श्रीदेवीको एउटै चाहना थियो, त्यो…
सारांश
- काठमाडौं ।
- बलिउड अभिनेत्री श्रीदेवीको ५४ वर्षको उमेरमा शनिबार राति ११ः३० बजे निधन भएको छ ।
- भान्जा मोहित मारवाहको आइतबार हुन लागेको विवाहमा सहभागी हुन श्रीमन कोनी कपुर र कान्छी छोरी खुसी कपुरसँग दुबई गएकी उनको हृदयघातको कारण निधन भएको हो ।
काठमाडौं । बलिउड अभिनेत्री श्रीदेवीको ५४ वर्षको उमेरमा शनिबार राति ११ः३० बजे निधन भएको छ । भान्जा मोहित मारवाहको आइतबार हुन लागेको विवाहमा सहभागी हुन श्रीमन कोनी कपुर र कान्छी छोरी खुसी कपुरसँग दुबई गएकी उनको हृदयघातको कारण निधन भएको हो ।
छोरीको डेब्यू देख्न नपाई निधन
श्रीदेवीको एउटा चाहना थियो छोरी जान्वी कपुरलाई स्टार भएको देख्ने । उनले छोरी जान्वीलाई सिनेमामा फोकस हुन र राम्रो काम गर्न अपनाएका विविध उपायहरु एकताका चर्चामा थिए । तर, दुभाग्र्य उनले अन्तिम सास लिने समयमा समेत छोरीको अनुहार हेर्न पाइनन् ।
डेब्यू सिनेमा ‘धडक’ को छायाकंनको क्रममा जान्वी परिवारसँग दुबई जान पाएकी थिइनन् । जान्वीको डेब्यू सिनेमा ‘धडक’ आगामि जुलाईमा प्रदर्शन हुने भएको छ ।
श्रीदेवीको निधनमा नेपाली कलाकारहरुद्वारा शोक व्यक्त
उनको निधनले अहिले बलिउड र उनका शुभचिन्तकहरुलाई शोकमा पारेको छ । नेपाली कलाकारहरुको समेत सामाजिक सञ्जालबाट उनको निधनमा शोक व्यक्त गरेका छन् ।
नेपाली हास्यकलाकार दिपाश्री निरौला, दिपकराज गिरी, दिपक आचार्यलगायत धेरैले उनको निधनमा शोक व्यक्त गरेका छन् । निरौलाले ‘ओएमजी, सानोमा म पनि तपाईं जस्तो हुन चाहन्थे’ भन्दै आफ्नो फेसबुकमा स्ट्याटस पोष्ट गरेकी छन् ।
त्यस्तै दिपकराज गिरीले पनि उनको निधनमा शोक व्यक्त गरेका छन् । गिरीले ‘म कुनै हिरोइनको दिवाना थिए भने केवल श्रीदेवीको, उनको रूपको अभिनयको एक पटक फ्यानको नाताले भेट्ने मौका पनि मिलेको थियो, ‘रिप’ भन्दै फेसबुकमा स्ट्याटस लेखेका छन् ।
करिअरको सुरुवात
अगस्ट १३ सन् १९६३ मा मद्रास शहरमा जन्मेकी श्रीदेवीको वास्तविक नाम श्री अम्मा अयंगर अयाप्पन हो । तर उनी श्रीदेवीको नामबाट चर्चित हुन पुगिन् । श्रीदेवीका बुवा तमिल थिए भने आमा तेलुगु । उनका बुवा वकिल थिए ।
श्रीदेवीले ४ वर्षको उमेरमा अभिनय गर्न थालेकी थिइन् । ४ वर्षको उमेरमा तमिल सिनेमा ‘थुनइवन’बाट उनको अभिनयको सुरुवात भएको थियो ।
एकताका उनले तमिल र तेलेगु सिनेमामा बाल कलाकार भएर राज गरिन् भने पछि मुख्य अभिनेत्रीको रुपमा पनि काम गरिन् र सफल अभिनेत्रीको सूचिमा आफ्नो नाम दर्ता गराइन् । उनले १३ वर्षको उमेरमा अभिनेता रजनीकान्तको सौतेनी आमा भएर काम गरेकी थिइन् । यो तमिल सिनेमामा उनको लिड अभिनेत्रीको रुपमा पहिलो सिनेमा थियो ।
बलिउडमा पनि उनले बाल कलाकारको रुपमा सन् १९७५ को सिनेमा ‘जुली’मा काम गरेकी थिइन् । मुख्य अभिनेत्रीको रुपमा भने उनको सिने यात्रा सन् १९७९ मासिनेमा ‘सोलवा सावन’मार्फत भएको थियो । पहिलो सिनेमाले उनलाई खासै फाइदा पुर्याएन । तर सन् १९८३ मा सिनेमा हिम्मतवालामा काम गरेपछि भने उनलाई बलिउड करिअरलाई पछि फर्केर हेर्नै परेन ।
श्रीदेवीले आफ्नो सिने करिअरमा दर्जनौँ सिनेमाहरु छोडेकी छिन् जसले उनलाई सदैव जीवित राख्नेछ । उनको सिने करिअरमा मवाली १९८३, तोहफा १९८४, मक्सद १९८४, मास्टरजी १९८५, नजराना १९८७ मिस्टर इण्डिया १९८७ वक्तकि आवाज १९८८, चाँदनी १९८९, सदमा १९८३, नागिन १९८६, चालबाज १९८९, लम्हे १९९१, खुदागवाह १९९२, गुमराह १९९४, जुदाइ १९९७ जस्ता सिनेमाहरु कारोबारमा सफल रहे र उनलाई पनि सफलताको उचाइमा पुर्याए ।
एक पछि अर्को सफल सिनेमा दिएपछि उनलाई बलिउडमा सुपरस्टारको दर्जा दिइयो । श्रीदेवीले सदमा, चाँदनी, गर्जना, क्षण क्षणम जस्ता सिनेमाका लागि गीत पनि गाएकी छिन् ।
१५ वर्षसम्म सिनेमाबाट ब्रेक
१९९६ मा विवाह गरेपछि श्रीदेवीको सिने करिअर १५ वर्षका लागि रोकियो । सिनेमाबाट ब्रेक लिएको १५ वर्षपछि उनले सन् २०१२ मासिनेमा ‘इंग्लिस भिंििग्लस’ बाट कमब्याक गरिन् । तर उनको कमब्याक कारोबारमा हिसाबले भने त्यति प्रभावकारी बन्न सकेन । तर उनको काम र सिनेमाले भने सकारात्मक प्रतिक्रिया बटुलेको थियो ।
५० वर्ष लामो सिने यात्रामा उनको अन्तिम सिनेमा सन् २०१५ को ‘मम’ बनेको छ । यो उनको ३ सय औँ सिनेमा हो । ३ सय वटा सिनेमामा काम गरिसकेकी श्रीदेवीले ५ पटक आइफा अवार्ड पाएकी छिन् भने १० पटक उनी यो अवार्डको लागि नोमिनेशनमा परेकी छिन् । गतवर्ष मात्रै उनलाई भारत सरकारले पद्मश्री अवार्डबाट सम्मानित गरेको थियो ।
एक करोड पारिश्रमिक पाउने पहिलो अभिनेत्री
बलिउडमा अहिले पनि नायिकाको पारिश्रमिक नायकको तुलनामा निकै कम हुने गर्छ । तर ८० र ९० को दशकमा भने निर्माताहरुले श्रीदेवीलाई नै सिनेमा चलाउने फर्मुला मान्थे । दर्शकले सिनेमामा श्रीदेवीलाई मात्र हेर्न चाहने भएकै कारण निर्माताहरु अभिनेताको भन्दा धेरै पारिश्रमिक दिन पनि तयार हुन्थे । यसकारण उनी बलिउडमा सबैभन्दा पहिले एक करोड पारिश्रमिक पाउने अभिनेत्री बनेकी थिइन् ।
प्रतिक्रिया