प्रचारप्रसारको अभावमा नर्मदेश्वरधाम

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ११, २०७५
|
|
३४ पटक हेरिएको
Shares
प्रचारप्रसारको अभावमा नर्मदेश्वरधाम

सारांश

  • पोखरा, ११ साउन ।
  • पोखरा लेखनाथ महानगरपालिका २७, २९ र ३३ को त्रिवेणी मदौरुकुना मदौरुघाटस्थित नर्मदेश्वरधाम धार्मिक पर्यटकीय रुपमा विशिष्ट महत्व बोकेको स्थल भएपनि यो प्रचारप्रसारको पर्खाइमा रहेको छ ।
  •   प्राचीनकालदेखि ऋषिमुनिले तपस्या गरेको पवित्रस्थलका रुपमा शुक्ला गण्डकी र बगादी नदीको संगमस्थलमा अवस्थित नर्मदेश्वर महादेवको मन्दिरलाई साधकको अभिलाषा पूरा गर्ने तीर्थस्थल मानिन्छ ।

पोखरा, ११ साउन । पोखरा लेखनाथ महानगरपालिका २७, २९ र ३३ को त्रिवेणी मदौरुकुना मदौरुघाटस्थित नर्मदेश्वरधाम धार्मिक पर्यटकीय रुपमा विशिष्ट महत्व बोकेको स्थल भएपनि यो प्रचारप्रसारको पर्खाइमा रहेको छ ।  प्राचीनकालदेखि ऋषिमुनिले तपस्या गरेको पवित्रस्थलका रुपमा शुक्ला गण्डकी र बगादी नदीको संगमस्थलमा अवस्थित नर्मदेश्वर महादेवको मन्दिरलाई साधकको अभिलाषा पूरा गर्ने तीर्थस्थल मानिन्छ ।

नर्मदेश्वर मोक्षधाम संरक्षण समितिका अध्यक्ष झवीन्द्रराज आचार्यका अनुसार परापूर्व कालमा कुनै सिद्ध साधकले यसै धाममा तपस्या एवम् साधनाका क्रममा नर्मदा नदीबाट नर्मदेश्वर शिवलिङ्ग ल्याई स्थापना गर्नु भनी स्वतः स्फुरण भएपछि शिवलिङ्ग स्थापना गरिएको जनविश्वास छ ।
नर्मदा नदीबाट शिवलिङ्ग ल्याई स्थापना गरिएका कारण यो नर्मदेश्वर धामका रुपमा चिनिन्छ । यस साधनास्थलमा बर वृक्षको छहारीमा बसी साधना यज्ञादि कार्य हुने भएकाले नर्मदेश्वर भगवानलाई दायाँ पारी बर वृक्षको नजिक हुँदै बग्ने पवित्र नदीलाई ‘बरगाछी’ भनिएको र पछि अपभ्रंश भई बगादी भएको किंम्वदन्ती अझै जनजिब्रोमा प्रचलित छ ।

मन्दिरको ऐतिहासिकता र यहाँको धार्मिक महत्वलाई दृष्टिगत गरी समितिले रु सात करोडको लागतमा ११ फिटको शिवलिङ्गसहित तीन तल्ले मन्दिर निर्माण गर्न लागिएको अध्यक्ष आचार्यले बताए । मन्दिर निर्माणको प्रक्रिया शुरु भई २० प्रतिशत काम सकिएको छ । जमीनमुनि १५ फिट उचाइ, ३२ फिट लम्बाइ र १५ फिट चौडाइको गर्भगृहमा ११ फिट उचाइको नर्मदेश्वर शिवलिङ्ग स्थापना गरिने छ । निर्माणाधीन मन्दिरको नक्सा परिकल्पनाकार धामका पीठाधीश ई स्वामी अनुराग गिरी (मौनी बाबा) जी महाराज हुन् ।

निर्माणाधीन मन्दिरमा गुप्तमार्गबाट गर्भगृहभित्र गई पूजा गर्ने, तल्लो तल्लाबाट फूल र माथिल्लो तल्लाबाट जल चढाउने व्यवस्था मिलाइने उनले जानकारी दिए । माथिल्लो तल्लामा सम्पूर्ण देवी देवताको मूर्ति स्थापना गरिने तयारी छ । समितिले मन्दिरको निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ यही साउन २६ गतेबाट ३० गतेसम्म गौवर्ती योगी सोमराजजी महाराजबाट हरिकथा प्रवचनको कार्यक्रम गर्दैछ ।

समितिका सदस्य शंकरप्रसाद पौडेलले नर्मदेश्वरधामको दर्शन गरेमा पितृहरू तर्ने जनश्विास रहेको बताए । मन्दिरमा मेष संक्रान्ति, कर्कट संक्रान्ति, मकर संक्रान्ति, श्रावणी, शिवरात्रि, नवदुर्गा र रामनवमीलगायतका विशेष तिथि एवम् पर्वमा विशेष पूजाआजा हुने गरेको उनले बताए । देश विदेशका साधु सन्त ध्यान एवं दर्शनका लागि नर्मदेश्वर धाम आउछन् । समितिले मन्दिरमा देश विदेशबाट आउने साधु एवम् तीर्थयात्रीलाई लक्षित गरी दुई छाक खाना एवं आवासको व्यवस्थापन गरेको जानकारी दिँदै अध्यक्ष आचार्यले त्यसका लागि मुठ्ठीदानको आह्वान गरिएको जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?