पश्चिम दाङमा जातीय विभेद : दाह–संस्कारमा सहभागी दलित महिला लखेटिए
सारांश
- जनक नेपाली दाङ, १० जेठ ।
- दाह–संस्कारमा सहभागी भएका दलित महिला लखेटिएका छन् ।
- तुलसीपुर उपमहानगरपालिका ८ दूधेनाकी बसन्ती आचार्यले शव छोइने भन्दै स्थानीय दलित महिलालाई गालीगलौच गर्दै लखेटीकी हुन् ।
जनक नेपाली
दाङ, १० जेठ । दाह–संस्कारमा सहभागी भएका दलित महिला लखेटिएका छन् । तुलसीपुर उपमहानगरपालिका ८ दूधेनाकी बसन्ती आचार्यले शव छोइने भन्दै स्थानीय दलित महिलालाई गालीगलौच गर्दै लखेटीकी हुन् ।
अन्दाजी ४५ बर्षीया आचार्यले स्थानीय राधिका विक, पार्वती विक, हस्ता विक, बिष्णी टमाटा, प्रतिमा विक, हिरा सुनार र सीता सुनारलाई लखेटेको बताइएको छ । यही जेठ ६ गते स्थानीय मोहन भण्डारीका छोराको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएकोले उनीहरु दाह–संस्कारमा सहभागी हुन भन्दै भण्डारीको घरमा पुगेका थिए । “भण्डारीको घर पुगेकी बसन्तीले दलितले शव छोए मृतक स्वर्ग नपुग्ने भनेर गाली गर्दै धक्याउँदै आँगनबाट निकाल्नु भयो”, स्थानीय राधिका विकले भनिन् ।
“हामी केही बोलेनौ मृतकका परिवारलाई अप्ठेरो पर्ला भनेर चूपचाप बस्दा पनि हामीमाथि पशुको जस्तै व्यवहार भयो”, राधिकाले भनिन्, “उहाँले धकेल्दै पठाएपछि सबैजना घर आयौँ ।” बसन्ती आचार्यले मृतकको शव आफन्त र घरपरिवारले मात्र छुने परम्परा रहेकोले आफूले त्यो कुरा सामान्य रुपमा भनेको बताइन् । आफूले ती दिदीबहिनीहरुलाई दलित भनेर छुवाछूत नगरेको बताउँदै आफूबाट सामान्य गल्ती भएको स्वीकार गरिन् ।
बसन्ती पक्राउ
इलाका प्रहरी कार्यालय तुलसीपुरले विभेदमा संलग्न बसन्ती आचार्यलाई पक्राउ गरेको छ । प्रहरीले बसन्तीलाई पक्राउ गरी प्रारम्भिक अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले जानकारी दिए । “घटनाका बारेमा हामीले खबर पाए लगतै आचार्यलाई पक्राउ गरी अनुसन्धानका लागि राखेका छौ”, उनले भने । यसबारेमा छलफल भइरहेको र घटना सत्य भए कानुनबमोजिम प्रक्रिया अगाडि बढाउने जानकारी सापकोटाले दिए ।
कारवाही गर्न दलित अधिकारकर्मीको माग
विभेदको घटनामा संलग्न बसन्ती आचार्यलाई दलित अधिकारकर्मीहरुले कारवाही गर्न माग गरेका छन् । दलित अधिकारकर्मीको तुलसीपुरमा बसेको बैठकले कारवाहीको माग गरेको हो । दलित अधिकारकर्मी देवराज विश्वकर्मा, जोगेन्द्र विश्वकर्मा, निर्मल नेपाली, चूर्ण सुनार, जीएल नेपालीले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका छन् ।
भेदभाव गर्नेको सजाय
जातीय भोभाव तथा छुवाछूत कसुर साय ऐन २०६८ अनुसार कसुर गर्ने व्यक्तिलाई तीन महिनादेखि तीनवर्षसम्म कैद वा एक हजार रुपैयादेखि पच्चीस हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनसक्ने व्यवस्था छ ।
प्रतिक्रिया