एमाले-माओवादी एकता प्रक्रिया पर धकेलियो
सारांश
- काठमाडौं – नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया केही समयका लागि पर धकेलिएको छ ।
- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आइतबार महत्वपूर्ण वार्ता स्थगित गरेर परिवारसँग बिदा मनाउन हिँडेपछि दुई पार्टीबीच आगामी ९ गते हुने भनिएको एकता तत्कालका लागि टरेको हो।
- दुवै पार्टीका नेताहरुले वैशाख ९ गते पार्टी एकता हुने भनेर सार्वजनिक कार्यक्रमहरुमा बताउँदै आएका थिए ।
काठमाडौं – नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया केही समयका लागि पर धकेलिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आइतबार महत्वपूर्ण वार्ता स्थगित गरेर परिवारसँग बिदा मनाउन हिँडेपछि दुई पार्टीबीच आगामी ९ गते हुने भनिएको एकता तत्कालका लागि टरेको हो।
दुवै पार्टीका नेताहरुले वैशाख ९ गते पार्टी एकता हुने भनेर सार्वजनिक कार्यक्रमहरुमा बताउँदै आएका थिए । दाहालले आइतबार वार्ता छाडेर हिँडेपछि दुई दलबीच विश्वासको वातावरण बनिनसकेको देखिएको छ। पछिल्लो समयमा माओवादी नेताहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीको पार्टी र सरकार सञ्चालन कार्यशैलीप्रति असन्तुष्ट व्यक्त गर्दैै आएका छन्।
दुवै दलबीच एकीकृत दलमा एमाले र माओवादीबाट सहभागिताको अनुपात, पार्टी विधानमा जनयुद्ध राख्ने वा नराख्ने र चुनाव चिह्नका विषयमा सहमति जुट्न बाँकी छ।प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओली कर्णाली प्रदेशका तीनदिने भ्रमण सकेर काठमाडौं फर्के पनि अध्यक्ष दाहाल सपरिवार आराम गर्न भन्दै सिन्धुपाल्चोकको सुकुटेतर्फ लागेका हुन् ।
ओली र दाहालबीच एकताका विषयमा आइतबार साँझ छलफल हुने कार्यक्रम तय भएको थियो । ‘दुवै अध्यक्षबीच आइतबार वान अन वान छलफल हुने कार्यक्रम थियो । त्यसपछि सोमबार संयोजन समितिको बैठक बस्ने पूर्वतयारी थियो,’ एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने, ‘तर आइतबार दुई अध्यक्षबीच छलफल हुन सकेन । छलफलमा समाधान हुन बाँकी रहेका विषय टुंग्याउने भनिएको थियो।’
एकीकृत पार्टीमा प्रतिनिधित्वको अनुपात, पार्टी विधानमा माओवादी जनयुद्ध राख्ने वा नराख्ने र चुनाव चिह्नबारे निकास दिन नसकेपछि त्यसलाई अन्तरिम विधान मस्यौदा कार्यदलले दुवै दलको शीर्ष नेताहरु सम्मिलित केन्द्रीय एकता संयोजन समितिमा पठाएको थियो।
कार्यदलले वैशाख ९ गते नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवस पारेर एकता गर्न सुझाव दिएको थियो । दुवै पक्षबीच यस विषयमा अनौपचारिक सहमति पनि रहेको थियो। एकता संयोजन समितिको बैठक नबसेका कारण कार्यदलको प्रतिवेदनमाथि छलफल नै हुन सकेको छैन।
नेम्वाङले वैशाख ९ गते एकता हुने सम्भावना टरिनसकेको बताए । तर माओवादी केन्द्रका अध्यक्ष दाहालसँग आइतबार बिहान भेटेका माओवादी हेडक्वार्टरका सदस्य मणि थापाले भने ९ गते एकता हुने सम्भावना कम भएको बताए ।‘अध्यक्ष दाहालले दुई पार्टीबीच वैशाख ९ गते एकता घोषणा हुन सक्ने बताउनुभएको त छैन तर उहाँको आशय तत्काल एकता हुन नसक्ने देखिन्छ,’ थापाले भने।
कार्यदलले प्रधानमन्मन्त्री केपी शर्मा ओलीको भारत भ्रमणअघि नै मस्यौदा प्रतिवेदन बुझाएको थियो । प्रधानमन्त्री ओली भारत भ्रमणबाट फर्केपछि चैत २७ गते समितिको बैठक बस्ने कार्यक्रम थियो । तर बैठक अहिलेसम्म बस्न सकेको छैन।गत बुधबारका लागि बोलाइएको बैठक अध्यक्ष दाहाल अस्वस्थ भएपछि स्थगित भएको थियो । दाहाल बिहीबार गृहजिल्ला चितवन लागेका थिए भने प्रधानमन्त्री ओली मुगुको रारा पुगेका थिए।
दाहालका साथ माओवादी केन्द्रका नेता अग्नि सापकोटा पनि सुकुटे गएका छन् । दाहाल सोमबार अपराह्न राजधानी फर्कने कार्यक्रम रहेको उनी निकट स्रोतले बतायो । विगतमा पनि दाहाल महतपूर्ण निर्णय लिनुअघि र तनाव छल्न सुकुटे जाने गरेका थिए।
आजको नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया