुख्य चुनावी कार्यसूची बनाएर निरन्तर अभियान चलाइरहेकाले उनकाे पार्टीलाई पाकिस्तानी जनताले एकाएक सबैभन्दा ठूलो पार्टी बनाइदिएका छन् ।
राजनीति गर्नुभन्दा पहिलेसम्म पाकिस्तानको निर्वाचनमा कहिल्यै भोट नहालेको बताउने इमरानलाई अहिले भने पाकिस्तानका लाखौँ मतदाताले मतदान गरेर प्रधानमन्त्री बन्ने बाटो खोलिदिएका छन् । अनेक उतार चढावका बीचमा पनि उनले निराश नभई चलाइरहेको आफ्नो अभियानले अहिले उच्च सफलता प्राप्त गरेको भन्दै अब मुलुकको मुहार फेर्ने प्रतिबद्धता गरेका छन् । अन्य पार्टीहरूको असन्तुष्टीका कारण निर्वाचनको मतपरिणामको औपचारिक घोषणा हुन अझै बाँकी रहे पनि उनकाे पार्टी नै सबैभन्दा ठूलो पार्टी हुने देखिएको छ ।
प्रतिक्रिया