उजिर, आङ्ला, शेर्पा र चौधरीलाई आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार
सारांश
- काठमाडौं, १६ साउन ।
- यसवर्षको “आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार– २०७५” पत्रकारहरु उजिर मगर, भैरव आङ्ला, छेटु शेर्पा र विमला चौधरीले प्राप्त गर्ने भएका छन् ।
- पुरस्कारसम्बन्धी निर्णय सार्वजनिक गर्न महासचिव मनोज घर्तीमगरले जारी गरेको विज्ञप्तिमा यो कुरा जनाइएको छ ।
काठमाडौं, १६ साउन । यसवर्षको “आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार– २०७५” पत्रकारहरु उजिर मगर, भैरव आङ्ला, छेटु शेर्पा र विमला चौधरीले प्राप्त गर्ने भएका छन् । पुरस्कारसम्बन्धी निर्णय सार्वजनिक गर्न महासचिव मनोज घर्तीमगरले जारी गरेको विज्ञप्तिमा यो कुरा जनाइएको छ ।
विज्ञप्तिका अनुसार उजिर मगर (अनलाइन), भैरव आङला (टेलिभिजन), छेटु शेर्पा (छापा) र विमला चौधरी (रेडियो) विधामा पुरस्कृत भएका हुन् । पुरस्कार छनौट समितिको २०७५ साउन १४ गते बसेको बैठकले गरेको पुरस्कार छनौट सम्बन्धी निर्णयलाई २०७५ साउन १५ गते बसेको फोनिज सचिवालय बैठकले अनुमोदन गरेको हो । पुरस्कार २०७५ साउन २७ गते फोनिजको स्थापना दिवसको अवसरमा आयोजना गरिने “१९औं स्थापना दिवस तथा पुरस्कार वितरण समारोह– २०७५” कार्यक्रममा प्रदान गरिने बताइएको छ ।
पुरस्कारको राशी जनही ४०,०००/– (चालीस हजार रुपैयाँ) रहेको छ । स्थापना दिवस तथा पुरस्कार वितरण कार्यक्रम साउन २७ गते अपरान्ह १ बजे अनामनगरस्थित तमु बौद्ध सेवा समितिको सभाहलमा आयोजना गरिने बताइएको छ । फोनिजका पूर्वअध्यक्ष खिम घले संयोजक रहेको छनौट समितिमा वरिष्ठ पत्रकार टीकाराम राई र अनिता गुरुङ सदस्य थिए ।
पुरस्कृत पत्रकारको संक्षित विवरण
उजिर मगर
२०५२ सालमा हाँक साप्ताहिकबाट पत्रकारिता सुरुवात गरेका उजिर मगरले महिमा साप्ताहिक, कान्तिपुर दैनिक र नागरिक दैनिकमा लामो समय काम गरिसकेका छन् । हाल एभरेष्टदैनिक डटकममा कार्यरत मगर नेपाल पत्रकार महासंघका निवर्तमान महासचिव हुन् भने फोनिजका सल्लाहकार समेत रहेका छन् ।
भैरव आङ्ला
२०५६ सालमा मिराक साप्ताहिकबाट पत्रकारिता सुरु गरेका भैरव आङ्लाले न्यूज टाइम्स साप्ताहिक, मर्निङ पोष्ट दैनिक, खबरपत्रिका साप्ताहिक, भूगोल साप्ताहिक, धरान टाइम्स दैनिक, सयपत्री दैनिक र सप्ताकोसी एफएममा काम गरिसकेका छन् । सुनसरीबाट एबीसी टेलिभिजनमा काम गरिरहेका आङ्ला धरानको विजयपुर एफएमका कार्यक्रम संयोजक पनि हुन् । उनले लिम्बू भाषामा रेडियो कार्यक्रम उत्पादन तथा प्रसारण गरेर मातृभाषा बिकासमा समेत योगदान पुराइरहेका छन् ।
छेटु शेर्पा
२०६३ सालदेखि ब्लाष्ट टाइम्स दैनिकबाट पत्रकारिता सुरु गरेका छेटु शेर्पाले गोरखापत्र दैनिक, सगरमाथा टेलिभिजन र न्यूज २४ टेलिभिजनमा काम गरिसकेका छन् । हाल अन्नपूर्ण दैनिकमा कार्यरत शेर्पा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य हुन् ।
विमला चौधरी
२०६२ सालदेखि पत्रकारिता सुरु गरेकी विमला चौधरीले रेडियो तुलसीपुर, रेडियो बागेश्वरी लगायतमा काम गरिसकेकी छन् । हाल बाँकेको नेपालञ्जस्थित रेडियो सदभावमा कार्यरत चौधरीले पत्रकारिता जीवनको सुरुवातदेखि नै थारु भाषा विकासमा योगदान पु¥याउँदै आएकी छन् ।
प्रतिक्रिया