एनिमल साइन्सको पढाई हुँदा किन भयो सभामुख महराको सपना पूरा ?
सारांश
- काठमाडौं, १० जेठ ।
- सभामुख कृष्णबहादुर महराले पशुपालन क्षेत्र नेपालको आर्थिक समृद्धिको महत्वपूर्ण पाटो भएको बताएका छन् ।
- नेपाल भेटेरीनरी एशोसिएसन नेपालको १३ औं राष्ट्रिय सम्मेलनको काठमाडौंमा उद्घाटन गर्दै सभामुख महराले यस्तो बताएका हुन् ।
काठमाडौं, १० जेठ । सभामुख कृष्णबहादुर महराले पशुपालन क्षेत्र नेपालको आर्थिक समृद्धिको महत्वपूर्ण पाटो भएको बताएका छन् ।
नेपाल भेटेरीनरी एशोसिएसन नेपालको १३ औं राष्ट्रिय सम्मेलनको काठमाडौंमा उद्घाटन गर्दै सभामुख महराले यस्तो बताएका हुन् ।
नेपालको जनसंख्याको ठूलो हिस्सा कृषिमा आधारित रहेको भन्दै सभामुख महराले कृषि क्षेत्र पशुपालन र भेटेरीनरी सेवासँग अभिन्न रुपमा गाँसिएको बताए । “नेपालको जनसंख्याको ठूलो हिस्सा कृषि पेशामा आधारित रहेको छ”, सभामुख महराले भने, “कृषि क्षेत्र पशुपालनसँग अभिन्नरुपमा गाँसिएको छ ।”
भेटेरीनरी एशोसिएसनले ५० वर्षको यात्रा पूरा गरेकोमा बधाई दिँदै सभामुख महराले देशको आर्थिक मेरुदण्डको एउटा पाटोको रुपमा संस्थाले गरिरहेको काम र सेवाको निरन्तरताका लागि आग्रह गरे ।
३० वर्षअघि आफू पनि किसान भएको स्मरण गर्दै सभामुख महराले आफूले रोल्पामा कल्याण गाईपालन समूह खोलेर पशुपालन शुरु गरेको बताए । “३० वर्षअघि म पनि किसान थिएँ । केशवजी भेटेरीनरी डाक्टर हुनुहुन्थ्यो । उहाँको पहलमा रोल्पाको लिबाङमा कल्याण गाईपालन समूह खोलेर वीरगञ्जबाट ५ वटा होलस्टिन गाई ल्याई पालेका थियौं ।”
असल किसान बन्ने विगतको सपना अहिले सम्झिरहेको बताउँदै सभामुख महराले भने, “पशुपालन क्षेत्रमा केही राम्रो काम गर्ने र उन्नत गाउँ विकास गर्ने हाम्रो सपना थियो, परिस्थितिले म यहाँ आइपुगें, अहिले त्यो त्यो सपना सम्झिरहेको छु ।”
विगतमा गाई पालेको रोल्पाको आफ्नो जग्गाजमिन १० वर्षअघि निःशुल्क रुपमा पोलिटेक्निकल कलेजका लागि दिएको भन्दै सभामुख महराले गत वर्षदेखि त्यहाँ एनिमल साइन्सको पढाई शुरु भएको बताए ।
आफूले किसान भएर काम गर्न नसके पनि आफूले गाईपालन शुरु गरेको ठाउँमा अहिले एनिमल साइन्सको पढाइ हुनु आफ्नै सपना पूरा भएजस्तो लागेको महराले बताए । १० महिनाअघि एनिमल साइन्सको कक्षा आफैले पढाएर शुरुवात गरेको उनले बताए ।
देशका प्रत्येक किसान परिवारको न्यूनतम आयआर्जनको क्षेत्र पशुपालन क्षेत्र बनेको बताउँदै सभामुख महराले हरेक परिवारलाई आर्थिक रुपमा सक्षम बनाउन सके मात्रै नेपालको आर्थिक समृद्धि सम्भव हुने बताए ।
नेपालको संविधानले समाजवादउन्मुख अर्थतन्त्रको परिकल्पना गरेको भन्दै राज्यले न्यून आय भएका कृषकहरुको आयआर्जन वृद्धिका लागि विशेष पहल गर्नुपर्नेमा जोड दिए । भेटेरीनरी सेवालाई आम किसानको पहुँचसम्म पु¥याउन र सर्वसुलभ बनाउन राज्यले विशेष ध्यान दिनुपर्ने सभामुख महराले बताए ।
कृषि, पशुपालन र भेटेरीनरी सेवासम्बन्धी कतिपय कानूनहरु नहुँदा काम गर्न अप्ठ्यारो भन्दै सभामुख महराले कानून निर्माणतर्फ तदारुकता दिन सरकारलाई आग्रह पनि गरे । “कृषि, पशुपालन र भेटेरीनरी सेवासम्बन्धी कतिपय कानूनहरु नहुँदा काममा कठिनाइ भइरहेको छ”, सभामुख महराले भने, “सरकारले छिटोभन्दा छिटो ती कानून निर्माणका लागि विधेयकहरु सदनमा पेश गर्न र पास गर्न पहल गर्न म ध्यानाकर्षण गराउँछु ।”
प्रतिक्रिया