फुजेलकी गंगामाया अधिकारी फेरि अनसनमा
सारांश
- काठमाडौँ, , माघ १६ ।
- छोराको हत्यारालाई कारबाही गर्नुपर्ने मागसहित १३ वर्षदेखि सत्याग्रहमा होमिएकी गोरखा फुजेलकी ६१ वर्षे गंगामाया अधिकारीले शहिद दिवसको अवसर पारेर मंगलबारदेखि फेरि आमरण अनसन सुरु गरेकी छन् ।
- लामो समयदेखि सरकारको निगरानीमा वीर अस्पतालमा राखिएकी उनले अस्पतालकै बेडबाट अन्नपानी छाडेको घोषणा गरिन् ।
काठमाडौँ, , माघ १६ । छोराको हत्यारालाई कारबाही गर्नुपर्ने मागसहित १३ वर्षदेखि सत्याग्रहमा होमिएकी गोरखा फुजेलकी ६१ वर्षे गंगामाया अधिकारीले शहिद दिवसको अवसर पारेर मंगलबारदेखि फेरि आमरण अनसन सुरु गरेकी छन् ।
लामो समयदेखि सरकारको निगरानीमा वीर अस्पतालमा राखिएकी उनले अस्पतालकै बेडबाट अन्नपानी छाडेको घोषणा गरिन् । ‘जबसम्म मलाई न्याय दिइँदैन तबसम्म म खान्न’ उनले भनिन्, ‘बरु मेरो प्राणै जाओस् तर माग पूरा नभएसम्म अनसन तोडदिन ।’
अघिल्ला सत्याग्रहमा उनका साथमा पति नन्दप्रसाद हमेसा हुने गर्थे । मुखमा अन्न पानी नपरेको तीन सय साठी दिनपछि वीर अस्पतालमै २०७१ असोज ६ गते उनको निधन भएको थियो । त्यस बेला गंगामायाको हालत पनि नाजुक थियो । बोल्न नसक्ने उनलाई मानव अधिकारकर्मी र चिकित्सकहरुले जबरजस्ती सुरुमा पानी, फलफूलको रस र झण्डै एक महिनापछि दुध तथा दालको झोल खुवाएर अनसन तोडाएका थिए ।
‘मलाई पनि उहाँसँगै मर्न दिएको भए हुन्थ्यो तर जबरजस्ती नै खुवाइयो’ गंगामाया भन्छिन्, ‘धेरैले मलाई न्याय पाइन्छ, धैर्य गर्नुस् भनेर सान्त्वना दिइरहे, तर अब मैले हार खाइसकेँ, न्याय पाइने छाँट देखिन, त्यसैले अब अन्तिम उपायको प्रयोग गर्दैछु ।’
गंगामायाको स्वास्थ्य केही दिनदेखि बिग्रँदै गएपछि चिकित्सकहरुले जाँचका लागि रगत लिने प्रयास गरिरहेका थिए । तर उनले आफू अब अनसन सुरु गर्ने निर्णयमा पुगेको भनेर रगत झिक्न नदिएको उनको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताए । उनलाई जिउ पोल्ने, छाती दुख्ने र दाहिने खुट्टाको एउटा पाटोमा स्पर्शको अनुभव कम हुने समस्या छ ।
अपहरणमा परी २०६१ जेठ २४ मा हत्या गरिएका आफ्ना १७ वर्षीय छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाही हुनुपर्ने माग गर्दै आमरण अनसनमा बसेका बेला बितेका नन्दप्रसादको लाश अझै पनि शिक्षण अस्पतालमा राखिएको छ । आफ्नो जेठो छोरा नुरप्रसाद अधिकारी पनि चार वर्षदेखि बेपत्ता भएकाले परिवारमै एक्लो हुनु परेको पीडाले गंगामायालाई बरोबर रुवाइरहन्छ ।
‘मेरो निकै सुन्दर र सानो परिवार थियो, आफ्नै घरजग्गा र खेतिवारी थियो’ छोराको हत्या अघि कहिल्यै काठमाडौं समेत नआएकी गोरखा फुजेलकी गंगामाया भन्छिन्, ‘तर अपराधीहरुले यो खुसी देख्न सकेनन्, छोरा मारियो, न्याय माग्दा बुढा मरे, भएको अर्को छोरो मरे/बाँचेको पत्तो छैन, म अब कसको मुख हेरेर बाँचौं ?’
धेरै लामो संघर्षपछि समातिएका अभियुक्तलाई पनि चितवन जिल्ला अदालतले निर्दोष भनेर छाडिदिएपछि त्यस आदेश विरुद्ध सर्वोच्च अदालतको ढोका ढकढक्याउन पुगेकी गंगामाया सँधै पेशी सारिरहने अदालती प्रक्रियाबाट थप विक्षिप्त भएकी छन् ।
‘जहिल्यै भोलि भोलि भनेर जहाँ पनि झुलाइरहन्छन्, अदालतले पनि झुलाइरह्यो’ गंगामाया भन्छिन्, ‘अब झुलाइरहुन्, मैले अनसन सुरु गरेँ ।’ गंगामायाको निवेदनमा सुनुवाइका लागि पछिल्लो पटक फागुन १३ गतेका लागि सर्वोच्चले पेशी तोकेको छ । कनकमणी दिक्षित, चरण प्रसाइँ, बाबुराम गिरीलगायत मानवअधिकारकर्मीहरुको ‘गंगामाया बचाऊ’ अभियानले उनलाई कम्तीमा फागुन १३ सम्म अनसन नबसिदिन आग्रह गरेका थिए । उनको स्वास्थ नाजुक अवस्थामा पुगिसकेको भन्दै अभियानका सदस्यहरुले अनसन बसेर थप क्षति हुन नदिन उनलाई मंगलबार अस्पतालै पुगेर सम्झाउँदा पनि गंगामायाले अनसन सुरु भएको जनाउँ दिंदै आँखा चिम्लिएकी थिइन् । (साभार : कान्तिपुर)
Manoj Lamichhane
एक्लो बृहस्पति झुटो?
Mohan Kayasta
God bless you keep alive