नजिकिँदै आठौं राष्ट्रिय खेलकूद प्रतियोगिता

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २७, २०७५
|
|
२९ पटक हेरिएको
Shares
नजिकिँदै आठौं राष्ट्रिय खेलकूद प्रतियोगिता

सारांश

  • काशीराम शर्मा बाँके।
  • घरेलु खेलकूदको कुम्भ मेला नजिकिँदै छ।
  • नेपालगञ्जलाई केन्द्र बनाएर आयोजना हुने आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताले खेलाडी, खेलप्रेमी र आमनागरिकलाई उत्साहित बनाएको छ।
काशीराम शर्मा
बाँके। घरेलु खेलकूदको कुम्भ मेला नजिकिँदै छ। नेपालगञ्जलाई केन्द्र बनाएर आयोजना हुने आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताले खेलाडी, खेलप्रेमी र आमनागरिकलाई उत्साहित बनाएको छ। खेलकूदको यो कुम्भ मेलाले खेलप्रेमी र खेलाडीलाई मात्र नभई सिङ्गो देशलाई खेलकूदमय बनाइदिएको छ।
भव्यता र व्यापकताका हिसाबले मुलुकभित्र हुने आठौं संस्करणको यो प्रतियोगिताले खेल जगत्लाई चलायमान बनाउने र नयाँ गति दिने विश्वास गरिएको छ। राष्ट्रले प्रतिभावान् खेलाडी उत्पादन गर्न नियमित रूपमा गरिने राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत तल्लो तहबाटै छनोट प्रतियोगिताहरु आयोजना गरी खेलाडी छनोट गरिन्छ। यसरी छनोट भएर आएका खेलाडीले राष्ट्रियस्तरमा चर्चित खेलाडीहरूसँंग प्रतिष्पर्धा गरेर आफ्नो क्षमता देखाउने अवसर पाउँछन्। 
नेपालमा भने राष्ट्रिय खेलकूद प्रतियोगिता शुरु भएको ३८ वर्ष पूरा भइसकेको भए पनि अहिलेसम्म सात वटा संस्करण मात्र आयोजना हुन सकेका छन्। प्रत्येक दुई÷दुई वर्षमा राष्ट्रिय खेलकूद आयोजना गरिने भनिए पनि यसले निरन्तरता पाउन सकेको छैन। अहिले आठौं खेलकूद हुँदैछ । यहाँ बढेको गर्मीसँगै आठौंको सरगर्मीले नेपालगञ्जलाई छपक्कै छोपेको छ। प्रतियोगितालाई भव्य र सभ्य बनाउन आयोजकलाई भ्याइनभ्याई छ। 
प्रतियोगितामा २ हजार ८२५ पुरुष र २ हजार ३८६ महिला गरी ५ हजार २११ खेलाडीबीच रोमाञ्चक प्रतिष्पर्धा हुनेछ। कुल ६४० प्रशिक्षक र ४६१ टोली व्यवस्थापकलाई फुर्सद छैन । प्रतियोगिताका लागि ९२२ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायक र ४७१ स्थानीय निर्णायक छनोट भइसकेका छन्। राष्ट्रिय खेलकूद परिषद् (राखेप)का अनुसार खेलाडीले ३७२ स्वर्ण, ३७२ रजत र ५६३ काश्यका लागि प्रतिष्पर्धा गर्नेछन्। 
व्यक्तिगत विधामा स्वर्ण विजेताले १५ हजार र सामूहिकतर्फको विजेताले ७ हजार पाउने छन् भने राष्ट्रिय कीर्तिमान भङ्ग गर्नेले २५ हजार पाउने छन्। प्रतियोगितामा ७ प्रदेश, तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब, नेपाल पुलिस क्लब र एक एनआरएनए टिमका खेलाडीले प्रतिष्पर्धा गर्ने राखेपका सदस्य सचिव केशवकुमार बिष्टले जानकारी दिए। 
वैशाख ५ देखि ११ गतेसम्म चल्ने प्रतियोगिताको नेपालगञ्ज रङ्गशालामा उद्घघाटन र समापन हुनेछन्। प्रतियोगिताअन्तर्गत बाँकेमा पुरुष फुटबल, बक्सिङ, भलिबल, टेबलटेनिस, उसु, जुडो, ह्याण्डबल, कराँते, हक्की, सुटिङ, जिम्न्याष्टिक, साइकिलिङ, आर्चरी, फेन्सिङ, पौडी, ट्रायथलन र पुरुष क्रिकेटका खेल हुनेछन्। त्यस्तै, दाङमा महिला फुटबल, एथ्लेटिक्स, कराँते, ब्याटमिन्टन, बास्केटबल, आइटिएफ तेक्वान्दो र महिला क्रिकेटका खेल हुनेछन्। 
यस्तै, रुपन्देहीमा शारीरिक सुगठन, सफ्ट टेनिस, लङ टेनिस, तेक्वान्दोका खेल आयोजना गरिनेछ भने बर्दियामा कबड्डी, बुद्धिचाल, खोखो, सेपाकताक्रोका खेल हुनेछन्। ललितपुरमा स्क्वास, कास्कीमा प्याराग्लाइडिङ, कपिलवस्तुमा कुस्ती र काठमाडौँमा गल्फ प्रतियोगिता गरिने राखेपले जनाएको छ। प्रदेश नं ५ मा प्रतियोगिता आयोजना हुने भए पनि प्याराग्लाइडिङ र गल्फका लागि पूर्वाधार नभएकाले कास्की र काठमाडौँमा गर्न लागिएको हो।  
आठौँ खेलकूदको मिति नजिकिएपछि खुशी व्यक्त गर्दै सातौँ खेलकूद प्रतियोगितामा एथलेटिक्सतर्फ स्वर्ण पदक विजेता एम साजन सुनारले भने– “राष्ट्रिय प्रतियोगितामा प्रतिभा देखाउन पाउनु नै खेलाडीका लागि सबैभन्दा खुशीको कुरा हो। घाम, पानी, चिसोले खेलमा कुनै अर्थ राख्दैन ।” उनले प्रतियोगितामा सहभागी हुने अवसरले गर्मीलाई गौण बनाइदिएको बताए। 
बाँकेका अभिमान चौधरी पहिलो पटक राष्ट्रिय खेलकूद प्रतियोगितामा सहभागी जनाउँदै छन्। भारोत्तोलन खेलाडी चौधरीले गर्मीले प्रतियोगितालाई कुनै असर नगर्ने बताउँदै आफ्नो प्रतिभा देखाउने अवसर नजिकिएकामा खुशी व्यक्त गरे। “प्रतियोगितामा सहभागी हुन पाउनु नै गर्वको कुरा हो, गर्मी त आउँछ जान्छ, प्रतियोगितामा भाग लिने अवसर सधैँ आउने कुरा हुँदैन,” उनले भने। 
एथलेटिक्सकी खेलाडी विश्वरुपा बुढाले सातौँ राष्ट्रिय प्रतियोगितामा बाँकेबाट प्रतिष्पर्धा गर्दै एथलेटिक्समा स्वर्ण पदक जिते। “प्रतियोगितामा आफ्नो प्रतिभा देखाउन पाउनु नै खेलाडीका लागि सबैभन्दा ठूलो अवसर हो,” उनले भने– “आठौँमा पनि प्रतिभा देखाउन पाइने भयो, साह्रै खुशी लागेको छ।” उनले नेपालगञ्जमा गर्मी बढिरहे पनि यसले खेल खेल्न कुनै असर नगर्ने बताए। 
“खेलाडीका लागि प्रतियोगिता हुनु ठूलो कुरा हो, घाम, पानी, चिसो जस्तोसुकै मौसममा पनि हामी खेल्न सक्छौँ,” उनले भने। प्रतियोगिताको मिति तय भएपछि खेलाडीमा उत्साह जागेको एथलेटिक्सका प्रशिक्षक चन्द्रबहादुर गुरुङले बताए। उनका अनुसार खेलाडीहरु स्वतःस्फूर्त रुपमा अभ्यास गरिरहेका छन्। “प्रतियोगिताले नै खेलाडीको भविष्य निर्धारण गर्छ, प्रतियोगिता भएन भने खेलाडीको प्रतिभा मरेर जान्छ,” उनले भने। 
तोडिँदै इतिहास 
विगत ३३ वर्षयता राष्ट्रिय खेलकूदको कुनै पनि संस्करण नियमित समयमा आयोजना हुन सकेको छैन। विसं २०७५ सम्म आइपुग्दा १८ वटा संस्करण आयोजना भइसक्नुपर्ने भए पनि यस अवधिमा सातवटा संस्करण मात्र सम्भव भएका छन्। सातौं संस्करण आयोजना भएको दुई वर्षमै नेपालगञ्जमा हुने आठौँ संस्करणले ३३ वर्ष लामो इतिहास तोड्दैछ। विसं २०४२ मा सम्पन्न तेस्रो संस्करणपछि कहिले पनि राष्ट्रिय खेलकूद नियमित समयमा आयोजना हुन सकेको छैन। यसले सरकार र सम्बद्ध खेल अधिकारीका लागि पनि खेलकूद क्षेत्रप्रतिको आफ्नो प्रतिबद्धता दर्शाउने गतिलो अवसर दिएको छ । सरकार तथा आयोजक कुनै पनि हालतमा निर्धारित समयमै आठौँ राष्ट्रिय खेलकूद आयोजना गर्न प्रतिबद्ध देखिनुले लामो समयदेखि अनियमित बनेको राष्ट्रिय खेलकूदको ‘क्यालेन्डर’लाई सुधार्ने यो सबैभन्दा उपयुक्त अवसर रहेको प्रदेश ५ खेलकूद विकास समितिका अध्यक्ष भीम वलीले बताए। 
नेपालगञ्जलाई चुनौती
विसं २०७३ मा पूर्वाञ्चलमा आयोजना भएको सातौँ राष्ट्रिय खेलकूदको समापन समारोहमा आठौँ संस्करण नेपालगञ्जमा आयोजना गर्ने भनेर घोषणा गर्न आयोजकलाई ठूलै कसरत गर्नुपरेको थियो। वलीले भने– ‘“तथ्य कसैसँग लुकेको छैन । हामीले पोखरामा हुनुपर्ने आठौंलाई नेपालगञ्ज ल्याएका हौं जसका कारण पनि हामीलाई निर्धारित समयमा प्रतियोगिता सक्नुपर्ने ठूलो दबाब थियो। त्यो चुनौती पूरा हुँदैछ ।”
उनका अनुसार धरानमा सातौँको समापन समारोह शुरु भइसक्दासम्म पनि आठौँ आयोजनाको विषयलाई लिएर सम्बद्ध खेल अधिकारीबीच विवाद जारी थियो । अन्तिम समयमा आएर मात्र नेपालगञ्जले आठौँ आयोजनाको अधिकार पाएको थियो । त्यसो त तत्कालीन समयमा राष्ट्रिय खेलकूद पालैपालो पाँचवटै विकास क्षेत्रमा आयोजना गर्ने परम्परा थियो । सो अनुरूप  २०४० सालमा दोस्रो पोखरामा र २०५५ सालमा चौथो नेपालगञ्जमा आयोजना भएको थियो । 
उनले अबको चुनौती खेल सञ्चालन र खेलाडीको व्यवस्थापन मात्रै भएको बताउँदै त्यसमा पनि आफूहरु सफल हुने दावी गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?